३९ वर्षीय केशबहादुर पुन मगरको घर लेकमा छ। लेक भन्नाले उचो ठाउँ अर्थात् माथिल्लो भू–भाग। त्यहि माथिल्लो भू–भागमा छ केशबहादुरको घर। घर लेकमा मात्र होइन गाउँको नाम पनि ‘लेक’ नै हो।
हुन त उनको घर दाङको घोराही उपमहानगरभित्र पर्छ। घोराहीको विकट वडा १९ नं. वडा। जहाँ थोरै बस्ती। उज्यालो ठाउँ। घरबाट पूर्वमा धौलागरीलगायतको हिमाल देखिन्छ। अनि फाँटमा घोराहीको रंगीचंगी बजार पनि।
वारिपारी जंगल, साथमा गाउँका बस्तीहरु देखिन्छ। यस्तो बस्तीमा बसेका केशबहादुरका भने आफ्नै दुःख छन्। तर, दुःखलाई दुःख जस्तो सम्झिएका छैनन् केशबहादुरले।
उनको गाउँ उपमहानगर त हो। तर, गाउँका नागरिक उपमहानरको सेवा सुविधान पाउन सकेका छैनन्। खाने पानीको जोहो गर्न समेत एक घण्टाको दुरी पार गर्नुपर्छ लेक गाउँका नागरिकले। साथमा गाउँमा विद्युत पनि छैन। सडकको नाममा भर्खरै ट्रयाक पुगेको छ।
हिंडेरै जाने हो भने पनि दाङको सदुमुकाम घोराहीदेखि एक दिनको बाटो छैन। तर, केशबहादुर र उनका गाउँका नागरिकले अनेकन समस्याहरु झेल्नु परेको छ। यस्ता समस्याका बीचमा पनि केशबहादुर भने दुःख मनाउ गर्दैनन्।
गाउँमा खाने पानी त छैन उनी भने तरकारी फलाउँछन्। सामान्य, थोरै जमिनमा होइन तरकारी फलाउने केशबहादुरले। उनले अहिलेको सिजनमा एक बिघा जमिनमा तरकारी फलाएका छन्।
भिराइलो जमिन भएपनि उनले गह्रा (साना–साना जमिन) बनाएर खेती गरेका छन्। उनको बारीमा अहिले टमाटर, सेमी, खुर्सानी फलेका छन्। बारीमा फलेका टमाटर र सेमी बेच्ने भएका छन्।
पानीको अभाव झेल्दा–झेल्दै पनि वर्षाको समयमा खेती गरेर केशबहादुरले राम्रो आम्दानी गर्दै आएका छन्। पानी छैन तर कसरी सम्भव भयो तरकारी खेती भन्ने प्रश्नमा उनले भने, ‘वर्षामा पानी हुने समयमा खेती गरिन्छ। पानी सुक्ने समयमा फलिसक्छ। त्यसपछि बेच्ने भइहाल्छ।’
यसरी तरकारी खेती गरेर नै केशबहादुरको ६ जनाको परिवारको दैनिकी चल्दै आएको छ। तीन जना छोराछोरीको पढाई खर्चदेखि घर खर्चसम्म यहि तरकारी खेतीबाटै चलेको उनले बताए। साथै वर्षमा डेढ दुई लाख रुपैयाँ बचाउने पनि उनले जानकारी दिए।
दुःखका १० वर्ष कोइला खानीमा विताए केशबहादुर
केशबहादुर आजभन्दा ६ वर्ष पहिले १९ नं. वडामा रहेको एक कोइला खानीमा काम गर्थे। जहाँ उनको दुःखको दैनिकी १० वर्ष बित्यो। वर्षमा ६ महिना मात्र कोइला खानीमा काम हुने भएपनि आम्दानी भने ठिकै हुने गरेको उनले बताए।
‘महिनामा ३०/३५ हजार रुपैयाँ कोइला खानीमा कमाउन सकिन्थ्यो, तर दुःख थियो।’ उनले भने। कोइला खानीको दुःख सम्झेर पनि आफ्नै गाउँमा जसतसो तरकारी खेति गर्ने आँट गरेको उनले बताए।
