केको उम्मेदवारी फिर्ता, ओलीलाई हराएर देखाउँछु: भीम रावल (अन्तर्वार्ता)

शिलापत्र

केशवराज जोशी

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही १० मंसिरदेखि १२ सम्म चितवनमा हुँदैछ । दशबुँदे सहमतिबाट एमालेमै फर्किएका 'दश भाइ' को टोलीका अतिरिक्त माओवादी केन्द्रबाट आएका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण रहेको ट ।

अहिलेसम्म धेरै नेताहरूले मुखरित भएर आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छैनन् । पार्टी अध्यक्ष केपी ओलीले 'ग्रीन सिग्नल' देखाऊलान् कि भन्ने आशामा पदाधिकारीका आकांक्षीहरू आफ्नो उम्मेदवारीबारे मौन छन् । महाधिवेशनबाट केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरिएको थियो । तर, अध्यक्षमा हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरिसकाे छन् । र, सँगसँगै उम्मेदवारीबाट पछि नहट्ने बताइसकेका छन् । एमालेको दशौँ महाधिवेशन, अध्यक्षको उम्मेदवारी लगायतका विषयमा केन्द्रित रहेर भीम रावलसँग शिलापत्रका लागि केशवराज जोशीले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

अध्यक्षमा तपाईंको उम्मेदवारी चुनाव लड्नकै लागि हो कि रहर पूरा गर्न मात्रै ?

पत्रकार साथीहरूले मेरो उम्मेदवारीबारे यस्तो प्रश्न सोध्दा मलाई आश्चर्य लाग्छ । यो प्रश्न आउँदै गर्दा प्रश्नकर्ताले नेकपा एमालेमा मेरो योगदानको अध्ययन गर्नुभएको छैन कि जस्तो लाग्छ । म अहिले यो पार्टीको उपाध्यक्ष हो भन्ने कुरा बिर्सिनुभो कि जस्तो लाग्छ । अध्यक्षमा यो मेरो स्वाभाविक उम्मेदवारी हो । फिर्ता गर्न नभई विजय हासिल गर्न अध्यक्षमा मैले उम्मेदवारी दिएको हो ।

तपाईंको उम्मेदवारी बार्गेनिङका लागि त होइन नि ?

नेपालको राजनीतिमा थुप्रै किसिमका विकृति र विसंगतिहरू छन् । त्यसैले यस्तो आशंका हुनु स्वाभाविकै हो । कतिपय व्यक्तिहरू पदलाई मात्रै केन्द्रमा राखेर राजनीति गर्छन् । देशको हित, देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, नेपाली जनताका अधिकार, राष्ट्रका चुनौतीहरू, स्वतन्त्रता, सार्वभौम स्वायत्तताका आधारमा आफ्ना कुराहरू राख्नेजस्ता कुरालाई महत्त्व नदिई निर्वाचन, पद आफ्नो स्वार्थलाई मात्रै प्रधान ठान्ने संस्कृति भएकाले यस्ता आशंका हुनु स्वाभाविक हो । तर, मेरो हकमा त्यो लागू हुँदैन । विगतदेखि अहिलेसम्म मैले जे कुरा भनेको छु, त्यही गरेको छु । मैले जे कुरा गर्न खोजेको छु, त्यही कुरा बोलेको छु । त्यसकारण मैले दशौँ महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गर्दा त्यसका लक्ष्य, उद्देश्य , मान्यतासहित ठूलो जनमानसका सामु घोषणा गरेको छु । अझै कहीँकतै भ्रम छ भने पनि म मेरो उम्मेदवारी साँच्चैको उम्मेदवारी हो भनेर बुझिदिन सबैलाई अनुरोध गर्छु । 

प्रकाशित मिति: : 2021-11-24 20:16:00

प्रतिकृया दिनुहोस्