'बैसाखी थमाउनु बाहेक पार्टीले मलाई के दियो र !'
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ। कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन्।
महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-कार्यकर्ता मिसिएका छन्। माओवादी प्रतिनिधिको यो मेलामा दौडधूप गर्नेहरूको भीडमा भेटिइन्- रुकुम पश्चिमकी वृक्षा उखेरा।
युद्धले उनको खुट्टा खोसेर लग्यो । उनी बैसाखीको सहारामा सुस्त-सुस्त यताउता गरिरहेकी हुन्छिन्। जाडो छ, न्यानोको खोजीमा घाम तापिरहेकी छिन्। घामको रापले सेलाएको तनलाई त तताउँछ, तर चिसिएको मनलाई केले तताउला ?
जनताको शासन ल्याउने सपना बोकेर युद्धमा सहभागी उखेरा महाधिवेशन प्रतिनिधि भने होइनन्। पार्टीले उनलाई प्रतिनिधि बनाउन योग्य नदेखे पनि शरीरका अंगहरू र बैंसालु उमेर समर्पित गरेको पार्टीको महाधिवेशनमा नआइरहन उनको मनले मानेन।
शरीरलाई गति दिन बैसाखीको सहारा लिन्छिन् उखेरा तर मनलाई गति दिने केही विचार, केही ऊर्जाको खोजी गर्दै उनी महाधिवेशन स्थलसम्म आइपुगेकी हुन्।