पहिलो चरणको नतिजाअघिसम्म कामै नलाग्ने भनेर चित्रण गरिएका नेता पछि कसरी सुयोग्य भए ? क्षणभरमै त्यस्तो चमत्कार के भयो ?
नेपाली कांग्रेसले आफ्नो चौधौँ महाधिवेशन सम्पन्न गरी नयाँ कार्यकालसमेत प्रारम्भ भइसकेको छ। यो महाधिवेशनबाट नेतृत्व परिवर्तनको ठूलो अपेक्षा गरिए पनि पुरानै नेतृत्व अर्थात् शेरबहादुर देउवा नै पुनः सभापतिमा निर्वाचित हुनुभएको छ।
यद्यपि, सबैजसो पदाधिकारीमा युवानेता निर्वाचित हुनुलाई भने निकै सुखद र उत्साहजनक घटनाको रूपमा लिइएको छ। यसले पार्टीको आन्तरिक संगठनात्मक जीवनमा नयाँ रक्तसञ्चार गरेको छ । केन्द्रीय समितिमा पनि युवाहरू उल्लेखनीय संख्यामा पुगेका छन्। यसबाट पार्टीको तारुण्यता वृद्धि भई कांग्रेसको युवाकरण भएको छ । यस पृष्ठभूमिमा महाधिवेशन समापनपछिका घटनाक्रमले केही पेचिला प्रश्न खडा गरेका छन्, जसको यथोचित उत्तर आवश्यक देखिन्छ। अन्यथा, कांग्रेसको पन्ध्रौँ महाधिवेशनसम्मको यात्रा सुखद नहुन सक्छ। त्यसैले, पार्टी सञ्चालनको जिम्मेवारी प्राप्त मूल नेतृत्व र खासगरी पदाधिकारीहरूले यसतर्फ वेलैमा गम्भीर समीक्षा गर्नु अत्यावश्यक देखिन्छ। ढिलो गरी पछुताउने हाम्रो बानी यसपटक सुधार्नु जरुरी छ।
महाधिवेशनमा प्रतिस्पर्धाका दौरान केही आश्चर्यजनक गतिविधि र घटनाबारे थोरै चर्चा गरौँ। हुन त, तेह्रौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको पार्टी सञ्चालन कार्यशैलीबारे प्रारम्भबाटै टीकाटिप्पणी सुरु भएको हो। नेतृत्व बदल्न भनेर मात्रै विरोध सुरु भएको भने थिएन। विधानले निर्दिष्ट गरेको सीमाभित्र रही संगठन सञ्चालन गर्नुपर्ने यथार्थलाई नजरअन्दाज गरी पार्टी अघि बढ्न थालेपछि नै आलोचनाको क्रम सुरु भएको हो। पार्टीको मुख्य नेताले विधानको व्यवस्थालाई उल्लंघन गर्न लाग्दा प्रतिस्पर्धी नेता वा समूहको तत्कालीन मौनताका कारण पार्टीमा विधिविहीनताले प्रश्रय पाउँदै गयो। एउटा समुन्नत र जीवन्त लोकतान्त्रिक पार्टीको आन्तरिक जीवन अस्तव्यस्त हुन पुग्यो। पार्टीको वैधानिक प्रबन्धलाई बेवास्ता गरी मनोगत एवं गुटगत रूपमा कांग्रेस चलाउन खोज्दा पार्टीमा भद्रगोल बढ्दै गयो। त्यो अन्ततः अराजकतामा बदलियो। त्यसले पार्टीका होनहार र निष्ठावान् साथीहरूमा निराशा छायो। तैपनि यी र यस्ता बेथितिको शृंखला रोकिएन, चल्दै गयो। यसको दुष्प्रभाव भ्रातृ एवं शुभेच्छुक संघसंस्थामा पर्ने नै भयो। यसको नकारात्मकता संगठनभित्र सर्वत्र फैलन पुग्यो, रोक्न कसैले आवश्यक ठानेन।