दाङको ‘कर्णाली’: जसले प्रजातन्त्रमा आश्वासन पायो, गणतन्त्रमा विकास देख्यो

Breaknlinks
Breaknlinks

चारैतिर घना (ठूलो) जंगल देखिन्छ। त्यही जंगलको बीच–बीचमा स-साना बस्तीहरू छन्। ती बस्तीहरू पनि कतै मिलेका छन्। कतै अव्यवस्थित जस्ता देखिन्छन्।

करोडौँ रूपैयाँ लगानी गरेर बनाएका घरहरू छैनन्। सामान्य छन्। कतै फुसका छाना भएका। कतै जस्ताका पाता लगाइएका घर छन्। उद्योग पनि छैन। पाखाबारी देखिन्छन्। खेत छैनन् र धान पनि लगाइँदैन। लगाइए पनि पाखा बारीमा फल्ने ‘घया’ धान लगाइन्छ। यही धान मात्र फल्छ। अन्य धान लगाइँदैन। तोरी, गहुँ, जौँ, मसुरो लगाइन्छ। मकै फल्छ। पशुपालन छ। जंगल भएकाले प्रायः घरमा पशु देखिन्छ।

यस्तो देखिने दृष्य हुन दाङको ‘कर्णाली’ उपनामले चिनिने बबई गाउँपालिकास्थित वडा– १ का विभिन्न गाउँ। दाङ जिल्ला भए पनि बाँके र सल्यानसँग सीमा जोडिएको पश्चिम दाङको बबई गाउँपालिका वडा– १ विकासका दृष्टिकोणले पछाडि देखिन्छ।

यस वडामा ४० बढी टोलहरू छन्। जसमध्ये सबैभन्दा विकसित टोल गंगटे गाउँलाई मानिन्छ। जहाँ अहिले वडा कार्यालय पनि रहेको छ। बबई नदीको छेउमा रहेको गंगटे गाउँमा दश कक्षासम्म पढ्का लागि स्कुल पनि रहेको छ।

यही गाउँमा सञ्चार पुगेको एकमहिना पनि पुगेको छैन। भने, विद्युत यही पुस १० गतेदेखि बालिएको छ। दाङको सदरमुकाम घोराहीदेखि करिब ४ घण्टाको मोटर यात्रामा पुग्न सकिने यस गाउँमा पहिलो पटक विद्युत पुगेपछि स्थानीय खुशी भएका छन्।

प्रजातन्त्र स्थापनापछि १० वर्षमा सडक र विद्युत विस्तार हुने आश्वासन पाएका यस गाउँका नागरिकले गणतन्त्र स्थापना भएको एकदशकपछि मात्र सडक र विद्युतको उपभोग गर्न पाएका छन्।

०४७ सालमा प्रजातन्त्रको स्थापना भएपछि स्वर्गीय कांग्रेस नेता खुमबहादुर खड्काले गंगटे गाउँमा पुगेर १० वर्षमा सडकसँगै विद्युत ल्याउने आश्वासन दिएका थिए। तर, त्यस आश्वासन माओवादीले सञ्चालन गरेको जनयुद्धलगायत राजनीतिक कारणले पूरा हुन नसकेको बबईका कांग्रेस नेता कुलबहादुर केसी बताउँछन्।

उनले ०७० सालमा मात्र भांगाबारीदेखि गंगटेसम्म सडक खोल्ने काम गरेको बताए।

‘०४७ सालमा प्रजातन्त्र स्थापनापछि स्व. नेता खुमबहादुर खड्कालाई ल्याएर १० वर्षमा विद्युत सडकको व्यवस्था गर्ने भनियो तर माओवादीको द्वन्द्वसँगै राजनीतिक कारण काममा अवरोध भयो,’ उनले भने, ‘पछि ७० सालमा मात्रै भांगाबारीदेखि गंगटेसम्म सडक ल्याइएको थियो।’

०६२/६३ को आन्दोलनपछि नेपालमा गणतन्त्र स्थापना भयो। त्यसपछि ०७० मा सडक सञ्जालसँग जोडिएको बबई १ मंसिर १० गतेदेखि विद्युतसँग पनि जोडिएको छ। १० गते शनिबार बबई गाउँपालिकाले वडा–१ को गंगटेमा एक कार्यक्रम गरी विद्युत उद्घाटन गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मालगायतको उपस्थितिमा विद्युतको उद्घाटन गरिएको थियो।

