नेकपा (माओवादी केन्द्र)को विद्यार्थी विशेष जिल्ला समितिका अध्यक्ष हुन्, रञ्जित तामाङ। अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका उनी माओवादीमा सक्रिय र ऊर्जावान युवा नेताका रूपमा परिचित छन्।
विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका उनले पार्टीमा विद्यार्थीका मुद्दाहरू जाेडताेडका साथ उठाउँदै आएका छन्। माओवादीकाे हालै सम्पन्न आठाैँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी थिए। उक्त महाधिवेशनका सन्दर्भमा बिएल नेपाली सेवाकाे लागि कमल प्रभात विकले गरेकाे कुराकानी प्रस्तुत छ:
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन कस्तो रह्यो ?
सातौँ महाधिवेशनको धेरै लामो समयपछि यो महाधिवेशन भयो। त्यो महाधिवेशनमा राजनीतिक र वैचाकिरक रुपमा जुन वहस भयो, त्यो वहस र त्यसबेलाको बन्दसत्रमा प्रस्तुत भएका विचारहरु पार्टीको नीति र योजनाअनुसार कार्यन्वयन हुन सकेनन्। त्यस अनुरुपको योजना बन्न सकेन। कार्यक्रमहरुमा रुपान्तरण हुन सकेन। त्यो तुलनामा निक्कै लामो समयपछि पार्टी विभाजन, टुटफुट, एकता, दोस्रो संविधानसभाको निर्वाचन पछाडि हामीले यो महाधिवेशन गरेको हुनाले र पार्टीभित्र अनेकौँ प्रकारका समस्या पनि थिए। त्योबीचमा हामीले महाधिवेशन सम्पन्न गर्यौँ। यसमा सबैभन्दा मुख्य कुरा भनेको माओवादीको पोजिशन के छ र हामी कुन ठाउँमा उभिएका छौँ भन्ने कुरामा हामीले आफूलाई ऐनामा हेरेको जस्तो भयो। धेरै लामो समयपछि हामीले आफूलाई ऐनाको अगाडि उभ्याएर आफ्नो अर्कातिर के छ भनेर हेरेजस्तो भयो।
त्यसमा हामीले अलिकति समिक्षा पनि गर्यौँ। फोहोर लागेको रहेछ। हामी अलिअलि बिग्रेका रहेछौँ। आम जनताको अपेक्षा, चाहना अनुरुप नेतृत्व गर्न सकिरहेका रहेनछाैँ। हाम्रो संगठन भद्रगोल रहेछ। हामीले तयार गरेको नीति, योजना र कार्यक्रमलाई कार्यन्वयन गर्न सकेका छैनौँ। जनताको जीवनस्तरमा सुधार ल्याउने प्रकारले काम गरिरहेका छैनौँ भन्ने प्रकारको स्वीकारोक्ति हामीले यो महाधिवेशनमा गर्यौँ। हामीहरुले यो महाधिवेशनमा भन्यौँ कि हामी चाहिँ सहि ठाउँबाट लागिरहेका थिएनौँ। हामीले अलिअलि बाटो बिराइरहेका रहेछौँ। हामी प्रदूषित भइरहेका थियौँ तर आजको समकालिन राजनीतिमा हेर्दा हामी यस्तो स्थितिबाट गुज्रिँदा पनि अरु पार्टीहरुले यो देशको रुपान्तरण गर्ने जनताको चाहना र आवश्यकताको पूर्ति गर्ने अवस्था देखिएन। यो समकालिन राजनीतिमा पनि बिग्रेको भए हामीले सुधारिएर, आत्मा आलोचना गरेर आफ्ना कमीकमजाेरीबाट शिक्षा लिइएर फेरि एक पटक जनताको पक्षमा काम गर्नेछौँ भनेर गयौँ भने जनताको मन जित्न सक्छौँ। जनताको जीवनमा परिवर्तन आउने प्रकारका योजना बनाएर जाने हामीले साहस गर्यौँ भने फेरि जनतामा स्थापित हुन सक्छौँ भन्ने यो महाधिवेशनको मुल कुरा हो।
त्यो अनुसारको नीति, योजना तयार गरेर हामीले अघिल्लो महाधिवेशनमा नेतृत्व तयार गर्न सकेका थिएनौँ। यसपटक चाहिँ हामीले विभिन्न असहमतिका बावजुद अपेक्षा गरे जस्तो संगठन नभए पनि सम्मेलन सम्पन्न गर्ने बेलामा नेतृत्व छनोटमा विगतको जस्तो अनेकौँ प्रकारको निर्णय लिन नसक्ने अकर्मण्य वा अनिर्णयको बन्दी हुनुपर्ने स्थिति चाहिँ भएन।
महाधिवेशनमा कस्ता विषयमा बढी बहस भयो ?
