तेह्रौं शताब्दीमा इटालीयन कवि फ्रान्सेसको पेट्रार्काले फ्रान्सको वेन्टोक्स हिमालको यात्रा गरेपछि हिंड्ने संस्कृति सुरु भएको मानिने रहेछ। तर यो भन्दा पहिले नै भारतवर्षमा हाम्रा पुर्खाहरु नहिंडेका होइनन्।
अफ्रीकाबाट मान्छेहरु संसारभर छरिनेक्रममा कति हिंडे होलान्? मान्छेहरु आफ्नो ज्यान जोगाउन अनि अरुको ज्यान लिन (आहाराको खोजी) कति हिंडे होलान्? केशव दाहालको मोक्षभूमिमा जस्तै सिंजाको दास बिमोचनपछि हिंडेका सत्यदेव, कृष्णदेव जस्तैगरी कति दस्ता हिंडे होलान्? कतिले गन्तव्य भेटे होलान्? कतिले बिराए होलान्? खैर जसले जति हिंडेपनि प्रत्येक हिंडाइहरुको आफ्नै उदेश्य, औचित्य हुने गर्छ।
आज म यस्तै हिंड्नकै लागि कर्णालीले लगानी गरिरहेको पदमार्गको बारेमा चर्चा गर्न गइरहेको छु। उच्चारणमा धनिधनि सुनिने हाइकिङ्ग र ट्रेकिङ्ग जाने नेपालीहरुको सङ्ख्या दिनानुदिन बढ्नु सकारात्मक कुरो हो। हिँडिने समयावधि, भूगोल र सहज/कठिनाइको आधारमा यी दुई हिंडाईबीच केही खास भिन्नताहरु छन्। खासगरी केही घण्टा/एकदिनको सहज वातावरणमा सजिलो हिंडाई हाइकिङ्ग र दुई वा सोभन्दा बढी दिनको अलि साहसिकका साथै केही चुनौतीको सामना गर्नुपर्ने किसिमको हिंडाई ट्रेकिङ्ग हो।
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णालीको सरकारी निकायहरुबीच क्षेत्रफलको (२४४५३/२७९८४/३०,२११ वर्ग कि.मि.) बारेमा एकरुपता छैन। भौगोलिक हिसाबले नेपालकै ठूलो तथा जनसंख्याको हिसाबले कम मानिसको बसोबास रहने गरेको यो प्रदेश साहसिक पर्यटन सम्भावनाको अखडा हो।
विश्वका केही चर्चित पदमार्गहरु 'दि प्यासिफिक क्रिस्ट ट्रेल, दि क्यानाडा ट्रेल उर्फ ग्रेट ट्रेल, अमेरिकन डिस्कोभरि ट्रेल, पेनिने ट्रेल, ड्रागन ब्याक, डीङ्गलि वे, टेर्गो ला, क्लाउड फरेष्ट' भन्दा कुनै पनि विशेषतामा कम छैनन्, नेपालका पर्यटकीय पदमार्गहरू।
नेपालको बहुचर्चित अन्नपूर्ण पदमार्ग, बृहत हिमालय पदमार्ग, सागरमाथ बेस क्याम्प, पूनहिल, गोक्यो, लामटाङ्ग, मर्दी, मनास्लु सर्किट, अन्नपूर्ण सर्किट, सुम भ्याल्ली, गोसाईंकुण्ड, तिलिचो, रारा, फोक्सुण्डो, उपल्लो डोल्पा, बडिमालिका, ढोरपाटन, खप्तड जस्ता मुख्य पर्यटकीय गन्तव्यहरुमा वर्षेनी आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गइरहेको छ।
