कहिले रोकिएला दलितमाथि हुने हिंसा ?

जात व्यवस्थाभित्र रुमल्लिएको नेपाली समाजले दलित समुदायमाथि हिंस्रक व्यवहार प्रदर्शन गर्ने क्रम जारी छ। विभिन्न समयमा दलितमाथि हुने गरेका हिंसाका घटनाले मानवीय क्रूरता चुलिँदै गएको प्रस्ट हुँदै छ। राज्य लाचार बनेपछि समाजमा घटित हुने आपराधिक घटनाले सधैँ स्थान पाइरहन्छन्। दलित समुदायको भएकै कारण नवराज विकहरूलाई भेरी नदीमा बगाइयो। काभ्रेका आजित मिजारको लासले अझै न्याय पर्खिरहेको छ। भोजपुरका संगम ठटाल परियार अन्तर्जातीय प्रेम छुटेपछि रुखमा झुन्डिए। चुलो छोएको निहुँमा कालिकोटका मानविरे सुनार मारिए। पछिल्लो समय कैलालीको जानकी गाउँपालिका–१ का अर्जुन दासको क्रूरतापूर्वक हत्या भएको छ।

 २५ वर्षीय दासको हत्याले आमदलित समुदायलाई मर्माहत बनाएको छ। दलित समुदायमाथि जातीय विभेद तथा हत्याका घटना तीव्र रूपमा घटित भइरहेका छन्। अर्जुन दासको हत्या क्रूरताको पराकाष्ठा नै हो। पलपलमा जातीय विभेदको सिकार खेपिरहेका दलित समुदायमाथि अहिलेको पुस्ता हिंस्रक भएर जाइलागिरहेको छ। यसले आजको पुस्तामा पनि जात व्यवस्थाको गहिरो छाप बाक्लिँदै गएको प्रस्ट हुँदै छ। अन्य जातिको तुलनामा दलितमाथि हुने गरेको हिंसाले मृत्युको रूप लिइरहनु दलित समुदायमाथि बढ्दै गएको अत्याचारको चित्रण हो।

नवराज विकदेखि अर्जुन दाससम्मका घटनालाई केलाउँदा पनि संघीय लोकतान्त्रिक व्यवस्थामा धेरै दलितको लासको बिस्कुन लागेको छ। अन्तर्जातीय विवाह होस् या मन्दिर प्रवेश गर्ने निहुँमा होस्, चुलो छोएको निहुँमा होस् या अन्य कुनै पनि निहुँ होस्, दलितमाथि शृंखलाबद्ध रूपमा हत्या तथा हिंसा बढिरहेको छ। मान्छे मान्छेप्रति यसरी हिंस्रक बनेर अमानवीयताको सीमा नै नाघ्ने गरी अपराधका घटना हुँदा पनि राज्यले खासै चासो नदिनु गम्भीर चिन्ताको विषय हो। आमनागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूत गराउने प्रमुख दायित्व राज्यको हो। राज्यले समाजमा बढ्दै गएको सामाजिक दण्डहीनताप्रति खासै चासो दिएको देखिन्न। 

प्रकाशित मिति: : 2021-12-30 10:39:00

प्रतिकृया दिनुहोस्