तपाईं कोही हुम्ला पुग्ने सौभाग्य पाउनुभएको छ र त्यहाँ पुगेपछि पछिल्लो पुस्ताका राजनीतिज्ञ को हो भनेर सोध्नुभयो भने अधिकांशले एकै व्यक्तिको नाम लिने छन्– दल रावल ।
समाजसेवामार्फत राजनीतिमा प्रवेश गरेका रावल कर्णालीको पनि विकट जिल्ला हुम्लाका पछिल्लो पुस्ताको एक जना समर्पित अगुवा हुन्। उनी त्यहाँको अशिक्षा र अविकासको निष्पट्ट 'अँध्यारोमा बलिरहेको एउटा दीप' हुन् भन्दा पनि अत्युक्ति हुँदैन।
विकट हुम्लाभित्रको पनि अर्को हुम्ला अर्थात् विकट गाउँ साँया जन्मिए। अहिले साँया गाविससमेत मिलाएर सर्केगाड गाँउपालिका बनाइएको छ। यही गाउँबाट सुरु भएको थियो– रावलको सामाजिक यात्रा।
जतिबेला रावलले हुम्लामा सामाजिक अभियान थाले, त्यस बेला–बेला हुम्लाको साँयाबाट काठमाडौं आइपुग्नु भनेको अहिले नेपालबाट एक जना आममान्छे अमेरिका जानुजत्तिकै संघर्षपूर्ण मानिन्थ्यो। अभाव छिचोल्दै पढ्नका लागि काठमाडौं हानिएका कैयौँ हुम्लीहरुमध्येका एक थिए– दल रावल।
२०४५ सालमा हुम्लाकै सर्केगाँडस्थित हिमज्योति माविबाट एसएलसी पास गरे– रावलले। उच्च शिक्षाका लागि काठमाडौं जाने सपनालाई विपनामा परिणत गर्नु निकै कष्टपूर्ण थियो– एउटा विपन्न हुम्ली नवयुवकलाई तर संघर्ष गर्नुको विकल्प थिएन।
हुम्लामा त्यो बेला क्याम्पस थिएन। उनीभित्र पढ्नैपर्ने भूत सवार थियो। पढाई नछाड्ने हो भने हुम्ला छोड्नुको कुनै विकल्प थिएन। त्यसैले भूगोलका हिसाबले सबैभन्दा ठूलो जिल्ला हुम्लाका रावल सबैभन्दा सानो जिल्ला भक्तपुर हानिए।
सानोठिमीबाट आईए पास गरेका रावलले चितवनको सप्तगण्डकी बुहुमुखी क्याम्पसबाट स्नातक गरे। सामाजिक कार्यमा सक्रिय रावलको स्वदेशमा मात्र हैन विदेशमा पनि उत्तिकै माग थियो। उनी विभिन्न देशमा गएर सामाजिक क्षेत्रको विकासबारे थप ज्ञान आर्जन गरे। रावल विभिन्न अन्तराष्ट्रिय संजालमा समेत चुनिएका थिए। रावलको दक्षतालाई देखेर अन्तराष्ट्रिय सस्थाहरुले समेत काम गर्न आग्रह गरेका थिए। तर, रावल बसेनन्, उनले हुम्लाको विकासको सपना देखिरहे र स्वदेश फर्के।
शिक्षित हुम्लीको सूचीमा नाम चढाएलगत्तै उनलाई जिल्लाबाट शिक्षक बनिदिन 'अफर'को ओइरो लाग्यो तर रावलको धित मरेकै थिएन– स्नातकोत्तर गर्ने। त्यसैले औपचारिक शिक्षा बिट मारेर जिल्ला फर्कन तयार भएनन्, बरू समाजशास्त्रमा स्नातकोत्तर गर्न त्रिचन्द्र कलेज पुगे। अनि स्नातकोत्तर गरे। सुविधासम्पन्न काठमाडौंको अवसरमा नअल्झी त्यसभन्दा ठीकविपरीत अभाव र अशिक्षामा रुमलिएके पितृथलो फर्किए– हुम्ला।
अब हुम्लाको दिगो विकासका लागि केही गर्नैपर्ने समय आएको महसुस भयो उनलाई। 'एमए पास गरेपछि काठमाडौंमै कलेज पढाउनेदेखि कामका दर्जनौँ प्रस्ताव थिए तर म त्यसमा अल्झिन चाहिनँ', रावलले भने, ' मेरो आवश्यकता हुम्लामै थियो। सरकारले परिपक्व र विकासको दिगो योजना बनाएर कार्यान्वयनमा लैजान सकेको थिएन। स्थानीय राजनीतिज्ञले पनि त्यसमा काम गर्न सकेका थिएनन्।'