दुई/तीन वटा कुरामा अलिबढी छलफल भयो। एउटा कुरा चाहिँ विचारकै कुरामा अल्मलियौँ। हामीले विद्रोहका, शान्तिका पनि कुरा गर्यौँ। संविधानलगायतका अरु कुरा पनि गर्यौँ। त्यसकारणले हामीले विचार तयार गर्ने कुरामा, राजनीतिक एजेण्डा तयार गर्ने कुरामा सिङ्गो पक्तिंलाई एकरुप ढङ्गले स्पष्ट गर्न सकेनौँ। वैचारिक हिसाबले पनि हामीले समाजवाद भन्यौँ, उत्पादन बढाउने, स्वारोजगार, आत्मनिर्वर, राष्ट्रिय पूँजीको विकास गर्ने भन्यौँ, त्यो हामीले गर्न सकेनौँ।
अर्को कुरा हामीले जसरी पार्टीलाई एकतबद्ध राख्नु पर्थ्याे, त्यसमा हाम्रो कहीँ न कहीँ समस्या भयो। पार्टीभित्र शहीद, बन्दी, घाइते, अपाङ्गलगायत पार्टीका कार्यकर्ताहरु सबैलाई जुन ढङ्गबाट हामीले पार्टीमा व्यवस्थापन गर्नुपर्थ्याे, त्यो हामीले सकेनौँ भन्ने हामीले समिक्षा गर्यौँ। संगठनात्मक हिसाबले पनि हामी अल्झियौँ। एउटा तदर्थवादमा फसेको जस्तो भयौँ। संगठनात्मक हिसाबले सबै कुरालाई व्यवास्थापन गर्न नसक्दा हामी एउटा समस्याबाट गुज्रियौँ भन्नेलगायतका कुराहरुमा छलफल भयो।
एमालेसँगको पार्टी एकताको समिक्षा कसरी गर्नुभयो ?
यसमा दस्तावेजमा प्रष्ट रुपमा के लेखिएको छ भने पार्टी एकता गलत थिएन। समाजवाद मान्ने कम्युनिष्ट पार्टीहरुको रुपमा रहेका तर हँसिया र हतौडा बोकेका पार्टीहरु समाजवादको पक्षमा र कम्युनिष्ट मूल्य-मान्यतामा छन् भने ती पार्टीहरुको बीचमा छुट्टाछुट्टै ब्राण्ड बनाइरहनुपर्ने, ट्रेड मार्ट झुण्डाइरहनु आवश्यक छैन। फरक–फरक नाम लिएर कम्युनिष्ट पार्टी हो र समाजवाद मान्छौँ भन्ने पार्टीहरुको बीचमा एकता गर्ने कुरा विल्कुल गलत होइन। हामीले टेष्ट गर्नु थियो कि एमालेले पनि जुन समाजवादको कुरा गरेको थियो, कम्युनिष्ट सिद्धान्त र दर्शनको कुरा उठाएको थियो। हामीले उसलाई हेर्नु थियो। जनतालाई हामीले देखाउनु थियो कि एमाले कम्युनिष्ट हो कि होइन, एमालेले समाजवाद मान्छ कि मान्दैन। त्यो अनुरुप नेतृत्व इमान्दार छ कि छैन भन्ने कुरा हामीले टेष्ट गर्नु थियो। आम मान्छेलाई भ्रम थियो एमाले कि माओवादी वास्तविक कम्युनिष्ट थियो भन्ने। यो एकताको कुराले के सिद्ध गरिदियो भने नेकपा एमाले भनेको एक प्रकारको खच्चडको संस्कार र संस्कृति भएको पार्टी हो। उससँग कम्युनिष्ट आधार र मूल्य-मान्यता पनि छैन, कांग्रेस जस्तो पनि छैन। त्यो खच्चड प्रकारको शैली, संस्कार, विचार र नेतृत्व छ भन्ने कुरा हामीले प्रमाणित गर्यौँ। अर्काे कुरा उहाँहरु समाजवादको विषयमा इमान्दानर हुनुहुन्न। समाजवाद देखाउने एजेण्डा हो, प्रचार गर्ने एजेण्डा हो भन्ने किन प्रमाणित भयो भने उहाँहरुले गरेको हामीले देख्यौँ नि त।
