ओमिक्रोन भेरियन्टले छताछुल्ल पारेको नश्लभेद

द्रुत गतिमा नयाँ भेरियन्ट पत्ता लगाएर उत्साह एवं साहससाथ त्यसबारे विश्वलाई तुरुन्तै जानकारी गराउने कामका कारण विकसित मुलुक दक्षिण अफ्रिकी वैज्ञानिक टोलीलाई ‘दण्ड’ दिइरहेका छन्

गत साता कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाउने दक्षिण अफ्रिकी वैज्ञानिक टोलीका अगुवा वैज्ञानिक टुलियो डी ओलिभिएरा निकै तनावमा थिए। उनीसँग नयाँ भेरियन्टका संक्रमित मामिला (पोजेटिभ) पत्ता लगाउन आवश्यक रिएजेन्ट तीव्र रूपमा कम हुँदै गइरहेको थियो। आफ्नो मुलुकमा नयाँ भेरियन्ट फैलिने डरले दक्षिण अफ्रिकी देशहरूमा लगाइएका धेरै पश्चिमी सरकारको यात्रा प्रतिबन्धका कारण डी ओलिभिएरालाई आवश्यक पर्ने उपकरण एवं रसायनको हाहाकार मच्चिँदै छ। वैज्ञानिकको यस टोलीले विश्वलाई महत्वपूर्ण जिनोमिक निगरानी तथ्यांक प्रदान गर्दै आइरहेको थियो, तर अहिले उनीहरूका हात बाँधिएका छन्। द्रुत गतिमा नयाँ भेरियन्ट पत्ता लगाएर उत्साह एवं साहससाथ त्यसबारे विश्वलाई तुरुन्तै जानकारी गराउने कामका कारण विकसित मुलुक यो वैज्ञानिक टोलीलाई दण्ड दिइरहेका छन्।

अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, नेदरल्यान्ड, बेल्जियम, नर्वे र अन्य ओमिक्रोन पहिचान गरिएका धनी राष्ट्रले एक–अर्कामाथि कुनै किसिमको यात्रा प्रतिबन्ध लगाएका छैनन्। उल्लिखित केही मुलुकमा देखिएको ओमिक्रोन संक्रमण अफ्रिकासँग सम्बन्धित पनि छैनन्। तर, अफ्रिकाले मात्र यात्रा प्रतिबन्धको सामना गरिरहेको छ। दक्षिण अफ्रिका सरकार, वैज्ञानिक एवं विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जस्ता अन्तर्राष्ट्रिय संस्थाले भेदभावपूर्ण यात्रा प्रतिबन्ध नश्लभेदी, अवैज्ञानिक एवं प्रत्युत्पादक छ भन्ने बताउँदासमेत कुनै पनि उच्च आय भएका मुलुकले प्रतिबन्ध फुकुवा गरेका छैनन्।

यति मात्रै होइन, दक्षिण अफ्रिकाका वैज्ञानिकलाई नै चकित बनाउने गरी क्यानडालगायत सरकारहरूले दक्षिण अफ्रिकाको कोभिड परीक्षणमा विश्वास नगर्ने बताएका छन्। विशेष छुटबाहेक क्यानडा सरकारले तेस्रो मुलुकबाट कोभिड–१९ मलिक्युलर टेस्ट गरेकाले मात्रै क्यानडा फर्किन पाउने उर्दी जारी गरेको छ। विडम्बना, दक्षिण अफ्रिकामा हुने मलिक्युलर वा पिसिआर टेस्ट संसारकै उत्कृष्टमध्ये एकमा मानिन्छ, जुन सम्भवतः क्यानडाभन्दा पनि गुणस्तरीय छ। दक्षिण अफ्रिकाले एचआइभीको उच्च खतराका कारण असाधारण पूर्वाधार विकास गरेको छ।

प्रकाशित मिति: : 2021-12-10 10:59:00

प्रतिकृया दिनुहोस्