मणिपालको ब्रह्मलुट : चर्को शुल्क असुली, बाहिर कुरा गरे फेल गरिदिने धम्की

पाेखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सले नियम विपरित विद्यार्थीबाट चर्को शुल्क असुल गरेको पाइएको छ। अतिरिक्त शुल्क भन्दै चर्को शुल्क असुल गरेको भन्दै पीडित विद्यार्थीहरुले गुनासो गरेका छन्।

यति मात्र होइन अतिरिक्त शुल्कको विषयमा प्रशासनभन्दा बाहिर कुरा गरेमा, प्राक्टिकलमा नम्बर पनि घटाइदिने धम्की दिने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्।

‘चिकित्सा शिक्षा आयोगले कन्डक्ट गरेको २०७७/०७८ को एक्जाम थियो। त्यसपछि कमन इन्ट्रान्स थियो, त्यसको मेरिटको बेसिसमा चिकित्सा शिक्षा आयोगले स्वयम हामीलाई मणिपाल मेडिकल कलेज पोखरा पठाएको हो,’ पीडित विद्यार्थीमध्येका एकले नाम नखुलाउने शर्तमा भने।

चिकित्सा शिक्षा आयोगको नियम अनुसार भ्यालिभित्र ४० लाख, भ्यालि बाहिर ४४ लाखभन्दा बढी अतिरिक्त शुल्क लिन नपाउने भन्ने नियम छ। पोखरा आइसकेपछि अतिरिक्त शुल्कको नाममा हामीसँग ६ लाखभन्दा बढी रकम असुल्ने काम भएको उनको दाबी छ।

मणिपाल कलेजले सेक्युरिटी डिपोजिटको नाममा सुरुमै २ लाख अतिरिक्त शुल्क मागेको र होस्टेल अनिवार्य बस्नुपर्ने भन्दै ६ लाख रुपैयाँ माग गरेको उनको गुनासो छ। ६ लाख रुपैयाँ भुक्तानी नगर्दासम्म होस्टेलभित्र छिर्न नदिएको उनको भनाई। शुल्क तिरेपछि मात्रै होस्टेलभित्र छिर्न दिएको उनले बताए।

अस्पताल प्रशासनमा पुगेर अतिरिक्त शुल्कबारे प्रश्न गर्दा पढ्ने भए पढ् नत्र बाहिर जा भनेर धक्की दिएको उनको दाबी छ। प्रशासनबाट धम्की आएपछि आफूहरु पनि थप प्रतिवाद गर्न डराएको उनको भनाई छ। सम्बन्धित निकायले प्रशासनसँग वार्ता गरेर आफूहरुलाई पढ्ने वातावरण मिलाइदिन उनले आग्रह गरेका छन्।

पीडित विद्यार्थीहरुले शुल्क नतिरेको भन्दै मुर्गा समेत बनाएको गुनासो गरेका छन्। ‘इनडाइरेक्टली हामीलाई थ्रेट दिने कुरा जस्तै यो लक्जरियस कलेज हो। तिमीहरुले पैसा तिर्नुपर्छ, हिजै हामीलाई बोलाएर सामसुङ र आइफोन देखाउने, ३० रुपैयाँको चिया र ३ सय रुपैयाँको कफी देखाएर हामीलाई मेनुपुलेट गर्ने काम पनि भयो,’ अर्का एक विद्यार्थीले गुनासो पोखे। इनडारेक्टली प्राक्टिकलमा कम नम्बर दिने धम्की दिने गरेको समेत उनको गुनासो छ। विद्यार्थीको पक्षमा बोल्ने संगठनको सम्पर्कमा नजान समेत प्रशासनले दबाब दिएको उनको भनाई छ।

२०७७/०७८ ब्याज ३४ का विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुलेको भन्दै विद्यार्थी नेकपा एमाले निकट अनेरास्ववियूले अनिश्चितकालका लागि अस्पताल प्रशासनमा ताला लगाएका छन्। अनेरास्ववियुले आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। अनेरास्ववियुले चाडोभन्दा चाडो विद्यार्थीहरुको समस्या हल गर्न समेत आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जो कोही पनि नियम अनुसार चल्न पर्ने बताए। उनले विद्यार्थीहरुको समस्याबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर निर्देशन आए लगत्तै एक्सनमा उत्रिने बताए। ‘देशमा बनेको कानुन अनुसारको काम सबै निकायले गर्नुपर्छ। यो भएको छैन भन्ने माग तपाईंहरुको रह्यो। मणिपाल शिक्षण कलेजले त्यो अनुसार गरेको छैन, अतिरिक्त शुल्क लियो भनेर भन्नु भयो,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी ज्यूलाई जानकारी गराएपछि उहाँबाट प्राप्त निर्देशन अनुसार अघि बढ्ने छौं।’

गएको मंसिर २० गतेदेखि मणिपाल कलेजमा अनिश्चितकालको लागि अनेरास्ववियुले तालाबन्दी गरेको छ। तर, अस्पताल प्रशासनले द्विपक्षिय वार्ताका लागि कुनै पहल नगरेको विद्यार्थीहरुको भनाईं छ।

प्रकाशित मिति: : 2021-12-12 17:51:00

प्रतिकृया दिनुहोस्