‘समृद्ध नेपाल, सुखी नेपाली’ खोई ? समाजवादको आधार तयार गर्न हामीले भनेका थियौँ ‘समृद्ध नेपाल, सुखी नेपाली’। देशको समृद्धि पनि गर्ने, विकास र सुशान ल्याउने, जनताको जीवनस्तर उकास्ने, संविधानहरुको मुलभूत कुरालाई कार्यन्वयन गर्ने हामीले भने थियौँ तर उहाँको पालामा हामीहरुले देख्यौँ। आर्थिक समृद्धि उहाँका वरिपरीका मानिसलाई बाहेक अरुलाई भएन। विकास उहाँको वरिपरीका मान्छेहरुलाई बाहेक आएन। ओम्नी, यतीलगायत काण्डै–काण्ड अगाडि आए भनेपछि उहाँहरु कसरी समाजवादी हुनुभयो ? सन्दर्भले के कुरा प्रमाणित गर्नुपर्यो भने साढे तीन वर्षको अवधिमा केपी ओलीले सरकारकाे नेतृत्व गरेको बेलामा उहाँहरु कम्युनिष्ट पनि होइन, उहाँहरु समाजवादी पनि होइन। दुबै कुरा होइन भनेपछि कि त माओवादी पनि होइन, एमाले पनि होइन भन्नु पर्यो। यदि त्योमध्ये केही हो भने त स्वभाविक रुपले बाहिर आउनु पर्यो। हाम्रो पार्टी विभाज हुनुको कारण पनि त्यही हो। हाम्रो सिद्धान्त पनि मिलेन, हामी विचारमा मिलेनौँ, कार्यन्वयनमा मिलेनौँ। भनाई र गराईमा मिलेनौँ। के आधारमा हामीले उहाँहरुलाई मान्ने त ? केही छैन भने यो बारेमा एकता गलत भयो भन्ने कुरा हामीले भनेनौँ एकता सहि थियो। तर, हामीले जुन सोचेर, जे आधारमा एकता गरेका थियौँ त्यस्तो चाहिँ त्यहाँ पाइएन। हामीले आम जनतामा भएको भ्रम क्लियर गरेर आयौँ।
महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन हुवहु पास भयो कि प्रतिनिधिका सुझाव पनि समेटियो ?
हामीले प्रतिवेदन जस्ताको त्यस्तै पास गरेका होइनौँ। प्रतिवेदको मुल मर्म चाहिँ सबैले स्वीकार गरेको हो। खासगरी समाजवादमा जाने, त्यसका आधारहरु तयार गर्ने, संविधानका अधिकारहरुलाई कार्यन्वय गर्ने, असहमतिका मुद्दाहरुलाई उठाउँदै जाने भन्ने कुरा भए। अध्यक्षले आयोजक समितिको तर्फबाट जे प्रस्तुत गर्नुहुन्छ वा पेस गर्नुभयो त्यो जस्ताको त्यस्तै पास गर्ने भनेर ल्याइएको होइन। प्रतिवेदनलाई सिङ्गो देशभरका कार्यकर्ताहरुले आ–आफ्नो दुष्टिकोणबाट व्याख्या, विश्लेषण र अध्ययन गर्दा के बुझिन्छ र त्यसमा के कुरा छोड्छ, के कुरा पूर्ण र अपूर्ण छ भन्ने कुराको निम्ति महाधिवेशनमा विभिन्न समूह बनाएर बहस गरिएको हो।
प्रतिवेदनलाई एउटा प्रस्तावको रुपमा ल्याइएको हो। हाम्रा २५ वटा टिममा जुन बहस भयो त्यसमा पार्टीका दस्तावेजमा छुटेका/अपूर्ण भएका र त्यहाँ थप्नुपर्ने विषयहरु सुझावको रुपमा ती समूहले राखेको छ। सबै आएका विषय, चाहे पूरक होस्, चाहे फरक होस्, चाहे थप्नुपर्छ, घटाउनुपर्छ भन्ने जति सबैलाई कुराहरु राखेर दस्तावेजलाई पूर्ण बनाइन्छ भनेर अध्यक्षले भन्नुभयो। त्यसो हुँदा दस्तावेजका तीन/चार वटा कुरामा हामीले अलि बढी छलफल गरेका छौँ। मुख्य त राजनीतिक र वैचारिक कुरामा बढी बहस भयो। समाजवादका कुराहरुमा अलिकति बढी कुरा गरेका छौँ।
विद्यार्थीका मुद्दाहरुमा कत्तिको बहस भए ?
