माओवादी केन्द्रमा विचारको बहस : ‘पदके बात नाबा बेटा, विचारके बात बा'

पहिलोपोष्ट

काठमाडाैं

बेटा : ‘ना तु मन्त्री बन्बे, ना तु सांसद होखबे, ना तोहराके प्रदेशमे कौनो पद मिलि, त तु काहेला काठमाडौं अइबे?’

बा : ‘पदके बात नाबा बेटा, विचारके बात बा।'

नेकपा (माओवादी केन्द्र)ले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने नाराका साथ काठमाडौंमा ८ औं महाधिवेशन गरिरहेको छ। आइतवार उद्घाटन भएको महाधिवेशन १६ गते (शुक्रवार)सम्म चल्नेछ। १५ गते सम्मका लागि भन्दै सुरु भएको महाधिवेशनको बन्दसत्रमा समूहगत छलफल चलिरहेको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ र नेता राम कार्कीले पेस गरेको ‘केही पुरक, केही नविन प्रस्ताव’ पुरक प्रस्ताव तथा नेता देव गुरुङले पेश गरेको विधान प्रस्तावमाथि छलफल चलिरहेको छ।

नयाँ क्रान्तिकारी विचार निर्माणका लागि भन्दै देशभरबाट १६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आएका छन्। उनीहरुलाई माओवादी केन्द्रले रातीको बास र खानको व्यवस्था आफैँ गर्न भनेको छ। प्रतिनिधिहरु काठमाडौंमा आफन्तका डेराडेरामा राती पुग्छन्। दिनभर प्रज्ञा भवन, पार्टी मुख्यालय पेरिसडाँडा र काठमाडौंका केही पार्टी प्यालेसहरुमा भेला हुन्छन्।

बाबु र छोराबिचको माथिको संवाद चाहिँ सोमवार साँझ बागबजारको आकाशे पुलमा सुनिएको हो। प्रदेश २ बाट प्रतिनिधि बनेर आएका अर्धवैंशे र अर्का किशोर गन्तव्य तर्फ हिँड्दै संवाद गरिरहेका थिए। पर्साबाट आएका ती प्रतिनिधि कीर्तिपुर छोराको डेरामा जाँदै थिए।

पार्टीले बासको व्यवस्था नगरे पनि उनीहरु विचारको बहसका लागि काठमाडौं आएको बताउँछन्। अर्का एक प्रतिनिधि सैनिक मञ्च र खुलामञ्चको बिचमा रहेको पैदलमार्गमा मोबाइलमा कुरा गर्दै  थिए - ‘म यो खुलामञ्चको बिचमा छु। यहीँ आउनु यही कुर्छु।’

प्रकाशित मिति: : 2021-12-28 20:06:00

प्रतिकृया दिनुहोस्