नारायणी नदी किनारमा दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम सकिएकै दिन शुक्रबार राति अबेर सौराहामा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्यो । आधा रातमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूको सङ्ख्या थप्ने गरी विधान संशोधन गर्ने प्रस्ताव बैठकमा राखेपछि हलबाट गोकुल बास्कोटाले अध्यक्षको प्रस्तावमाथि प्रश्न उठाए ।
‘गोदावरीको विधान महाधिवेशनमा विधान बनाउने नेतृत्व तपाईंहरु नै हुनुहुन्थ्यो, यही केन्द्रीय कमिटी हो । त्यसयता परिस्थितिमा के फेरबदल आयो र अहिले विधान संशोधन गर्नुपर्यो ?’ केन्द्रीय सदस्य बास्कोटाले अध्यक्ष ओलीलाई प्रश्न गरे, ‘यी पदहरू थप्नुपर्ने कारण के हो ? मान्छेको अनुहार हेर्दै पद थपेर कसरी असन्तुष्टिको समाधान हुन्छ ?’
बास्कोटाको प्रश्नको जवाफमा ओलीले बैठकमा भने, ‘कमरेड गोकुल बास्कोटालाई बताउनैपर्ने भो । गोकुल बास्कोटाले सुन्ने गरी भन्छु, परिस्थितिमा काफी फेरबदल आयो । नारायणीको किनारमा त्यत्रो मान्छे उपस्थित भए । पुलिसले भनेको ७ लाख, केही मिडियाका मान्छेले मलाई सुनाए ८ लाख, स्थानीयको अनुमान छ १० लाख । यत्रो उत्साह आएपछि परिस्थितिमा फेरबदल आएन ?’