विद्यार्थीका मुद्दमा जोडतोडका साथ छलफल भयो। हामीले शिक्षाका बारेमा कुरा गर्यौँ। शिक्षाको कारणले गर्दा आज समाज र कर्मचारीतन्त्रमा पनि भ्रष्टाचार बढेको छ। संविधानले शिक्षालाई मौलिक अधिकारका विषयमा उल्लेख गरेको छ। एकातर्फ निजीकरण उस्तै व्यापक रुपमा बढेको छ। शिक्षामा २० प्रतिशतभन्दा बढी लगानी गरेको छ। हामी सरकारमा हुँदा पनि त्योअनुसार शिक्षामा बजेट विनियोजन गर्न सकेनौँ, शिक्षाको सम्पूर्ण दायित्व लिन सकेका छैनौँ। शिक्षामा माफियाकरणलाई अन्त्य गर्न सकेका छैनौँ। गुणस्तरीय शिक्षा प्रदान गर्न सकेका छैनौँ। त्यसकारण शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ। हामी जति पनि सरकारमा रह्यौँ, शिक्षा मन्त्रालय छ। भोलिको दिनमा पनि माओवादीले सरकारको नेतृत्व गर्दा शिक्षाको सम्पूर्ण अधिकार राज्यले लिने गरी यो कुराको ग्यारेण्टी गरिनुपर्छ। शिक्षामा व्यापारिकरणको अन्त्य गर्ने वाचा यो महाधिवेशनमा गर्नुपर्छ।
नेतादेखि लिएर सबै कार्यकर्ताको नीजि शिक्षामा लगानी हुनुपर्छ भनेर हामीले भन्यौँ। अधिकांश बहस यहाँ पनि भयो। स्वास्थ्यको बारेमा पनि त्यही कुरा भयो। स्वास्थ्यको सम्पूर्ण अधिकार राज्यले लिनुपर्छ। प्रत्येक जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्ने गरी राज्यले स्वास्थ्य क्षेत्रमा राम्रो तयारी गर्नुपर्छ र सरकारले दायित्व लिनुपर्छ।
रोजगारको कुरामा पनि हामीले भन्यौँ। सबै नेताहरुले कुनै न कुनै व्यवसाय गर्नुपर्यो। उत्पादनमा भाग लिनुपर्यो, रोजगारको अवसर सिर्जना गर्नुपर्यो। विदेशमा गएका युवाहरुलाई सर्टिफिकेट धितो राखेर कर्जा प्रवाह गरी उत्पादनशिल क्षेत्रमा जोडिनुपर्यो। भ्रष्टाचारको सन्दर्भमा पनि आज सुशासनको कुरा उठेको छ, पार्टीभित्र र बाहिरको कुरा छ। राज्यका सबै अङ्गमा बढेको भ्रष्टाचारलाई व्यवस्थापन गर्नुपर्यो।
केन्द्रीय समिति बनाउँदा समानुपातिक र समावेशिताको कार्यान्वयन भयो कि भएन ? नयाँ अनुहार कत्तिको आए ?
