पहिले काठमाडौंको य:मरि चिनाए, अहिले मधेसको दसैं परिकार चखाए
दुई सय चालीस मिनेट — त्यो सन्तोष साहको जिन्दगीकै सबभन्दा यादगार दुई सय चालीस मिनेट थियो।
गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता रहेका सन्तोष यसपालि फेरि प्रतिस्पर्धामा ओर्लेका थिए। उपाधि जित्ने अधुरो ख्वाब पूरा गर्ने हुटहुटीले उनलाई दोस्रोचोटि प्रतिस्पर्धामा ओरालेको थियो।
कतिले त उनलाई भने पनि, उपविजेता भइसकेको मान्छे फेरि भिडेर किन चुनौती मोल्छौ!
कतिले त तर्साए पनि, उपाधि जित्ने आकांक्षाले कतै कमाइसकेको नाम गुमाउने त होइनौ!
सन्तोष दोधारमा परे।
उनको मनले भन्दै थियो, दोस्रोचोटि पाएको मौका कुनै हालतमा छाड्नु हुन्न। दिमागले भन्दै थियो, फेरि पनि उपाधि जितिएला–नजितिएला ठेगान छैन, प्रतिस्पर्धामा लागेर किन चुनौती मोल्नु!
आखिरमा उनले मनको सुने।
‘मलाई दुइटा कुराले दोस्रोचोटि प्रतिस्पर्धा गर्न हौस्यायो,’ सन्तोष साहले बुधबार राति बेलायतको लन्डनबाट ह्वाट्सएपमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘एक त, मान्छेले कोशिस गरेर थाक्नुहुन्न। एकचोटि असफल भइयो भन्दैमा प्रतिस्पर्धाबाट भाग्ने मान्छे जिन्दगीमा कहीँ पुग्दैन। जिन्दगीको यात्रामा लड्नु नै पराजय हुनु होइन, लडेपछि उठ्न नखोज्नु चाहिँ पराजयको निशानी हो। म लड्न त लडेँ तर त्यसले मलाई आफ्नो गल्ती र कमी–कमजोरी फर्केर हेर्न सिकायो। तिनै गल्तीबाट पाठ सिकेर फेरि उठ्ने र रेसमा भाग लिने निधो गरेँ।’