टौदहमा पहिलो पटक झुल्किएको स्मिउ 

टौदहमा देखिएको पोथी स्मिउ साइबेरियाबाट युरोप वा दक्षिणपूर्वी एशियातर्फ लागेको आफ्नो झुन्डबाट छुटेपछि कमन टिल, कमन पोचार्ड, फेरुगिनस डकसँग मिसिएर यता आइपुगेको हुन सक्छ।

हिमाल खबर

काठमाडौँ
File Photo
File Photo

पुस ४ गते बिहान वन्यजन्तु अध्येयता अस्मित सुब्बासँग टौदह पुगियो। अघिल्लो बेलुकी उनै सुब्बाबाट तौदहमा दुर्लभ पन्छी ‘स्मिउ’ आइपुगेको जानकारी पाएपछि म यसै हतारिरहको थिएँ। मेरो घर त्यहाँबाट साढे ३ किमी जति मात्र टाढा हो।

बिहान पुग्दा टौदह हुस्सुले छोपिएको थियो। पानीमा विचरण गरिरहेका हाँस पनि ठम्याउन गाह्रो पर्‍यो। पौने घण्टापछि हुस्सु अलि हटेजस्तो भयो, हामी बाइनाकुलरबाट स्मिउको खोजीमा लाग्यौं। तर जति खोज्दा पनि देखिएन।

भक्तपुरका मित्र कमलराज गोसाई पनि त्यही चरा हेर्न भनी आएका रहेछन् तर नभेटेर खिन्न रहेछन्। हामी भोलि फेरि आउने गरी फर्कने निधोमा पुग्यौं। तर त्यत्तिकैमा अर्का मित्र शंकर तिवारी भेट भए। चरा अध्ययनमा नाम कमाएका उनले त पहिले नै त्यो पन्छी देखेर फोटोसमेत खिचिसकेका रहेछन्। हामी उनैलाई पछ्याउँदै गयौं। दशरथ श्रेष्ठ बिजुक्क्षे पनि बडेमानको क्यामेरा लिएर त्यहीँ आइपुगे। अनि हामीले देख्यौं–पोथी स्मिउ। कमन टिल, कमन पोचार्ड र फेरुगिनस डकको सानो झुन्डमा थियो त्यो।

टाढाबाट त्यो पन्छी कमन पोचार्डजस्तै देखिँदो रहेछ। त्यसैले निकै पटक देखे पनि भेउ पाउन सकिएनछ। चराहरूको बथान अलि टाढै भएकाले निकै बेर कुर्दा पनि राम्रो तस्वीर लिन सकिएन। हामी अन्तै लाग्यौं। बिजुक्क्षे त्यहीँ अडिए। घर पुगेपछि थाहा भयो, एकाध घण्टा कुरेपछि उनले तस्वीर मात्र होइन, भिडियोसमेत खिच्न भ्याएछन्। भिडियो सामाजिक सञ्जालमा अपलोड भइसकेको थियो।
 

प्रकाशित मिति: : 2021-12-22 10:46:00

प्रतिकृया दिनुहोस्