राष्ट्रियसभा निर्वाचनः  यस्तो छ लुम्बिनीबाट उम्मेदवार बनेकाहरुको प्रतिबद्धता

माग १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको उम्मेदवारी परेको छ। ३ जना राष्ट्रियसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको हो।

जसमा गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने एमाले एक्लैले उम्मेदवारी दिएको छ। गठबन्धनबाट काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (एकिकृत समाजवादी)का एक एक जनाले उम्मेदवारी दिएका छन्।

यस्तै एमालेका तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती उपाध्याय र गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्तापछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपा एसबाट उम्मेदवार बनेकी पाल्पाकी राज्यलक्ष्मी गैरेले आफूले जित महिलाका हकहितका लागि आफ्नो आवाज सधै उठ्ने बताइन।

‘म एउटी महिला। त्यसमा पनि समावेसी क्षेत्रबाट आएको,’ उनले भनिन्, ‘जब महिलाहरुले अंशको कुरा, बंशको कुरा आन्दोलनबाट प्राप्त गरेपनि कार्यन्वयन भएको छैन त्यो कार्यन्वयन गर्न मेरो उम्मेदवारी हो। महिला अधिकार रक्षाका लागि। महिलाको सुरक्षाका निम्ति, महिलाहरुले उठाएका एजेण्डाहरु हासिल गर्नका लागि मेरो उम्मेदवारी हो।’

उनले यस सवालमा आफूले मात्र नभएर गठबन्धनको नै साथ रहने बताइन्। साथै गैरेले गठबन्धन सरकार समाजवादको यात्रामा रहेको जिकिर गरिन्।

उनले भनिन्, ‘हाम्रो समावेसी एजेण्डा छन्। यसले पछाडि परेका क्षेत्र, भूगोल, जाती जहिलेसम्म उनीहरुको मुक्ति हुँदैन। जबसम्म हामी समाजवादको लक्षमा पुग्दैनौँ, त्यहि समयसम्म निरन्तर संघर्ष गर्ने छौँ।’

यस्तै काँग्रेसका युवराज शर्माले आफूले जित पहिलो संवैधानिक दायित्व निर्वाह गर्ने  काम गर्ने र त्यसपछि पदको जवाफदेहिता, पारदर्शिता कायम गर्ने बताए। ‘जनतामा त म व्यक्तिले पनि सेवा गरिरहेको छु। राष्ट्रियसभामा मेरो संवैधानिक दायित्व निर्वाह गर्ने हुनेछ। त्यहाँ पुगेपछि मलाई थप जवाफदेही बनाउने छ।’ उनले भने।

जनमोर्चाका तुलबहादुर विश्वकर्माले देशमा जल्दाबल्दा समस्याहरुको उठान गर्ने काम गर्ने बताए। ‘जनजिविकाका सवाल छन्। धर्मनिर्पेक्षता र संघीयताका विषयमा पार्टीले उठाएका सवालहरु छन्,’ उनले भने, ‘त्यसलाई राष्ट्रियसभामा उठाउने छु। जनताका तत्कालका जल्दाबल्दा समस्याहरुलाई उठाउने छु।’

एमालेबाट उम्मेद्वार बनेका कृष्ण सुनारले आफूले जिते राष्ट्रियता र स्वाधिनका लागि आवाज उठाउने बताए। ‘मैले जिते मेरो काम राष्ट्रियता, स्वाधिनताप्रति हुन्छ। विकास निर्माणका कुरा छन्। त्यसका लागि पनि हुन्छ। उनले भने, ‘छुट्टै व्यक्तिगत स्वार्थ त न हिजो थियो। न आज छ न भोलि हुनेछ।’

उनले लुम्बिनीमा एमाले पार्टी बहुमतमा रहेको भन्दै आफूहरुले जित्ने पनि दाबी गरे। साथै राष्ट्रका लागि जनताले एमालेलाई चाहेको भन्दै जनप्रतिनिधिले पनि एमालेका उम्मेदवारलाई भोट गरेर जिताउने उनको भनाई छ। उनले गठबन्धन कति दिन टिक्ला र भन्दै टिप्पनी पनि गरे।

प्रकाशित मिति: : 2022-01-04 18:10:00

प्रतिकृया दिनुहोस्