हामीले महाधिवेशनकाे अन्तिम दिन ५० प्रतिशत समावेशी गराउने भनेर १५४ जनाको प्रनितिधित्व गर्ने भनेको हो। त्यसपछिको ५० प्रतिशत खुल्ला गर्ने भनेर भनेका थियौँ, त्यसमा पुरानै आयोजक समितिलाई संयोजित गरिएको हो। समावेशीमार्फत् केही साथीहरु आउनु भएको छ, नत्र पुरानै कमिटी जस्ताको त्यस्तै राख्ने र बाँकी ‘फूलफिल’ गर्न बाँकी संख्यालाई अथावा मनोनित गर्ने संख्यालाई आधार बनाएर पछि केन्द्रीय समितिमा मनोनित गरिएको छ भन्ने कुराले हाम्रो महाधिवेनको संगठनात्मक हिसाबले केन्द्रीय समित टुङ्गाएको हो। यसलाई के अर्थमा हेर्ने भन्ने कुरामा चाहिँ हामीले सर्वसम्मत बनाउन जोड दिएका हाैँ।
हामीले कमिटी निर्माण गर्दा के सोचेका थियौँ भने पार्टीलाई नयाँपन, अलिकति आशा, अलिकति ऊर्जा चाहिएको छ। सक्रियता र गतिशिलता पार्टीमा चाहिएको छ। त्यसका निम्ति पार्टीमा नयाँ अनुहार बढी चाहियो भनेको हो हामीले। त्यसमा हामी आउने भनेको मात्रै होइन तर केन्द्रीय समितिमा लामो समयदेखि भएका पुराना साथीहरु पार्टीको सल्लाहकारको रुपमा रहनुपर्यो, जो यसअघि स्थायी समितिमा थिएन त्यो स्थायी समितिमा आउनुपर्यो। स्थायी समितिमा पहिला भएका पदाधिकारीमा हुनुपर्यो अर्थात् पार्टीमा माथिदेखि तलसम्म नयाँपन चाहियो भनेको हो। हामीले त्यो सोचेका थियौँ किनभने त्यो पार्टीको आवश्यकता थियो। तर, हामीले यो हुँदाहुँदै पनि के भनेका थियौँ भने विचार तथा योजना, कार्यक्रम राम्रा बनाउँछौँ तर त्यो कार्यन्वयनको लागि त त्यही अनुसारको संगठन पनि चाहियो नि। हामीलाई त्यसैले यो संगठन निर्माण गर्ने कुरामा पुरानै कमिटी राखेर समावेशीमार्फत् केही ल्याउने भन्नेले मात्रै फेरि पनि यो क्रमभङ्ग र छलाङ्को कुरा गर्छाैँ, त्यस्तो भएको अलि छैन।
पार्टीमा गतिशिलता ल्याउनुपर्छ, त्यसको निम्ति संगठनात्मक हिसाबले महाधिवेशनमा कतिपय कुराहरु हल भएका छैनन्। ती कुराहरुलाई व्यवस्थापन गर्नुपर्छ। मैले पहिला पनि भनेको थिएँ– पुरानै कुरालाई जस्ताको त्यस्तै लागू गर्न यो महाधिवेशनले अपेक्षाकृत परिणाम दिन सक्दैन।महाधिवेशन पुरानै कमिटीलाई चोख्याउने खालको हुनुहुँदैन, त्यसले गति लिँदैन भनेको हो। त्यसैले हामी पर्याैँ/परेनौँ भन्ने अर्काे कुरा भयो हामी नपरेर पनि अताल्लिएका छैनौँ, निराश पनि छैनौँ। सबै राम्रो भयो भनेर उत्साहित पनि छैनौँ। पार्टी बनाउने कुरामा पार्टीले नमिलेका कुराहरु मिलाउनुपर्छ। हामीलाई पार्टीमा लैजानुपर्छ भनेको होइन, पार्टीको रहेका कुरामा नयाँपन चाहिएको छ। गतिशिल मान्छे चाहिको छ। आखिर उहाँहरु नै बसेर यो पार्टी गतिशिल हुने भए, परिणाम देखिने भए त आजसम्ममा देखिन्थ्यो।
तपाईं केन्द्रीय समितिमा किन अटाउनु भएन ?
