एमाले पथमा माओवादी केन्द्र

नागरिक दैनिक

टपेन्द्र कार्की

नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो।

माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ।

त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ। विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनामा जानेछ।

केन्द्रीय र प्रदेश संरचनाअन्र्तगत कतिजना उपाध्यक्ष हुने,उपमहासचिव कतिजना हुने र सचिव कतिजना रहने भन्ने निक्र्योल गर्न स्थायी कमिटी सदस्य देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको छ। जसमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव सदस्य रहेका छन्। उनीहरूको सिफारिसका आधारमा प्रदेश र केन्द्रीय संरचना बन्ने भएको छ।

नेकपा एमाले आठौं महाधिवेशनपछि बहुपदमा गएको थियो। अहिले माओवादी सोही बाटोमा उन्मुख भएको छ। २०७५ जेठ ३ गते एमाले–माओवादी एकीकरणपछि एमालेकै संरचनाको संगठन बनेको थियो। एमालेको दसौं महाधिवेशनपछि पनि त्यही कायम रहेको छ।

२०७७ साल फागुन २३ पछि एमाले र माओवादी छुट्टिएपछि माओवादीले २०७८ साउन ३१ गते पुरानो विधान संशोधन गर्दै बहुपदीय संरचना तय गरेको हो। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन।

प्रकाशित मिति: : 2021-12-06 09:06:00

प्रतिकृया दिनुहोस्