एक जना मित्रले मेरो कार्यालय स्टक एक्सचेञ्जमा आएर भने, 'प्रचण्डले बोल्दा सेयर बजार सवा एक खर्ब रूपैयाँ घट्यो रे, साँच्चै हो?'
मैले भनेँ, 'हुन सक्छ। यकिनसाथ भन्न सकिन्न।'
'कसरी हुन सक्छ? देखाउनुस् त।'
म अलमलमा परेँ। सोधेँ, 'कसरी देखाऊँ?'
उनले भने, 'देखाउनुस् न तपाईंको कम्प्युटरमा, प्रचण्डले बोलेको अनि सेयरको मूल्य घटेको, ग्राफ तलमाथि गरेको, रातो–हरियो रंगहरू, अंकहरूको जोडघटाउ, त्यस्तै भिडियो केही हुन्छ होला नि!'
उनको अपेक्षा कुनै सिनेमा हेर्ने रहेछ भन्ने मैले बुझेँ।
मैले भनेँ, 'त्यस्तो कुनै सिनेमा हुँदैन। प्रचण्डको कुराले सबभन्दा पहिला मान्छेको दिमागमा हान्छ। ती मान्छेले मोबाइल, ल्यापटप वा अन्य कुनै डिभाइसको किबोर्डमा हान्छन् अनि यहाँ सेयरको मूल्य घटबढ हुन थाल्छ।'
प्रचण्डले बोलेका कुरा पत्याउनेहरू सेयर किन्न थाल्छन्, नपत्याउनेहरू बेच्न थाल्छन् वा झुक्यानमा परेर उल्टो पनि गर्न सक्छन्। सेयर किन्ने धेरै भए माग बढ्छ, बेच्ने धेरै भए माग घट्छ। माग बढ्यो भने सेयरको मूल्य बढ्छ, माग घट्यो भने मूल्य घट्छ। संसारभरकै सेयर बजार यति सरल आर्थिक नियममा चल्छ तर मान्छेले यसलाई रोमाञ्चक र अलौकिक बनाएका छन्। सेयर बजारबाट रातारात कमाएर अर्बपति बनेको वा पूरै पैसा गुमाएर सडकमा आएको कल्पना गर्न थाल्छन्।
यी दुवै किसिमका अतिकल्पना सेयर बजारमा अपवाद हुन्। सेयर बजारबाट मान्छे अर्बपति हुन सक्छन्, सडकमा आउन सक्छन्। अझै कतिपय त जेल पनि जान्छन्, गएका छन्। तर सेयर बजारको मुख्य कथा यो होइन।