म नअटेको कुराहरुमा केही छैन। हामीलाई पार्टीले नै विद्यार्थीबाट केन्द्रीय प्रतिनिधिको रुपमा भनेकाे थियो। विद्यार्थी संगठन छोडिसकेका हामी २७/२८ जना साथीहरु केन्द्रीय प्रतिनिधि थियाैँ। अध्यक्षले नै उहाँहरुलाई केन्द्रीय सदस्यमा ल्याउने हो, अहिले यही टुङ्ग्याउने कुरामा केही–केही मिलेन। हामीले राम्रोसँग तयारी गर्न सकेनौँ। महाधिवेशन सक्नु छ भनिसकेपछि, आजै चाहियो, अहिलै चाहियो भनेर केटाकेटी जस्तो मरिहत्य किन गर्ने भनेर एउटा हामी चुप लागेको हो।
अर्काे कुरा हामीले के चाहेका थियौँ भने यो महाधिवेशन विवादरहित होस्, सर्वसम्मत होस्। किनभने हामीले पार्टी बनाउनु छ, जनतालाई विश्वास दिलाउनु छ। केही गर्छाैँ भनेर जनतामा भरोसा छर्नुछ, यो पार्टीको भविष्यको निम्ति निर्विवाद बनाउनुपर्छ। पछाडि को-के हुने भन्ने पछि हिसाब किताब गरौँला। फेरि अर्काे महाधिवेशनमा सबैको मुल्याङ्कन गरौँला तर अहिले पार्टीलाई एकता चाहिएको छ, एकरुपता चाहिएको छ। पार्टी कार्यकर्तालाई जीवन चाहिएको छ। त्यसको निम्ति अहिले कुनै बखडा नगरौँ भन्ने हिसाबले अधिकांश साथीहरु जिम्मेवार भएर नेतृत्वमा को आयो, को आएन भन्ने कुरालाई गौण बनाएर पार्टी निर्माणको कामलाई बढी प्रथामिकता दियाैँ।
यो महाधिवेशनपछि पनि माओवादीमा युवापन आएन कि भन्ने केहीको भनाई छ नि। त्यसप्रति तपाईंको धारणा के छ ?
विचारको हिसाबले पार्टीमा युवापन आउँछ। विचार, नीति, योजना कार्यक्रममा नयाँपन आउँछ/आउनु पनि पर्छ। नेतृत्वको हिसाबले को आयो, को आएन भन्ने हिसाबले खिचतानी गर्ने पक्षमा हामी छैनौँ। नीति, योजना, कार्यक्रममा जुन युवापन ल्याएका छौँ नि त्यो भोलि परिणामा आउँछ कि आउँदैन भन्ने कुरालाई हेर्छाैं। झन अबको पाँच वर्षपछि माओवादीलाई युवामय पार्टी बनाउँछौँ।
अध्यक्षमा प्रचण्ड दाेहोरिनु तपाईं जस्ता युवाको चाहना अनुरुप छ ?
नेतृत्वको हिसाबले अहिले प्रचण्डको विकल्प नै थिएन। यो आन्दोलनको नेतृत्व भएको हिसाबले पनि र आजको समकालिन राजनीतिमा एउटा पार्टीको नेतृत्वको हिसाबले रहिरहेकोले सबै परिणामलाई हेर्दा पनि प्रचण्ड कमरेडको हामीले विकल्प देखेका थिएनौँ। पार्टी आन्दोलनमा प्रचण्ड कमरेडलाई उहाँकै नेतृत्वमा पार्टी ठूलो र सानो पनि भयो, अब एक पटक पार्टी आन्दोलनमा एउटा जागरण ल्याएर, जोश, जाँगर र उत्साह ल्याउन हामी चाहन्छौँ। तसर्थ, प्रचण्डको अहिले विकल्प थिएन। प्रचण्डलाई भोलिका दिनमा विदा गर्दा पनि देशको एउटा शक्तिशाली पार्टी बनाएर विदा लिनुभयो भन्ने प्रकारको माहोलमा उहाँलाई चाहिँ हामी ‘ह्याप्पी इण्डिङ’ गराउन चाहन्छौँ।
केही मानिसहरुले भनेको जस्तो प्रचण्ड परिवारवादमा फस्नु भएको हो ?
