मंसिर सकिए लगत्तै बिहेका साइत पनि सकिए। कर्णालीमा संस्कृतिको हिन्दूकरण भएसँगै पुस महिनालाई रित्तो नामाकरण गरियो। त्यसपछि पुस महिनामा बिहेका लगन हुँदैनन्। पछिल्लो समय क्रिष्चियन धर्मको प्रभाव बढेसँगै क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्ष जस्ता ठूला पर्व पुसमै पर्ने भएकाले यहि अवसरका बिहेवारी समेत हुन थालेका छन्। तर, त्यो संख्या उल्लेख्य छैन।
हिन्दू संस्कृतिले अतिकरण गरेको कर्णालीमा बिहे बाहेक अन्य ठूला सांस्कृतिक पर्वहरु पुस महिनामा पर्छन्। जसले कर्णालीको सग्लो इतिहास बुझ्न सहयोग गरेका छन्। पुसे औंसीदेखि लगातार चार दिन मनाइने भैलोले कर्णालीको इतिहास र त्यसले विस्तार गरेको सिमाना र नेपाल देशसँग भएको संस्किृतिको आदनप्रदान समेतलाई दर्शाउने गरेको छ।
चौधबीस, सिंजा, पानसय दरा र जुम्ला खाल्डोमा खेलिने ठूली भैलीले कर्णालीको इतिहास र वैभवलाई देखाएका छन्। जस्तै,
काँ र जन्म्यो भैलो? मानसरोर कविला – भैलो।
ऐरदेखि भैलो ताक्लाखार आयो – भैलो।
ताक्लाखारा भैलाले क्यौ क्यौ खान्की पायो – भैलो।
ताक्लाखारा भैलाले सुनै खान्की पायो – भैलो।
यसरी क्रमश: खोचर, हुम्ला, मुगु, सिंजा, जुम्ला, दैलेख, सुर्खेत, दाङ हुँदै नेपाल (त्यसबेलाको नेपाल भनेको काठमाडौं) सम्म पुगेको देख्न सकिन्छ। हरेक ठाउँमा फलानो खान्की पायो भन्नुले ती ठाउँका विशेष उत्पादन देखाएको हो। एकातिर मनोरञ्जन गर्दै ती ठाउँका मुख्य उत्पादनको प्रचार गरिन्छ भने अर्कोतिर आफ्नो राज्यको किल्लादेखि टाढासम्म संस्कृतिको प्रचार गर्ने काम पनि सँगै गरिएको हुन्छ।
भैलो खेलेर ल्याएका अन्न, पैसा राख्ने घरलाई विशेष घर मानिन्छ। हरेक दिन भैलो भट्याउन जानुभन्दा पहिला त्यही घरमा खेलेर टाढाटाढाका गाउँमा भैलो खेल्न जाने गरिन्छ भने साँझ खेलेर आएको बेला पुनः त्यही घरमै खेलेर दिन सकाउने गरिन्छ।
यसरी प्रचारमा आएका संस्कृति बाहेक अन्य थुप्रै संस्कृतिको उजागर हुन्छ। यदि हामीले पुस महिनाका परम्परागत कामकाज हेर्यौं भने।
पुस माघमा चिसो अत्यधिक हुने हुनाले धेरै कामधन्दा हुँदैनन्। केही जुम्लीहरु व्यापार तथा कामको सिलसिलामा तराई तथा इन्डीया जान्छन्। भेडा पालक किसानहरु मधेश झर्छन् भने बालबालिका, किसोर, किसोरी, महिला तथा वृद्धवृद्धाहरु घरमै बसीरहेका हुन्छन्।
यसरी घरमा बसेको बेला बाजे बजैले कथा सुनाउने, नाती नातिनीले सुन्ने गरेका बुढापाकाहरुका अनुभव छन्। आज पनि अस्तित्वमा रहेका लछालकृति, पैकेलका कथा, लामा–विष्णुका कथा, बाबा चन्दननाथका कथा, सुनकेसराका कथाहरु तीनैका उपज हुन्। जसले कर्णालीको लोक साहित्यको भण्डारलाई खाँद्न सहयोग गरेको छ।
किशाेर–किशाेरीहरु राति गोठमा खेल्न जाने, माया पिरती लगाउने गरेका कथाहरु अनगिन्ति छन्। त्यसैका अवशेष हुन आज पनि अस्तित्वमा रहेको लोक साहित्य। त्यसैको एउटा अंश हो, तलको गीत।
झमक्क तरकारी होइजा, चम्डेइलो भात होइजा।
तिम्रो मेरो भेट होइजा, पुसको रात होइजा।।
पुसका जस्ता लामा रात कहिल्यै हुँदैनन्। आफ्नो प्रेमी वा प्रमिकासँग भेट हुँदाको बखत समय जतिसुकै लामो भएपनि छोटो लाग्छ। त्यसैले भेट हुने समय पुसको रात होस भनि आशा गर्ने गरिन्छ।