विद्युत पुगेपछि स्थानीय खुशी

बबईको वडा– १ मा पहिलो पटक विद्युत पुगेपछि स्थानीय खुशी भएका छन्। दाङ जिल्लावासी भएर नै विटक गाउँ भनेर पहिचान भएको वडा– १ का नागरिकले अब भने विद्युतको उपभोग गर्न पाउने भएका छन्।

विद्युत पुगेसँगै आफूलाई निकै खुशी लागेको स्थानीय मानबहादुर गुरूङ (५९)ले बताए। उनले विद्युत आउँला भनेर कहिल्यै नसोचेको भन्दै अब विद्युत आएपछि थप सहज हुने बताए। यस्तै अर्का स्थानीय गंगाबहादुर खत्री पनि विद्युत पुगेकोमा खुशी हुँदै स्थानीय सरकारलाई धन्यवाद दिए।

उनले पहिले सोलारको चार्ज सकिँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न समेत समस्या रहेको बताउँदै अब त्यो समस्याबाट मुक्त हुने बताए।

घर–घरमा विद्युत बल्न केही समय लाग्ने

बबई गाउँपालिका १ नं वडाको केन्द्र गंगटेमा विद्युत पुगेपनि घर-घर विद्युत बल्न भने केही समय लाग्ने भएको छ।

वडा कार्यालयमा भने विद्युतको सप्लाई पनि जोडिएको छ। अन्य घरहरूमा भने अब विद्युत मिटर जडान गरेर विद्युत सप्लाई जोडिने बबई गाउँपालिका अध्यक्ष पौडेलले बताए।

उनले विद्युत मिटर निकाल्नका लागि वडा कार्यालय सिफासिर भर्न पनि सबैलाई आग्रह गरे। सहायक लाइन जडानका लागि विद्युत कार्यालय तुलसीपुरसँग कुरा भइसकेको बताउँदै उनले त्यसको काम पनि छिट्टै सुरू हुने जानकारी दिए।

वडामा विद्युत मिटर पनि निःशुल्न वितरण गर्ने गरी योजना बनाइरहेको उनको भनाइ छ। ‘अन्य सहायक लाइनको काम गर्न तुलसीपुर वितरण केन्द्रसँग कुरा भइसकेको छ,’ उनले भने, ‘विद्युत मिटर पनि निःशुल्क वितरण गर्ने गरि योजना भइरहेको छ।’

यस वडामा बबई गाउँपालिकाको ६७ लाख र विद्युत प्राधिकरणको करिब साढे २ करोड बजेटमा विद्युत विस्तार गरिएको हो। अन्य ठाउँमा विद्युत विस्तारका लागि गाउँपालिकाले आफ्नो बजेट खर्च गर्न जनाएको छ।

जहाँ सञ्चार पनि छैन

दाङको कर्णाली उपनामले चिनिने बबई गाउँपालिकाको वडा– १ को गंगटे गाउँभन्दा अझ विकट गाउँ पनि रहेको छ। जहाँ सञ्चारको सुविधा अहिले पनि छैन। गाउँमाथि सिम्ले वनमा रहेको नमस्तेको टावरले अहिले गंगटे गाउँमा भने फोन गर्न सहज भएको छ। एनसेलले अहिले पनि काम गर्दैन।

तर, वडा–१ कै बबई पारी मलई, सिमलकुना, जिला, क्यूरीनी, बन्चरे लगायत गाउँमा उक्त टावरले पनि काम नगर्दा फोन सेवाबाट यसक्षेत्रका नागरिक बञ्चित भएका छन्। गाउँका केहीकेही ठाउँमा फोनले काम गर्ने भएपनि सबै ठाउँमा फोन सेवा सहज नरहेको स्थानीय धनसरी पुनमगरले बताइन्।

बबई पारीका यी गाउँमा सडक पुगे पनि अझै बबई नदीमा पुल बनेको छैन। पुल बन्ने क्रममा रहेको पुनमगरले जानकारी दिइन्। साथै विद्यालयको पनि समस्या रहेको उनले बताइन्।

बबई पारी अर्को ठूलो समस्या निकुञ्ज क्षेत्रको छ। बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका यी गाउँमा बेलाबेलामा बाघले पशुहरू खाइरहने पुनमगरले बताइन्। निकुञ्जले गर्दा विकराल समस्या निम्तिएको कांग्रेस नेता कुलबहादुर केसी बताउँछन्।

स्थानीय र निकुञ्जबीच समन्वय नहुँदा यी क्षेत्रमा समस्या निम्तिएको उनको भनाइ छ। उनले निकुञ्जबाट हुने क्षति रोक्नका लागि सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: : 2021-12-28 18:49:00

प्रतिकृया दिनुहोस्