प्रचण्ड कमरेडको सिङ्गो परिवार नै भूमिगत भएर राजनीतिमा लागेको हो। त्यो परिवारका सबै विगतदेखि नै राजनीतिमा लागेको हुनाले र त्यो योगदानको आधारमा आज उहाँहरु विभिन्न जिम्मेवारीमा आउनु भएको छ। त्यो जिम्मेवारीमा अलिअलि तल/माथि भएको होला। तर, उहाँहरु अधिकार र हैसियत नै नराख्ने भन्ने कुरा हुँदैन। नेताहरुलाई टिप्पणी गर्दै जाँदा बाहिरी मान्छेले स्वाभाविक कुराहरुलाई अस्वाभाविक तरिकाले व्याख्या गरेको र अस्वभाविक कुरालाई स्वभाविक तरिकाले लिए जस्तो केही फरक व्याख्या गर्ने कुरामा म सहमत छैन। तर, प्रचण्डको परिवारमा भएका केही व्यक्तिहरु योगदानकै कारणले पनि पार्टी आन्दोलनमा हैसियत राख्ने भएको हुनाले उहाँलाई नातावाद, परिवारवादमा फस्नु भयो भनिरहनु त्यति उचित लाग्दैन।
महाधिवेशनको नारामा उल्लेख गरेअनुसार नयाँ क्रान्तिकारी विचार र पार्टीको निर्माण भयो ?
क्रान्तिकारी विचार त हामीले तयार गरेकै छौँ, हामी ढुक्क र गर्वका साथ भन्न चाहन्छौँ। हामीले समिक्षा गरेर पार्टी आन्दोलनलाई रुपान्तरण गर्छाैं, पार्टी आन्दोलनमा हामी रुपान्तरित हुन्छौँ भन्ने कुरा सामान्य होइन। पार्टीको जीवनमा फर्किएर अनेकौँ अस्तव्यस्त कुरालाई व्यवस्थापन गर्छौं भनेर हामी आएका छौँ। क्रान्तिकारी पार्टी निर्माण भन्ने कुराको प्रक्रियामा हामी जान्छौँ। केन्द्रीय समितिको बैठकले नीति, कार्यक्रम तयार गर्छ। त्यो अनुसारको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको रोडम्याप तयार गर्छ। जनताले विश्वास गर्छन् कि गर्दैनन् भन्ने हेर्नको लागि केही समय पर्खिनुपर्छ।
जुन हामीले विचार तयार गरेका छौँ, त्यसको हुवहु कार्यान्वयनमा जाने ‘मेकानिजम’ बनायौँ र तयारी गर्याैं भने क्रान्तिकारी पार्टी निर्माण हुन्छ। तर, शंकाको सुविधा पनि छ, माओवादी पार्टी यही हो, लामो समयदेखि हामीले यस्तै कुराहरु गर्दै आएका छौँ। आज हुन्छ कि, भोलि हुन्छ, पर्सि हुन्छ कि भन्ने आममान्छेले प्रत्येक दिन लिने परीक्षाहरुमा त हामी चुक्दैचुक्दै आएका छाैँ। तर, कतिपय कुराहरु नमिलेका होलान्। मिलाउन बाँकी होलान्, कपिय शंका गर्ने ठाउँ होलान् तर क्रान्तिकारी पार्टी निर्माण नगर्नुको विकल्प छैन। माओवादीले क्रान्तिकारी पार्टीको निर्माण नगरे पनि हुन्छ, त्यो माओवादीलाई छुट छ। तर, माओवादीले क्रान्तिकारी पार्टी निर्माणलाई ध्यान दिन सकेन भने अब माओवादीको अस्तित्व गम्भीर संकटमा छ। क्रान्तिकारी पार्टी निर्माणको सन्दर्भमा हरेक तहका नेताले जिम्मेवार भएर पार्टी निर्माणमा लागेन भने माओवादी पनि ‘डाइनाेसर’ जस्तै हुन सक्छ।
यो महाधिवेशनले माओवादीलाई पत्याउने कस्ता आधार खडा गर्यो ?