यो सुखद पक्ष हो। तर हिंडिने मार्ग कस्तो हुनुपर्छ भन्ने कुराको लेखाजोखा हुने गरेको भेटिँदैन। पर्यटनको लागि पदमार्गको सम्भावना बोकेको कर्णाली प्रदेशमा आजसम्म एक सयभन्दा बढी पदमार्गहरु बने, जसको लागि सरकारले मोटै रकम खर्च गरेको देखिन्छ। यसरी बनेको पदमार्गमा कर्णालीको पुरानो चर्चित उखान “ढुङ्गा अट्काउने, पैसा लट्काउने” जनमानसको जिब्रो जिब्रोमा बस्न सफल भयो।
आफ्नो घरको आँगनदेखि खरबारीसम्म जान पदमार्गहरु निर्माण गरिए। यतिले मात्रै नपुगेपछि पदमार्गले हरित पर्यटन सडकको रुपधारण गर्दै डोजर खोज्न थाल्यो। अन्तत व्यापक हरित विरोध भएपछि केही रोकियो। अनि चर्चा चल्यो कस्तो हुनुपर्छ त पदमार्ग? बनाउने नै किन? फाइदा के? मापदण्ड कस्तो हुने? आदि।
पर्यावरणलाई जस्ताको त्यस्तै राख्ने, न्यून असर गर्ने गरी मापदण्ड बनाउनु पर्ने कुरामा सरोकारवालाहरु सबै लगभग सहमत भएका छन्। खुसीको कुरा सन् २०२२ मा आठौं विश्व ट्रेल सम्मलेन हुँदैछ, जसको आयोजना विश्वको ट्रेकिङ्ग राजधानी भनेर चिनिने नेपालले गर्दैछ।
पदमार्ग किन?
पर्याप्त सडक सञ्जालले नछोएको र छुन अझै कयौं दशक लाग्ने कर्णालीको वर्तमान अवस्थालाई मध्येनजर गर्दै कर्णालीमा हाइकिङ्ग र ट्रेकिङ्ग गर्न रुचाउनेहरुको लागि पदमार्ग अवाश्यक छ। खुल्ला प्रकृतिमा रमाउने युवायुवतीको घुम्ने चाहनालाई प्रोत्साहन गर्न केही अफ्ठ्यारो बाटोहरुलाई स्तरोन्नति गर्दै सहज यात्राको लागि पदमार्ग बनाउनुपर्छ।
पुर्खाहरुले व्यापारिक तथा धार्मिक यात्रा गर्ने गरेका ऐतिहासिक मार्ग पहिल्याएर सोही मार्गको प्रचारप्रसार गरिनुपर्छ। कर्णालीका विशेष धार्मिकस्थल, तीर्थस्थल, सांस्कृतिक धरोहरका केन्द्रहरु, गुफाहरु, पाटनहरु जिल्ला सदरमुकामभन्दा टाढाको दुरीमा रहेका हुँदा त्यस्ता स्थलहरु अवलोकनको लागि पदमार्ग आवश्यक छ।
कस्तो हुनुपर्ला पदमार्ग?
अगाडि उल्लेखित उदेश्यहरु पुरा गर्न विना/न्यून वातावरणीय क्षति, स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा, कम खर्चिलो, स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको (काठ, ढुङ्गा आदि) प्रयोग गर्दै यात्रीको सुरक्षालाई केन्द्रबिन्दुमा राखेर पदमार्ग निर्माण गर्नु उपयुक्त हुन्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने हामीले उक्त मार्गको प्रयोग के को लागि गर्ने हो? सो को प्रयोगमा सर्वसमझदारी भैसकेपछि मात्रै निर्माणमा लाग्नु विवेकसंगत हुन्छ।
जस्तै हिंड्नको लागि, साइक्लिङ्ग, वन्यजन्तु अवलोकन, धार्मिक यात्रा, मनोरम दृश्यावलोकन, साहसिक चुनौतिको लागि आदि।
