नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र प्रवासमा जन्मिएको पार्टी हो। मानिस स्वदेशबाट विस्थापित भएर प्रवासमा पुगेका हुन्। राणा शासनको बेला सुरक्षाको दृष्टिकोणले आफूसँगै परिवार पनि विस्थापित हुनुपर्ने अवस्था थियो। एउटा मानिस विद्रोही भएर राणा शासन विरोधी भयो भने उसको दरसन्तानलाई नै दुःख दिने पहिलादेखिकै चलन हो। यसरी परिवार सहित विस्थापित भएकोले प्रवासमा संगठन निर्माण हुँदा महिला पनि संगठित हुनुपर्छ भन्ने आवाज उठ्न थाल्यो।
लोकतन्त्रको कुरा गर्दा राजनीतिमा एउटा लिङ्ग मात्रै समाहित भएर राजनीतिक परिवर्तन सहज हुँदैन। त्यतिबेला अहिले जस्तो धेरै लिङ्ग भन्दा पनि केवल महिला र पुरुषको मात्रै कुरा गरिन्थ्यो। यसमा एउटा पक्ष मात्र अघि सरेर अर्को पक्षलाई पछि पार्दा परिवर्तन असाध्यै ढिला हुन्छ भन्ने महसूस हुनु राम्रो कुरा हो । अर्को कुरा- महिलालाई पनि ल्याउने भन्दा को महिलालाई ल्याउने भन्ने कुरा हुने भयो।
म कलेज पढ्नेताका मेरा दाइहरू चुनाव प्रचारप्रसारमा निस्कँदा समाजले भन्थ्यो- ‘आफ्ना छोरीबेटीलाई बाहिर निकाल्दैन, अरूलाई चुनाव प्रसारमा आउ भन्छ।’ कांग्रेस स्थापनाकालमा आफूलाई परिवर्तनगामी देखाउनका लागि पनि आफ्ना घरका महिलालाई बाहिर निकालेर संगठित गरिन्थ्यो। सुरक्षाको दृष्टिबाट पनि त्यो उत्तम अभ्यास थियो। किनकि त्यतिबेला महिलाहरू अरू पुरुषसँग सँगै संगठित भएर हिंड्न पनि त्यतिबेला सम्भव थिएन। आफ्नै परिवारका पुरुषसँग पार्टी काममा हिंड्दा सहज र सुरक्षित हुन्थ्यो। श्रीमानलाई आफ्नी श्रीमतीको बारेमा पनि बाह्र-सत्ताइस कुरा सुन्नु परेन।