एमाले महाधिवेशन हिजोकै नेकपाको निरन्तरता हो : रामबहादुर थापा ‘बादल’ (भिडियोसहित)

कमल प्रभात

काठमाडौं

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चितवनको सौराहामा सम्पन्न एमालेको दशाैँ महाधिवेशन विगतकाे एमाले र माओवादी मिलेर बनेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताकै निरन्तरता भएको बताएका छन्।

सौराहामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका बादलले शुक्रबार पार्टी कार्यालय थापाथलीमा पुगेर पदबाहाली गर्दै यस्तो बताएका हुन्।

‘यो पदाधिकारी र केन्द्रीय समितिमा हिजो माओवादीमा रहेका नेताहरु हुनुहुन्छ, तलदेखिकै समितिहरुमा हिजोका माओवादीका नेताहरु नै हुनुहुन्छ,’ बादलले भने, ‘त्यसकारण यो हिजोकै नेकपाको निरन्तरता हो भन्ने महाधिवेशनको निष्कर्ष छ। कानूनी हिसाबकिताबले यो एमाले भएपनि राजनीतिक हिसाबले यो हिजोकै नेकपाको निरन्तरता हो।’

‘यो महाधिवेशन पनि एकताको महाधिवेशन हो। राजनीतिक हिसाबकिताबले नेकपाले हिजो समाजवादको आधार निर्माण गर्ने भन्ने निर्णय गरेको थियो,’ बादलले भने, ‘अबको एमालले पनि समाजवादको निर्माण गर्ने कामलाई अघि बढाउने छ।’

त्यस्तै, उनले आफू एमालेको नयाँ जिम्मेवारीमा आएसँगै पार्टीलाई थप नयाँ उचाईमा पुर्‍याउन संगठित र एकताबद्ध गर्ने काममा लाग्ने बताएका छन्।

‘पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। तर, पनि पार्टीको पुनर्गठन र एकीकरणको काम अझै बाँकी छ। अबको हाम्रो काम भनेको जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने हो,’ उनले भने, ‘त्यसको लागि २५ गते केन्द्रीय कमिटी बैठक बसेर अधिवेशनबारे निर्णय गर्नेर्छाैँ।’

उक्त बैठकले स्थायी कमिटी र पोलिटव्यूरोको पनि चयन गर्नुका साथै आउँदो स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नेबारे निर्णय गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-12-03 17:56:00

प्रतिकृया दिनुहोस्