अब हामीसँग दुई वटा मात्रै विकल्प छन्, पार्टीलाई ‘डाइनामिक’ बनाउने या ‘डाइनोसर’ बनाउने। महाधिवेशनमा माओवादीलाई ‘डाइनोमिक’ बनाउने भन्ने हो। त्यसको निम्ति सबै पार्टी, तलदेखि माथिसम्मका नेताहरु, हामी सम्पूर्ण हिसाबले ‘डाइनामिक’ हिसाबले लाग्ने, खट्ने, जनताको पक्षमा र जनताको बीचमा जाने भनेको हो।
माओवादी ‘डाइनामिक’ भयो भन्ने आम मानिसले कसरी अनभूत गर्ने ?
महाधिवेशनपछिको केन्द्रीय समितिले नीति, योजना र कार्यक्रम तयार गर्दा हामी हाम्रो पार्टी सदस्यको घर पुग्छौँ कि पुग्दैनौँ, बेपत्ता परिवारको घर पुग्छौ कि पुग्दैनौँ, शहीद परिवारको घरमा पुग्छौँ कि पुग्दैनौँ, घाइते अपाङ्गकोमा पुग्छौ कि पुग्दैनौँ। उनीहरुका समस्यालाई पार्टीले जिम्मा लिन्छ कि लिँदैनौँ, समाधान गर्ने प्रत्यत्न गर्छ कि गर्दैन, उहाँहरुलाई पार्टीमा संगठित गर्छ कि गर्दैन। उहाँहरुसहित आम जनतामा गएर तपाईंका समस्या समाधान गर्छौं भनेर हामी लाग्छौँ। यो–यो गर्छौं, साथ दिनुहोस् भन्छौँ कि भन्दैनौँ भन्ने कुराले निर्भता गर्छ।
प्रतिवेदनमा समावेश गरेअनुसार प्रचण्डलगायतका सबै नेताले अब आफ्ना सन्तानलाई सरकारी विद्यालमा पढाउलान् भन्नेमा विश्वास लाग्छ ?
विश्वास लाग्ने, नलाग्ने भन्दा पनि जसले हाम्रो पार्टी नेतृत्व हो भनेर गर्व गरेको छ। सिङ्गो देशको अवस्था फेर्न लागी पर्नुभएको छ भनेर मान्छेले भनेका छन्, उहाँहरु त यसै रोलमोडल त हुनै पर्यो। त्यसको निम्ति सबैभन्दा पहिला त उहाँहरुबाट सुरु हुनुपर्यो। यसमा उहाँले नगर्नुहोला कि भन्ने कुरा गर्नुपर्ने जरुरी छैन। मलाई त लाग्छ त्यो हुन्छ, गर्नु पनि पर्छ।
सार्वजनिक विद्यायलमै ल्याएर पढानुपर्छ। त्यसको सुरुवात हाम्रो पार्टीका केन्द्रीय नेताहरुले गर्नुपर्छ र प्रतिबद्धता पनि जनाउनुपर्छ। नत्र कसरी जनतालाई विश्वास हुन्छ कि यो नेतृत्व सुध्रिएर आयो भन्ने कुरा।
तर, नहोला कि भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छन् नि ?
प्रशस्त छ। किनेभने अहिलेसम्म जे–जे बाहिर देखिरहेको छ, ती कुराहरुमा त्यति धेरै रुपान्तरण नदेखिएको हुनाले पनि शंका गर्ने ठाउँ छ।
महाधिवेशन अन्तर्गत पदाधिकारी चयनको विषय किन रोकियो ?
हाम्रो पार्टीमा केन्द्रीय समितिले पदाधिकारी चुन्ने व्यवस्था छ। केन्द्रीय समिति चुनिसकेको हुनाले अरु बाँकी प्रक्रियामा जाने काम बाँकी छ। प्रक्रियामा सकेसम्म सहमतिबाटै पदाधिकारी टुंग्याउने बुझाइका आधारमा प्रयास भइरहेको छ। बाहिर भनेको जस्तो विवाद वा अरु कारणले पदाधिकारी रोकिएको होइन।