थारु समुदायमा शुद्धको प्रतिक मानिन्छ–काँसबाट बनाइएका भाँडा।
काँसबाट बनाइएका अत्यन्त कलात्मक रङ्गिन ‘ढाकी’। हेर्दै आकर्षित बनाउने। त्यसमा झुम्मिएको मानिसको भीड।
कोहीे ‘ढाकी’ देखाउँदै सोध्दै थिए, ‘कति पर्छ यसको दाम ?’ अनि स्टलका मालिक दाङ, देउखुरीबाट आएका राजेन्द्र चौधरी भन्दै थिए, ‘यो टोकरी होइन हजुर, ढाकी हो। यसको मूल्य ४५० हो।’
हायात होटल रिजेन्सीमा ‘हस्तकला प्रतियागिता तथा १६ औँ हस्तकला प्रतिस्पर्धा’ चलिरहेको थियो। त्यहीँ प्रतियोगितामा सहभागी हुन उनी देउखुरीदेखि आएका थिए।
राजेन्द्र ‘फेयर ट्रेड ग्रुप नेपाल’ संस्थाका कर्मचारी हुन्। उक्त संस्थाले थारु महिलालाई विभिन्न कामहरुको तालिम दिने गर्छ।
कामबिहीन भएका महिलालाई रोजगार दिनु नै संस्थाको मुख्य उद्देश्य हो। संस्थाले थारु समुदायका विवाहित, अविवाहित, शिक्षित तथा अशिक्षित सबै खाले महिलालाई तालिम दिने गरेको उनले बताए।
उनले भने, ‘संस्थाले गत असारदेखि महिलालाई कृषि तालिम, ढाकी–टोकरी बनाउने जस्ता सीपमूलक तालिम दिन थालेको हो।’
उक्त संस्थाले महिलालाई तालिम मात्र दिँदैन, सीप सिकेपछि उनीहरुले बनाएका ‘हस्तकला’ बेचिदिनेसमेत गरेको उनले बताए।
‘हामीले तालिमका साथै तालिमपछि बनाएका सामानलाई बेचिदिने गर्छौं। अनि उहाँहरुको पारिश्रामिक उहाँहरुलाई नै दिने गछौँ। यसो गर्नाले दिदी–बहिनीहरुमा काम गर्ने जोश थप बढ्दै जान्छ’, उनले बिएल नेपाली सेवासँग भने।
आफ्नो संस्थाले तालिम दिएर उद्यमी बनाएका महिलाको उत्पादनलाई बढाउनु नै संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए। त्यसैले हस्तकला प्रदर्शनीका लागि उनीलगायत उनका महिला समूह काठमाडौं आएका थिए।
उनीहरुले काँसबाट बनेका टिफिन, फुलदानी, ढकिया, खुत्रुके, नाङ्लो, लगायतका भाँडाहरु प्रदर्शनीमा राखेका थिए। जसको मूल्य चार सयदेखि नौसयसम्म लेखिएको थियो।
थारु समुदायमा शुद्धको प्रतिक मानिन्छ–काँसबाट बनाइएका भाँडा। त्यसैले चाडपर्वमा यस्ता सामान चाहिने गरेको दाङ, देउखुरी राप्ती गाउँपालिका वडा नम्बर–४ की सिन्धुदेवी चौधरीले बताइन्। उनी असार महिनादेखि नै संस्थामा आबद्ध छिन्।
‘काँस र बाँसबाट बनेका भाँडाहरु चोखो मानिने भएकाले पूजाआजा गर्नका लागि मानिसले यसलाई किन्ने गर्छन्’, उनले भनिन्, ‘नेपालीले मात्र होइन विदेशीले पनि यस्ता सामान लिन्ने गर्छन्।’
पुस्तौँदेखि चलिआएको टोकरी बनाउने सीपलाई आफूले सिक्न पाउँदा खुशी लागेको उनले बताइन्। ‘आफूभन्दा ठूलाहरुले रङ्गिएको भाँडा बनाउदा निक्कै रमाइलो लाग्थ्यो, हेरिरहुँजस्तो लाग्थ्यो’, उनले विगतका कुरालाई स्मरण गर्दै भनिन्, ‘मलाई पनि बनाएझैँ लाग्थ्यो। तर के गर्नु हात सीप नै थिएन।’
सानु छँदा आफूले गर्न चाहेको काम ‘स्वच्छ व्यवसायी’ संस्थाका कारण पूरा भएको उनले बताइन्। ‘तालिम लिएर काम गर्दा परिवारमा सहज भएको’ भन्दै उनले भनिन्, ‘नूनतेल र छोराछोरीलाई खाजा खर्च मैले पुुर्याएको छु। म यसैमा नै खुशी छु।’
काम सिकेर दुई–चार पैसा कमाएकी उनी खुशी हुँदै सबै थारू समुदायका महिलालाई पेशामा सामेल हुन र आत्मनिर्भर बन्न आग्रह गर्छिन्।