‘किरात’, ‘मगरात’, ‘खस’ जस्ता नेपालका ‘ऐतिहासिक राष्ट्रियता’ बुझाउने शब्दलाई हिजोआज ‘जातीय’ भन्ने/ठान्नेहरूको कुनै कमी हुँदैन। विशेषतः शाह राजवंशमा आस्था राख्ने राजतन्त्रवादी र ‘पहिचान आधारित संघवाद’ अस्वीकार गर्ने कांग्रेस/कम्युनिष्ट यसो भन्न बढी रुचाउँछन्। तर, यस्ता शब्द हाम्रो इतिहास र संस्कृतिमा यसरी गडेर बसेका छन्, जसलाई कसैले बेवास्ता गर्न सक्दैन।
गज्जब रमाइलो कुरा त के छ भने– स्वयम् पृथ्वीनारायण शाहले यस्ता शब्द प्रयोग गर्थे। इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ नाम दिइएको पुस्तिकामा शाह आफैंले कतै ‘नौलखा किरात’, कतै ‘पूर्व र पश्चिमका षसबाहुनलाई दरबारमा पैठ गर्न नदिनू’, कतै ‘मगरातको राजा मै हुँ’ भनेको पाइन्छ।
बाबुराम आचार्य र योगी नरहरिनाथले ‘दिव्योपदेश’ सम्पादन गर्ने क्रममा लेखेको सम्पादकीय भूमिका र पाद टिप्पणीमा समेत यस्ता शब्द सकारात्मक अर्थमा प्रयुक्त छन्। उनीहरूले ‘ओल्लो किरात’ ‘किरात प्रदेश’, ‘खुम्बु क्षेत्र’, ‘पल्लो किरात लिम्बुवान’ जस्ता संज्ञा सहज र स्वाभाविक भावमा लेखेका थिए । धेरैअघिको कुरा हैन, ‘दिव्योपदेश’ को सम्पादन २००९ सालमा भएको मानिन्छ।