‘जीवन के हो ? मैले भनेको परिभाषाले पुग्दैन होला। तर सामान्यतः म जीवन एउटा सिकाइ हो, भन्छु। समय, परिस्थितिले जे-जे सिकाउँदै जान्छ त्यही सिक्दै, भोग्दै जानुपर्ने रहेछ,’ मंगला राना भन्छिन्।
मंगलाले भने जस्तै उनले जीवनलाई समय, परिस्थिति अनुसार नै चलाउँदै गएकी छन्। दाङ घोराही- १५ मा बस्ने मंगलाको घर देउखुरीस्थित गढवा गाउँपालिकामा पर्छ। कामको सिलसिलामा घोराहीमा बस्न थालेकाे एक दशक बढी भइसकेको छ, उनको।
मंगलाको घोराहीमा एक छोरा र श्रीमानसहित ३ जनाको परिवार छ। घरमा अन्य परिवार पनि छन्। सामान्यतः बजारमा बस्ने भनेपछि श्रीमान कमाउने, श्रीमती छोराछोरीको स्याहारसुसार गर्ने भन्ने बुझिन्छ। तर, मंगलाको त्यस्तो छैन।
उनका श्रीमान मानबहादुर सिंह शिक्षण पेशामा छन्। बिहानदेखि साँझसम्म श्रीमानको फुर्सद हुँदैन। श्रीमानलाई जस्तै मंगलालाई पनि फुर्सदमा बस्ने समय छैन। मार्गदर्शन ‘गर्लस होस्टेल’ सञ्चालन गरेकी मंगलाले सम्पूर्ण जिम्मेवारी सम्हाल्ने गर्छिन्।
होस्टेलमा साँझ बिहान आवश्यक दैनिक सामाग्रीदेखि आय–व्ययको जिम्मेवारी सबै उनले नै व्यवसस्थापन गर्ने गर्छिन्। एक जनालाई रोजगारी समेत दिएकी मंगलाले कामलाई सानो ठूलो भन्न नहुने तर्क गर्छिन्।
‘काम सानो ठूलो हुँदैन, जे गरे पनि काम हो,’ उनले भनिन्। कामविना आफू बस्न नसक्ने उनले बताइन्। आफू कुनै रोजगारमा नजोडिए पनि घरमा आर्थिक समस्या नहुने बताउँदै उनले कामविना आफू बस्न नसक्ने विएल नेपाली सेवासँगको कुरामा सुनाइन्।
जीवनमा काम नगरी बस्नु हुँदैन भन्ने सोच पहिलेदेखि नै आफूमा रहेको मंगलाको भनाई छ। त्यसैको स्वरुप अहिले ‘गर्लस होस्टेल’ सञ्चालन गरेर सेवासहित आर्थिकपार्जनको काम गरिरहेको उनले बताइन्। घोराही १५ मा उनले मार्गदर्शन ‘गर्लस होस्टेल’ सञ्चालन गरेको ७ वर्ष भइसकेको छ।
मंगलाको मेडिकल
मंगला एउटा कुशल होस्टेल सञ्चालिका त हुन नै तर पढेको, सिकेको डाक्टरी पेशा पनि हो, उनको। सि.एम.ए र ल्याब टेक्निसियन पढेकी मंगलाले होस्टेल सञ्चाल गर्दै गर्दा मेडिकल सञ्चालन गर्ने आँट पनि गरिन्।
घोराहीमै मेडिकल सञ्चालन गरेकी उनले त्यसमा भने सफलता हात पार्न सकिनन्। सफलता हात पार्न नसके पनि हार भने उनले मानिन्। श्रीमान शिक्षण पेशामा, आफू होस्टेल सञ्चालनदेखि मेडिकल सञ्चालन गर्दा समयको अभावमा मेडिकलमा सफलता मिल्न नसकेको उनको भनाई छ।
मेडिकल सञ्चालन गर्दा लगानी राम्रै गरेको बताउँदै उनले भनिन्,‘लगानी राम्रै थियो मेडिकलमा तर न सरले न मैले, कसैले पनि समय दिन सकिएन। कर्मचारीको भरमा मात्र त्यो मेडिकल सञ्चालन हुन सकेन।’
साथै उनले मेडिकल पढेको भएपनि अनुभव नहुँदा केही समस्या भएको बताइन्। ‘होस्टेल सञ्चालनमा राम्रै अनुभव भयो। अब के गरे के हुन्छ भन्ने जानकारी छ,’ मंगलाले भनिन्,‘तर मेडिकल क्षेत्र मेरो भए पनि अनुभव भएन। त्यसैले पनि त्यसमा राम्रो हुन सकेन।’
‘महिलाले गर्ने राम्रै काम भए पनि हेपाई छ’
नेपाल पितृ सत्तात्मक देश भनेर चिनिन्छ। जहाँ पुरुषको अधिनमा महिला हुनुपर्छ भन्ने मान्यता थियो, पहिले। अहिले यो सोच परिवर्तन भएको छ। महिला र पुरुष दुबै बराबरी हुन्, भनिन्छ। महिलालाई पछाडि पारियो भनेर हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागीता अनिवार्य भनेर संविधानमै व्यवस्था भएको छ।
तर, अझै पनि महिला केही होइनन्। केही गर्न सक्दैनन् भन्ने कतिपयमा धारणा रहेकाे पाइन्छ। यस्तै धारणाको सिकार आफू हुनु परेको मंगलाले बताइन्। उनले भनिन्,‘पुरुषले गरेको जे पनि राम्रो छ। तर, महिलाले गरेको कामलाई के नै गरेको छ र ? भन्ने हेपाई अहिले पनि छ।’
उनले अगाडि भनिन्,‘यसको सिकार म पनि भएँ, कति भनियो–भनियो, अझै पनि भनिन्छ। तर, भन्नेले जे भने पनि आफ्नो काम इमान्दारिताका साथ गर्न छाड्नु हुँदैन। एक दिन सफलता मिल्छ।’ उनले महिलाले चाहे जे पनि गर्न सक्ने तर्क गरिन्।
साथै मंगलाले काम नगरी नबस्न अरुलाई पनि आग्रह गर्छिन्। जे भए पनि काम गर्न आग्रह गर्दै महिला दिदी–बहिनी अझै स्वरोजगार हुन आवश्यक रहेको उनको भनाई छ। हामी सक्षम छौँ भन्ने मात्र नभएर गरेर देखाउन पनि उनले आग्रह गरिन्।