पुस महिनामै दिउँसो पाको घाम लागेको बेला घरमा बसेका महिलाहरु तेल बनाउने काममा व्यस्त हुन्छन्। जुम्लामा तेल बनाउने कामका लागि जंगली ओखर (हाडे ओखर), ढँटेलो, गल्ने आरु, भाँगो प्रयोग हुन्छ भने तोरी, तिलखुडो (सिलम) लगायत घरेलु उत्पादनको प्रयोग हुन्छ। तेल पेल्नलाई काठको दुनो बनाइएको हुन्छ। दुनो सल्लाको झरीलो (दियालो) काठ सबैभन्दा राम्रो मानिन्छ भने तेल पेल्नका लागि बलिया महिलाहरुको बल प्रयोग हुन्छ।
तोलको लागि कच्चा पदार्थ मानिएका ओखर, ढँटेलो, गल्ने आरु लगायतको पोला वा बियाँलाई सुरुमा ओखलमा मसिनो गरी पिसिन्छ, त्यसलाई दुनोमा हालेर बेस्मारी बल लगायो भने तेल निस्कन्छ।
कच्चा पदार्थमा जति धेरै बल लगाएर मिच्न सक्यो त्यति धेरै तेल निकाल्न सकिन्छ। त्यसैले नै पिना मिच्याजस्तो भन्ने बिम्ब बोलीचालीमा प्रयोग गरिन्छ। बलिया महिलाको गाउँभरी नाम चलेको हुन्छ भने हरेकको घरमा तेल पेल्ने बेला उनीहरुलाई बोलाउने गरिन्छ। यसरी वल्लो घर, पल्लो घर गर्दै छोटा दिन जान्छन्।
आज–भोली जतातातै मिलको विकास भएको हुनाले तेलहनको संस्कृति विस्तारै हराउँदै गएको छ।
पुसमा अत्यधिक चिसो हुन्छ। त्यसैले ‘पुसको जाडो हाइहाइ’ भन्ने भनाइ नै छ। चिसो पुसलाई अझ चिसो बनाउने हिउँ आइदिनु किसानका लागि सबैभन्दा सुखद क्षण हो। विशेष गरी हिउँदे बालीहरु जौं, गाहुँको लागि त हिउँको पानी रगत बराबर मानिन्छ। जसले प्राण धान्नमा ठूलो भूमिका निभाउँछ। त्यसैले पुस १५ भन्दा अगाडि नै हिउँ परेहुन्थ्याे भन्ने किसानको चाहना हुन्छ। हिउँ पराेस् भनेर कामना गरिन्छ। त्यसको एउटा मिथ पनि छ।
पुस १२ गतेका दिन बेलकुनी माइत जाने गर्छिन्। उनी चार दिनसम्म माइत बस्छिन्। तीनले पुस १६ गते माइतबाट फर्किँदा हिउँ नासो ल्याएर आउँछिन्। पुस १२ देखि १६ गतेको बीचमा हिउँ आएको खण्डमा बेलकुनीले थप जस पाउँछिन् भने, हिउँ नआएको खण्डमा त्यो वर्ष अनिकाल लाग्न सक्ने अनुमान गरिन्छ।
बेलकुनीलाई खुसी बनाउन पुस १२ र १६ गतेका दिन घरको चुलो खाली नगर्ने गरिन्छ। त्यो दिन घरमा मकै, सीमीको कोल लगाएर बेलुका घर–परिवार सबैले खाने गरिन्छ। यसरी रित्तो भनिएको पुसमा मानव जीवनका महत्वपूर्ण कामहरु भइरहेका हुन्छन्। जसले मानव चोलालाई भरिपूर्ण बनाउन ठूलो भूमिका खेलेको छ।
पुस सकिँदै गर्दा माघे संक्रान्ति आउनै आँटेको हुन्छ। जसको स्वागतको लागि पुसमै भरपुर तयारी गरिन्छ। पाकेको फर्सी वर्षादेखि जोहो गरी राखिएको हुन्छ। जंगली भट्ट्यौंला, भदुरी, किर्किला कोर्न काम एक/दुई दिन अगाडि नै हुन्छ। त्यसबाट बन्ने खुँड्या एक विशेष परिकार हो। संक्रान्तिको लागि सेल पुरी हाल्ने काम पनि पुसको अन्तिम रातमा नै हुन्छ। त्यसैले भन्ने गरिन्छ, ‘माघ हालेका टाट्या(पुरी) पुस खाने’।
पछिल्लो समय धेरै जसो संस्कृति लोपउन्मुख अवस्थामा पुगे पनि नयाँ संस्कृति थपिएका छन्। जुम्लामा धेरैजसो घरमा स्याउ र ओखरका बँगौचा छन्। तर, सबैतिर सिंचाइको सुविधा नभएको हुँदा पुस महिनाको हिउँ स्याउ, ओखरका बुटाको लागि अमृत समान हुन्छ। हिउँद परेको हिउँ संकलन गरेर हिउँ पोखरी निर्माण गर्ने र खडेरीको बेला त्यसै पोखरीको पानी प्रयोग गर्ने गरिन्छ।
नयाँ स्याउ, ओखरका विरुवा रोप्नलाई खाल्डो खन्ने, त्यसमा मल राख्ने लगायत काम गरिन्छ भने पुराना विरुवाको काटछाँट गर्ने, बोडोपेष्ट (निलोतुथो र चुना मिसेर स्याउका विरुवमा लगाउने) लगाउने लगायत काम पनि पुस महिनामै हुने हुनाले पुस आज रित्तो छैन। उसो त पुस हिजो पनि रित्तो थिएन। पुसमा बिहे नभए के भयो त माया लाउनलाई सबैभन्दा उपयुक्त मौसम पनि आखिर यही थियो र हो केरे!