नेपाल–अंग्रेज युद्धका वेला गोर्खाली फौजको नेतृत्व गरेर पश्चिमी क्षेत्रमा अंग्रेजसँग लडिरहेका अमरसिंह थापा र जनरल डेबिट अक्टरलोनीबीच १५ मे १८१५ मा एउटा सम्झौता भयो। दुवै सेना कमान्डरबीच भएको सम्झौतापत्रमा हस्ताक्षर हुँदा त्यस पत्रको पाँचौँ बुँदामा अंग्रेजले आफ्नो सेनामा गोर्खालीलाई भर्ती गर्न सक्ने व्यवस्था उल्लेख थियो। लगत्तै भगौडा गोर्खाली सेनालाई समेटेर अंग्रेजले सिरमोर, नुसिरी, मलाउ र कुमाउ बटालियन बनायो। यसरी सुरु भएको भर्ती राणाकालीन समयमा आउँदा उत्कर्षमा पुग्यो। राणाकालमा इस्तिहार जारी गरेर नेपाली युवालाई गाउँगाउँबाट जम्मा गरी भर्ती पठाइयो । राणाकालअघि गोर्खा भर्ती गर्न इस्तिहार जारी गरेको पाइँदैन। राणाकालमा किन इस्तिहार जारी गरेरै भर्ती पठाइयो होला ? यसको उत्तर खोज्न यो आलेख लेखिएको छ।
सुगौली सन्धिपछि अंग्रेजले नेपाल दरबारसँग वैधानिक रूपमा गोर्खा भर्तीको प्रस्ताव राखे पनि सफल भएन। त्यसैले अंग्रेजका एजेन्टहरू लुकीलुकी नेपाल छिर्थे र नेपाली युवालाई फकाएर भर्ती गर्न लैजान्थे । सन् १८७७ मा जंगबहादुरको मृत्युपछि रणोद्दीप सिंह सत्तामा आए। ब्रिटिसको दबाबका कारण रणोद्दीपले अंग्रेज सेनामा भर्ती हुन इच्छुक नेपाली युवालाई अनुमति दिन मञ्जुर गरे (पुरुषोत्तम बाँस्कोटा, (सन् १९९४) द गोर्खा कनेक्सन अ हिस्टोरी अफ गोर्खा रिक्रुटमेन्ट इन द ब्रिटिस आर्मी, न्यु दिल्ली : निराला पब्लिकेसन्स, पृष्ठ ६३)। रणोद्दीपले अंग्रेज सेनामा भर्ती जाने नेपालीलाई कुनै रोकतोक नभएको इस्तिहार जारी गरे।
सत्ता बलियो बनाउने कूटनीतिको लोभमा उनले नेपाली युवालाई भर्ती लैजान अनुमति दिए । सरकारका तर्फबाट वैधानिक रूपमा अंग्रेजलाई नेपाली युवा भर्ती गर्न दिएको यो नै पहिलोपटक हो। अंग्रेज कार्यवाहक राजदूत इम्फेबाट ठूलो दबाब भएका कारण रणोद्दीपले अंग्रेज सेनामा स्वेच्छाले जानेलाई रोकतोक नगर्ने निश्चय गरी विभिन्न जिल्लाका बडाहाकिमहरूलाई तदअनुरूपको निर्देशन जारी गरे (सुरेन्द्र केसी– सन् २००५),गोर्खा भर्ती कथा, व्यथा र आन्दोलन, ताप्लेजुङः सविता प्रकाशन, पृष्ठ ७०)। त्यसपछि धनकुटा, इलाम र काठमाडौंमा समेत युवाहरू बटुलियो। तत्कालीन समयमा गोर्खा भर्ती गर्न सरकारका तर्फबाट जारी गरिएका विभिन्न सूचनालाई इस्तिहार, सनद भनिन्थ्यो। रणोद्दीपपछिका शासक वीरशमशेर, चन्द्रशमशेरले गोर्खा भर्तीबारे पटक–पटक इस्तिहार जारी गरे। राणाकालीन समयमा नेपाली युवालाई अंग्रेज सेनामा भर्ती पठाउन जिम्मुवाल, मुखिया, तालुकदार, सुब्बा, पगरीमार्फत गाउँगाउँमा इस्तिहार र सदन पठाइएको थियो।