आम शोषित–पीडित जनता कम्युनिस्टहरूप्रति अझै आशावान् छन्, आवश्यकता छ त केवल उच्च नैतिक बल, कम्युनिस्ट चरित्र र राजनीतिक इमानदारिताका आधारमा स्पष्ट कार्यक्रम र दिशासहित संगठित हुने
‘बन्दुकको नालबाट’ होइन, मतपत्रका माध्यमबाट पूर्ण सत्ता प्राप्त गरी विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ पहिचान स्थापित गर्न पुगेको नेपालको कम्युनिस्ट आन्दोलन, सत्ताधारी कम्युनिस्ट पार्टीको नेतृत्व वर्गको सैद्धान्तिक दिवालियापन, नैतिक पतन, व्यक्तिगत अहंकार र भ्रष्ट चरित्रका परिणामस्वरूप सत्ताच्युत मात्र होइन, विखराव र पतनको अवस्थामा पुगेको दु:खद अवस्था छ, अहिले।
झन्डै ६ दशक बितेछन्, कम्युनिस्ट राजनीतिमा। यस दौरान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँगको सान्निध्यमा विभिन्न आन्दोलन तथा मञ्चहरूमा सहभागिताका सुअवसर प्राप्त पनि भए। धेरै उतारचढाव देखियो। साम्राज्यवादीहरूको प्रत्यक्ष/परोक्ष प्रहारबाट कम्युनिस्ट सत्ताहरूको दु:खद अन्त्य देखियो, पढियो। तर, सत्ताको उत्कर्षमा पुगेको पार्टीको सैद्धान्तिक होइन, नितान्त व्यक्तिगत महत्वाकांक्षा र स्वार्थको टकरावका कारण पतन भएको यो पहिलो अनुभव रह्यो। मार्क्सका कुनै पनि अनुयायीको मनमा यो अवस्थामा यो देशमा कम्युनिस्ट आन्दोलनको भविष्य के भन्ने प्रश्न र चिन्ता स्वाभाविक हो।
विश्व कम्युनिस्ट आन्दोलनका विभिन्न उतारचढावको अनुभव र सोभियत संघ विघटनपछिको अवस्थामा हामीजस्ता तेस्रो मुलुकका कम्युनिस्ट पार्टीहरूले मार्क्सवाद–लेनिनवाद तथा वैज्ञानिक समाजवादी लक्ष्यप्रति समर्पित रहेर त्यसको प्राप्तिका लागि पार्टी परिचालन, जनाधारको निर्माण, तात्कालिक कार्य र कार्यदिशालाई नयाँ किसिमले परिभाषित गरी तदनुरूप काम गर्नुपर्छ भनी अनेकौँ लेख रचना तथा राजनीतिक मञ्चहरूबाट आफ्नो धारणा व्यक्त गर्दै आएको छु। यस सन्दर्भमा हामीले हाम्रो विशिष्ट भौगोलिक एवं आर्थिक–सामाजिक अवस्थालाई मध्यनजर नगरी हुँदैन। यी विषयबारे आफ्ना अनुभव र अवधारणा प्रकाशोन्मुख पुस्तक ‘मार्क्स, मार्क्सवाद, अन्तर्राष्ट्रिय तथा नेपालको कम्युनिस्ट आन्दोलन’मा विस्तारमा प्रस्तुत गरेको छु।