सहरमा लाइन बस्न थपियो एउटा अर्को कारण

'जनतालाई यति साह्रो दु:ख दिने सरकारको के पारा हो!'

सेतोपाटी

युनिक श्रेष्ठ

काठमाडौंको शंखरापुर नगरपालिका-४ का २४ वर्षीय प्रदीप शिवभक्ति जिल्ला प्रशासन कार्यालय धाएको चार दिन भयो। उनी शंखरापुरमै डेरी अपरेटरको काम गर्छन्।

काठमाडौं प्रशासन कार्यालय धाउनकै लागि उनी चार दिनदेखि अफिस गएका छैनन्। बुधबार त उनको जन्मदिन पनि रहेछ। तर उनी बिहानैदेखि लाइनमा थिए।

प्रदीप रोमानिया जाने योजनामा छन्। त्यसका लागि अहिले इलेक्ट्रोनिक (विद्युतीय) पासपोर्ट बनाउनुपर्छ र इलेक्ट्रोनिक पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य भनिएको छ।

'रोमानिया जान भनेर चार दिन भयो अफिस बिदा लिएर आएको। काममा गाली गर्न थालिसके। धेरै बिदा बस्ने भए निस्किएर जाऊ भनिसके,' उनले सेतोपाटीसँग भने, 'हिजो किन काम नगरेको भनेर सोधेका थिए। मैले यस्तो-यस्तो काम पर्‍यो भनेर भनेँ, अर्को मान्छे राख्छु रे।'

बुधबार पनि उनको काम बन्छ कि बन्दैन ठेगान छैन। लाइन बस्दाबस्दै प्रशासन कार्यालयका कर्मचारीले अब ४० जनाभन्दा बढी नबस्न भन्दै आएको उनले सुनाए।

प्रकाशित मिति: : 2022-01-06 13:30:00

प्रतिकृया दिनुहोस्