अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

सेतोपाटी

काठमाडौँ

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।

पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैं दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।

प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन्। विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो। विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्‍याइरहेको छ। प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ। यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।

प्रकाशित मिति: : 2021-12-08 11:06:00

प्रतिकृया दिनुहोस्