नयनराज पाण्डेकाे ‘जियरा’ माथि बुकाहोलिक्सको चकटी बहस

पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने समूह बुकाहोलिक्सको ७३ औं चकटी बहस सम्पन्न भएको छ। भक्तपुरको कौसलटारस्थित रिडर्स हबको प्रेक्षालयमा बुकाहोलिक्सले ‘जियरा’माथि बहस आयोजना गरेको हो।

अभिषेक भट्टराईले संचालन गरेको कार्यक्रमको मुख्य आकर्षक उपन्यासकार नयनराज पान्डे थिए भने कवि राजु झल्लु प्रसादले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए। झल्लु प्रसादले जियाराले मधेसको आवाज बोलेको मात्रै नभई मधेश भएर प्रश्न पनि गरेको पनि बताए। 

'काठमाडौंमा महल बनाएर मधेशको नाममा राजनीति गरिरहेकाहरूसँग मधेशको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने खाका छैन तर लेखकसँ त्यो खाका देखिन्छ। जियराका हरेक पात्र यथास्थितिबाट उठेका छन्। यो त सुन्दर कुरा हो नि,' उनले भने, 'यहाँ दमन, दलन र विभेद मात्रै देखाइएको छैन, त्यसबाट निस्किभाग्ने उपाय र निस्किएको दृश्यहरू पनि देखाइएको छ।'

उलारको प्रेमललुवा जियरामा आइपुग्दा चन्द्रलाल भएर सिंहदरबार छिरेको उल्लेख गर्दै उनले भने, 'सिंहदरबारभित्र छिरेपश्चात गलत्याइएका चन्द्रलालहरू चुपो लागेर बसेका छैनन्, कट्टा बनाइरहेका छन्। जेल पर्छन् तर जेलबाट इतिहास पुनःलेखनको माग गर्छन्। दोस्रो दर्जाका रूपमा हेपिएर, पिल्सिएर अनागरिक भएर बाँच्न विवश चन्द्रलालहरू, हक्का पहलमानहरू, शिवरामहरूमा देखिएको आक्रोशलाई क्रान्तिको घटकको रुपमा हेरिनुपर्दछ। मधेसको कथा यसरी भनिनु आवश्यक थियो।'

झल्लु प्रसादको टिप्पणी एवं पाण्डेको  स्पष्टिकरण सुन्न पुराना पुस्ताका दर्जन र नयाँ पुस्ताका झण्डै दुई दर्जन पाठक भेला भएका थिए। शनतकुमार वस्ती, आश्विनी कोइराला, रुपेश श्रेष्ठ, हाइवे संजित भारती, मोहित जोशी, पूर्णिमा गिरि, दीक्षा पोख्रेल लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अध्येता शनतकुमार वस्ती, संस्थापक सगुना शाह, अरुण शर्मा, मोहीत जोशी लगायतले पुस्तकमाथि टिप्पणी गर्दै केही प्रश्नहरु सोधेका थिए। कार्यक्रमपछि लेखक र समीक्षकलाई बुकाहोलिक्सका तर्फबाट पुस्तकहरु उपहार दिइएको थियो। कार्यक्रमको प्रायोजक रिडर्स हस कफी सपले गरेको थियो।

'चकटी बहस' लेखक, पाठक, प्रकाशक आदिको जमघट हुने थलो हो। पठन संस्कृतिको प्रवर्द्धन गर्दै नयाँ पुराना पुस्ताका लेखक पाठकबीच अन्तरक्रिया गर्न सघाउने उद्देश्यले यस कार्यक्रम सुरु भएको संस्थापक सगुना शाहले बताइन्।

प्रकाशित मिति: : 2021-12-19 06:52:00

प्रतिकृया दिनुहोस्