अहिले तरकारी खेतीबाट आम्दानीसँगै सुन्तुष्ट मिलेको केशबहादुरको भनाई छ। उनका अनुसार आकाशे पानीको भरमा तरकारी खेती भएको हुँदा मौसमले साथ दिएमा धेरै आम्दानी हुने गरेको छ। कुनै समय घाटा लागेको क्षण पनि रहेको उनले बताए।
तर, घाटा लागेपछि घरमै आफ्नो मनमर्जी काम भएको हुँदा तरकारी खेतीमै अबको दिन बिताउने योजना रहेको उनले बताए। ‘कहिले घाटा पनि हुन्छ। सधैं नाफा मात्र भन्ने छैन,’ केशबहादुर भन्छन्, ‘तर आफ्नो काम हो। आफूले इच्छाएको समयमा गर्न पाइन्छ। यसमै खुशी मिल्छ।’ ‘अरुको काम गर्न त उनीहरुले भनेको समयमा गर्नै पर्यो नि,’ उनले अगाडि भने।
विदेश जान पासपोर्ट बनाए तर गएनन्
कोइला खानीमा काम गर्दै गर्दा त्यहाँको दुःखले विदेश जाने सोच पनि बनाएको केशबहादुरले बताए। ‘खानीमा सुरुङ भित्रबाट हो काइला निकाल्ने। घाम देख्नु छैन। चिसो त्यस्तै। उज्याले पनि हुँदैन। आफै बत्ति बालेर कोइला निकाल्ने हो त्यहाँ।’ कोइला खानीको दुःख सुनाउँदै उनले भने।
आफूहरु भएको ठाउँमा कोइला खानीमा कसैको ज्यान नगएपनि अन्य ठाउँमा काइला निकाल्दा ज्यान नै जाने गरेको उनले बताए। त्यहि दुःख सम्झेर पासपोर्ट बनाएको बताउँदै केशबहादुरले पछि विदेश जान मन नलागेको सुनाए।
‘विदेश जाने भनेर पनि पासपोर्ट बनाएको मैले,’ उनले भने,‘तर पछि मलेसियामा साथीहरुले कम्पनी बन्द भएर दुःख पाएको देखे अनि जान मन लागेन। गइएन।’ उनले अन्य साथीहरुलाई विदेश जानु भन्दा आफ्नै ठाउँमा केही गर्न आग्रह पनि गर्छन। ‘विदेश गए पनि दुःख गर्नै पर्ने हो,’ उनले भने, ‘किन जाने। मत अरुलाई पनि नजानुस् भन्छु।’
थप तरकारी खेती विस्तारमा केशबहादुर
व्यवसायिक रुपमा ६ वर्षजति तरकारी खेतीमा बिताएका केशबहादुर अब अन्य काम नसोचेको बताउँछन्। बरु थप तरकारी खेती विस्तार गर्न लागेको जानकारी दिँदै उनले तरकारी खेतीबाटै केही गर्ने योजना रहेको बताए। अहिले पानीको अभावले मौसमी तरकारी खेती गरेका उनले अब भने बेमैसमी तरकारी खेती गर्ने पनि बताए।
उनले पानीको अभावले धेरै आम्दानी गर्न नसको र अब पानी हुने ठाउँमा आफ्नै जग्गासँगै अरुको जग्गा ठेक्का लिएर तरकारी खेती गर्ने तयारी भएको जानकारी दिए।
थप तरकारी खेतीका लागि बाँस काट्दै गरेको केशबहादुरले अब १९ नं. वडाको तलको फाँट दुई खोलीस्थित थप एक बिघाहा खेतमा खेतीको तयारी भएको बताए।
दुई खोली अहिले पनि उनीहरुले माथि (लेक)बाट तरकारी बोकेर ल्याउने ठाउँ हो। पानीसँगै यातायातको सहजताका लागि दुई खोलीमा तरकारी खेतीको योजना भएको उनको भनाई छ।
लेकमा भर्खर मात्र सडक पुगेको हुँदा भरपर्दो छैन। वर्षामा उक्त सडक भत्किएर आवतजावतमा समस्या हुने गर्छ। आजभोलि पनि केशबहादुरले तरकारी डोकोमा बकेर दुई खोली ल्याएर गाडीमा घोराहीसम्म ल्याउनु पर्ने समस्या छ।