नेपालमा लामो समयदेखि एमसीसीको विषयमा बहस, विवाद र चर्चा चल्दै आएको छ । समयक्रममा यस सम्बन्धी बहस र विवादमा प्रयोग हुने तर्कहरू बदलिन थालेका छन् ।
एमसीसीको विरोधमा सञ्चारमाध्यममा विभिन्न ढंगले विचार व्यक्त गर्ने ‘विद्वान’ले हरेक पटक नयाँ नयाँ कुराहरू बुझ्दै गएको देखिन्छ । कतिपय विषय विज्ञहरूले हरेक नयाँ कुराकानीमा आफैंले पहिला व्यक्त गरेका विचार र तर्कहरूको खण्डन गर्ने गरेको पनि पाइन्छ ।
आफैंले भन्ने गरेका कैयौं भ्रमपूर्ण कुरा सच्याउन थाल्नु सुखद हो । जस्तै, शुरुमा नेपालले लेखा परीक्षण गर्न पाउँदैन भनेर हल्ला पिटाउने काम भयो । अहिले उनीहरू नै एमसीए नेपालको बेरुजु आयो भनेर महालेखा परीक्षकको प्रतिवेदन समातेर बुर्कुसी मारिरहेका छन् । तर जब कसैले प्रश्न गरिदियो- ‘हैन, यहाँहरूले त नेपालले लेखा परीक्षण नै गर्न पाउँदैन भन्नुहुन्थ्यो नि ?’ यस्ता प्रश्नले उनीहरू पानी पानी भएर टिमुर्किइरहेका छन् ।
शुरुमा सम्झौता पढ्न नजानेर सेना आउने कुरा सम्झौतामा नै छ भनेर कुर्लिनेहरूले सम्झौता पढ्न सिकेपछि चाहिं कुरो बुझे पनि पनि स्वीकार्न सकिरहेका छैनन् । ध्यान अन्तै मोड्न चाहिरहेका छन् । ‘मैले पहिला निषेध गरिएका विषयहरूको सूची पढेको रहेछु धत्तेरी !’ भनेर बुद्धको चेत खुलाउन सकिरहेका छैनन् । नेपाली तथाकथित बौद्धिकहरूबाट यसरी आत्मालोचनाको अपेक्षा गरिहाल्ने बेला नभएर हो कि ?