सार्वजनिक शौचालय भन्नै वित्तिकै अधिकांशको मनमा एक खालको बिम्ब चित्रित हुन्छ– गन्हाउने, अव्यवस्थित, फोहोर, भत्किएको, पानीको सुविधा नभएको, ढोका राम्रो सँग लगाउन नमिल्ने यस्तैयस्तै।
सार्वजनिक शौचालयप्रति धेरै मानिसको बुझाई यस्तै भएका बेला कुनै ठाउँमा सफा र चट्ट परेको सार्वजनिक शौचालय देख्दा जो–कोही पनि अचम्म पर्नु स्वाभाविकै हो।
यसैबीच आर्किटेक डिजाइनर निरज मर्हजनले गरेको सार्वजनिक शौचालयको डिजाइनले धेरै लाई अचम्मित बनाएको छ। उनको ‘एरोशन’ नामको उक्त डिजाइनमा काठमाडौँको स्वयम्भुमा निर्माण गरिएको शौचालयको यतिबेला चौतर्फी चर्चा छ।
मर्हजनको उक्त ‘स्मार्ट शौचालय’को डिजाइन विश्वको उत्कृष्ट पाँचमा पर्न सफल छ।
नेदरल्याण्डमा आयोजित ‘सराफाती सेनिटेशन च्यालेन्ज’मा विश्वभरका ८० सरसफाई संस्थामध्ये उत्त शौचालय उत्कृष्ट पाँचमा पर्न सफल भएको हो।
विश्वको उत्कृष्ट पाँचमा परेको उक्त डिजाइनमा ललितपुरको पाटनढोका पनि ८० लाख लागतमा नयाँ शौचालय निर्माण गरिएको छ। जसको नाम हो, ‘एरोशन’।
एरोशन एक सामाजिक संस्था हो। जुन क्यान्डाबाट सञ्चालित छ। उत्त शौचालय निमार्णका लागि नेपाली सामाजिक संस्था ‘सोना’ले ४० लाख र ‘एरोशन’ले ४० लाख खर्च गरेको छन्।
उक्त शौचालयमा ‘स्मार्ट लाइट’ जडान गरिएको छ। जुन मानिस प्रवेश गर्दा बल्ने र निस्कदाँ स्वचालित रुपमा निभ्ने गर्छ। त्यस्तै महिला, अपाङ्ग तथा समलिङ्गीका सहजताको लागि विभिन्न सेवा सुविधाहरु राखिएको छ।
महिला शौचालयमा ‘स्यानिटरी प्याड’को व्यवस्था मात्रै गरिएको छैन प्रयोग गरिएका ‘प्याड’को व्यवस्थापनको लागि मेशिन समेत जडान गरिएको छ। त्यस्तै शौचालयसँगै खाजाको लागि ‘क्यान्टिन’को समेत व्यवस्था गरिएको ‘एरोशन सस्टेनेवल स्यानिटेशन’का प्रमुख प्रकाश अमात्यले बताएका छन्।
उनका अनुसार यो शौचालय ‘क्रस भेन्टिलेशन’ राखिएको छ। जसबाट सहजै हावा प्रवाह भएर शौचालयको गन्ध बाहिर जाने गर्छ।
‘यहाँ सबै कुरालाई नयाँ ढङ्गबाट निर्माण गरिएको छ। हात धोएको तथा सरसफाईको पानी पाइपबाट तल पठाइन्छ। चार–पाँच पटक फरक–फरक ठाउँमा प्रशोधन भएपछि त्यो पानी शुद्ध भएर माथि पुग्छ,’ अमात्यले भने,‘पानी प्रशोधनको लागि ढुङ्गा, गिट्टी, बालुवा लगायत प्रक्रियाबाट फिल्टर गरेर टयाङ्कीमा पठाइन्छ।’
त्यस्तै शौचालयको दिसा, पिसाब ‘बायो डाइजेस्टर’मा जाने त्यसबाट बायोग्याँस उत्पादन गरिएको अमात्यले बताएका छन्। उत्त शौचालय महिलाद्धारा सञ्चालित छ। जहाँ व्यवस्थापनदेखि सरसफाईको काम उनीहरुले नै गर्दै आएका छन्।