स्कुले जीवनदेखि नै राजनीति थालिसकेका थिए– दल रावलले। उनी कक्षा ९ पढ्दा नै २०४४ सालमा साँयाबाट राजनीतिक संगठनमा आवद्ध भइसकेका थिए, एकताकेन्द्र–मसालको। काठमाडौंमा आएपछि पनि उनी अनेरास्वीयूसँग जोडिए। उनले समर्थन गरेको पार्टी फुटेर एउटा समूह सशस्त्र द्वन्द्वमा होमिएपछि उनले चाहिँ शान्तिपूर्ण राजनीतिको बाटो नै रोजे।
२०५१ सालसम्म जुन पार्टीको इकाईंमा रहेर काम गरेका थिए, त्यो पार्टी 'सशस्त्र द्वन्द्व'को मार्गमा लाग्यो। उनलाई हिंसात्मक राजनीति मन परेन। उनले राजनीतिको मार्ग बदले।
दल रावल भने गरीब, निमुखा हुम्लीको अधिकारप्राप्तिका लागि आफूलाई समर्पित गर्ने निष्कर्षमा लागे। भोकको शिकार भएका हुम्लीलाई उद्धार गर्ने निर्णयमा पुगे।
देशमा सशस्त्र द्वन्द्व चर्किंदै थियो। हुम्लाजस्तो विकट गाउँमा गएर सामाजिक विकासमार्फत् समाज रुपान्त्रण गर्छु भन्दै हिँड्नु पनि एक खालको 'दुष्साहस' थियो। उनी त्यो चुनौतीलाई सामाना गर्दै गरीब हुम्लीका विकट गाँउबस्ती चाहार्न थाले। त्यसैबीचमा रावललाई काठमाडौं शहर मात्र हैन, विदेशबाट समेत धेरै अवसर आए तर उनको रोजाइमा हुम्लाका विकट गाउँ नै परे।
भोकमरी झेल्दै मृत्युसँग जुधिरहेका हुम्लीको भोक टार्न, औषधोपचारको प्रवन्ध गर्न उनी क्रियाशील भए। हुम्लीको जीवनस्तर उकास्नु नै रावलको मुख्य ध्येय रहयो। यसैमा अहोरात्र लागी परे। त्यसै बीचमा हुम्लाको उत्पादनलाई बढाएर भोमकरी घटाउनेदेखि गोरेटोसमेत नभएका गाँउबस्तीमा सडक लग्ने योजना बनाउन थाले।
जिल्लाबासीको माग र पार्टीको आवश्त्ता अनुसार उनले २०५६ सालबाट फेरि सक्रिय राजनीतिमा फर्किए। सामाजिक कार्यका कारण स्थापित रावललाई पार्टीले सोही जिम्मेवारी दियो। २०५६ सालदेखि २०६९ सालसम्म १३ वर्ष पार्टीको सामाजिक विभाग र विभिन्न इकाईंमा रहेर काम गरे।
हुम्ली जनताको मनमा स्थान बनाइसकेका रावल एमालेले जिल्ला कमिटीको अध्यक्ष बनायो। जिल्लामा बसेर सामाजिक कार्यमा होस् या राजनीतिमा, रावल कहिल्यै विवादित भएनन्। त्यसैले उनी हुम्ली जनताबीचमा स्थापित भए।
२०७४ सालको निर्वाचनमा हुम्ला ‘१ ख’बाट सर्वाधिक मतले विजय भएका रावल संघीयतापछिको पहिलो कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भए। तीन वर्षसम्म उनले कर्णालीको विकासको नेतृत्व गर्न व्यस्त रहे। रावलले कर्णाली प्रदेशको स्वास्थ क्षेत्रमा व्यापक सुधार गर्दै गरिव र निमुखा जनताको पहुँचमा स्वास्थसेवा पुर्याउने कामको नेतृत्व गरे। ‘छोरीको बैंक खाता’ प्राबिधिक शिक्षाको बिकास, युवा तथा खेलकुद क्षेत्रको बिकास लगायतको लोकप्रिय र जनमुखी कामको सुरुवात रावलबाटै भयो।
विभिन्न योजना र नीतिनियम बनाए। जुन योजना र कानूनले कर्णालीबासीको भविष्यको मार्ग कोरेको छ। रावलको राजनीतिक यात्रा बलियो हुँदै गएको छ। उनी विपक्षी पार्टीका कार्यकर्ताको समेत रोजाइका नेता बन्दै गएका छन्।