विद्यार्थी कुटपिटको घटना सामसुम पार्दै सुनगाभा स्कुल, कुट्ने शिक्षक रातारात बेपत्ता 

प्रहरी भन्छः  उजुरी परे कारवाही गर्छौँ 

मदन नेपाली

बिर्तामोड

होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना परिवारलाई दबाब दिएर सामसुम पारिएको छ।

निर्घात कुटपिट गर्दा समेत शिक्षकविरुद्ध परिवारले प्रहरीमा उजुरी गरेको छैन। होमवर्क नगरेको निहुँमा कक्षा–३ का ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक विकास पोखरेलले निलडाम बस्ने गरी कुटपिट गरेका छन्।


सुनगाभा स्कुलका शिक्षकले विद्यार्थीमाथि गरे निर्घात कुटपिट 

बिर्तामोड–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गर्दा समेत परिवारले उजुरी नगर्दा प्रहरीले पक्राउ गर्न सकेको छैन। विद्यालयको सेटिङमा विद्यार्थीलाई अन्धाधुन्ध कुट्ने शिक्षकलाई रातारात भगाइएको छ।

सो घटनालाई विद्यालयकै दबाबमा सामसुम पारिएको बुझिएको छ। वडा प्रतिनिधि, बिर्तामोड बसपार्कका प्रहरी इञ्चार्ज, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ। तर त्यहा विद्यार्थी कुट्ने शिक्षक उपस्थित थिएनन्।

बाँसको लट्ठीले निर्घात कुटिएका विद्यार्थीको तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको छ। विद्यार्थीको आमा अञ्जनाले बालबालिकालाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग राखिन्।

विद्यालयले परिवार दबाब दिएपछि शान्ति सुरक्षाको डरले उजुरी नदिएको अञ्जनाले बताइन्। ‘हामी सामान्य परिवारको मान्छे, यसका बुवा पनि विदेशमा हुनुहुन्छ', उनले भनिन्, सबैतिरको चटरले म पागल झैँ हुन लागिसकेँ। चिन्ताले खाना समेत खाएको छैन।’

‘सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको पीडित विद्यार्थी तिम्सिनाले बताए। उनका अनुसार सरले छडीले खुट्टा, ढाड र गालामा एक सय पटक कुटेका छन्। सरको कुटाइबाट खुट्टामा नीलडाम बनेको र असाध्यै दुखिरहेको उनले बताए। विद्यालयमा सरको कुटाई खेप्नै नसकेको उनको भनाई छ।

विद्यार्थी तिम्सिनालाई शिक्षक पोखरेले कुटपिट गरेको घटना अभिभावकले थाहा पाएपछि अभिभावकसहित स्थानीयवासी बिहीबार विद्यालय पुगेका थिए। अभिभावकसहित स्थानीय विद्यालय पुग्नु अघि नै विद्यालयले शिक्षकलाई त्यहाँबाट भगाइसकेको स्थानीय बताउँछन्।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकले माफी माग्नु पर्ने र त्यसपछि मात्र कानुनी कारवाही अघि बढाउने उनीहरूको भनाई छ। छोरालाई शिक्षकले खुट्टामा कुटेको दृश्य हेर्न नसकेको उनका आमा अञ्जना तिम्सिनाको भनाइ छ।

'यस विद्यालयप्रति मलाई धेरै विश्वास थियो, तर त्यो विश्वास अब रहेन', उनले भनिन्, 'शिक्षकले छोरालाई कुटपिट गरेको कुरा थाहा थिएन, ३ बजे विद्यालयबाट फोन आएपछि म त्यहाँ पुगेँ, छोराको खुट्टामा नीलडाम हेरेपछि मैले त्यहाँ केही बोल्नै सकिनँ।'

'विद्यालयमा शिक्षकले कसरी पढाइरहेको छ। मेरो नानीले गृहकार्य गरेको छैन वा केही जान्दैन। पढाइमा कमजोर छ भनी विद्यालयले खबर गर्नु पर्दैन ? पढेको कुरा नजान्दा त्यसरी विद्यार्थीलाई कुटपिट गर्ने पाउँछ?', उनले भनिन्।

यता विद्यालयले घटना मिलाउन कोठे सहमति गरेका थिए। विद्यालयले पीडित विद्यार्थीको अभिभावक र कुटपिट गर्ने शिक्षकलाई उपस्थित नगराई जनप्रतिनिधि राखेर कोठे सहमति गरेको बताइएको छ। सो सहमति मान्य नहुने भन्दै अभिभावक र स्थानीयले त्यसको विरोध गरेका छन्।

यता विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयमा उपस्थित सञ्चारकर्मीलाई धम्की शैलीमा भिडियो तथा फोटो नखिच्न आग्रह गरेका थिए।

उनले शिक्षकले गरेको गल्तीले विद्यालयको बदनाम हुने भएकोले न्युज नलेख्न समेत चेतावनी दिए। यता, प्रधानाध्यापक श्रेष्ठले नै शिक्षकलाई संरक्षण गर्न खोजेको अभिभावकहरूले आरोप समेत लगाउँदै आएका छन्।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सानुराम भट्टराईले अहिलेसम्म शिक्षकलाई कारवाही गरी पाउँ भनेर कतै उजुरी नपरेको जानकारी दिए।

उनका अनुसार उजुरी पर्ने बित्तिकै पक्राउ गरी कारवाही गरिनेछ। 'घटनाको सम्बन्धमा प्रहरीको ध्यानाकर्षण भएको छ', प्रमुख भट्टराईले भने, 'पीडित पक्षले तत्काल उजुरी गरोस्। हामी कारवाही गर्छौं।'

प्रकाशित मिति: : 2021-12-03 18:10:00

प्रतिकृया दिनुहोस्