यहाँ म हिंड्नको लागि प्रयोग हुने मार्गको बारेमा सामान्य चर्चा गर्न गइरहेको छु। सर्वप्रथम पदमार्ग पर्यावरण मैत्री, आर्थिक रुपले व्यवहार्य, सामाजिक स्वीकार्य र हिंड्दा मज्जा आउने उर्फ सन्तुष्टि मिल्ने किसिमको हुनुपर्दछ।
'Design with nature and design for people' यस कुरालाई विशेष महत्त्वका साथ हेरिनुपर्छ। चौडाई कम्तिमा पनि १.५ मिटरको हुँदा थोरै समूहमा हिंड्न रुचाउनेहरुको लागि पर्यावरणसँग साक्षात्कार गर्ने अवसर सबैले एकैपटक पाउन सक्छन्।
लामो पदमार्गमा बीचमा धेरै दिन बास बस्नुपर्ने हुँदा गाउँ, बस्ती, होमस्टे, होटेल नभएको खण्डमा क्याम्पिङ्गस्थल, पानीको श्रोत नजिकै समथर स्थानमा हुने गरी पदमार्ग डिजाइन गर्नुपर्छ। पहाडमा दुरी समयले नापिने हुँदा ७-९ घण्टाको फरकमा यस्ता स्थलहरुको छनौट गरिनुपर्छ।
महत्वपूर्ण वनस्पति र वन्यजन्तुको वासस्थान खण्डिकरण हुनेगरी पदमार्गको डिजाइन नगर्ने। विकल्प नै नभएमा पदमार्गको दुरी बढेपनि फ्रीन्ज एरिया हुँदै पदमार्ग बनाउने।
१:१६ ईन्चभन्दा बढीको भिरालोमा सिँढी निर्माण गर्ने, उकाली ओरालीमा ढुङ्गा छाप्ने, भिरालोपन मिलाउने र भिरालोपट्टी काठको बार लगाउन सकिन्छ। पानी बगिरहने खोलामा काठे लाप्को, साँघु वा पुल बनाउन सकिन्छ। उच्च हिमाली भेगमा मार्ग परिवर्तन (सुक्खा पहिरो, हिम पहिरो, पानीले खोल्सी बनाउने आदि) भइरहने भएकोले वैकल्पिक मार्गको व्यवस्थालाई ध्यानमा राखेर पदमार्ग डिजाइन गर्नुपर्छ।
पदमार्गमा संकेतहरु (यसपछि आउने ठाउँको नाम, पुग्न लाग्ने समय, पिउने पानी भएको ठाउँ, दोबाटोमा गन्तव्य पहिचान गर्न सकिने सन्देश आदि) पर्याप्त राखिनुपर्छ। सकेसम्म स्थानको बारेमा संक्षिप्त जानकारी दिने बोर्ड (काठे) राख्नुपर्छ।
पदमार्गले धेरै भन्दा धेरै पर्यटकीय गन्तव्यहरु समेट्ने गरी डिजाइन गर्नुपर्छ। प्रत्येक पाँच वर्षमा तेश्रो पक्षबाट पदमार्गको अडिट गरिनुपर्छ।
पदमार्गमा डेढदेखि दुई घण्टा हिंडेर पुगिने स्थानमा विश्रामस्थल बनाउनुपर्छ। यस स्थानमा उक्त पदमार्गको बारेमा विविध जानकारी दिने पर्चा, लिफलेट वा बोर्ड राखिनुपर्छ। यात्रीहरुले पर्चा, लिफलेट पढेर जहाँ छ त्यहीँ छोडिदिनुपर्छ।
पदमार्गको ठाँउ-ठाँउमा स्वच्छ खानेपानी र जैविक शौचालय निर्माण गर्ने। सम्भाव्य पहिरो तथा भूक्षय हुन सक्ने स्थानमा सो नियन्त्रणका क्रियाकलापहरु संचालन गर्ने।
पदमार्ग नक्शांकन गरी सोको सम्पूर्ण जानकारी (अवलोकन गर्न सकिने दृश्य, जैविक विविधता, स्थानीय संस्कृति, भेषभूषा, खानपिनलगायत विषय) दिने एप निर्माण गर्न सकेको खण्डमा यात्रीहरुलाई थप सहज हुनेछ।