कांग्रेस महाधिवेशन : दाङकाे दुई निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी  

फाेटाे: क्रमश १,२, ३ क्षेत्रका सभापति/सामाजिक सञ्जाल।
फाेटाे: क्रमश १,२, ३ क्षेत्रका सभापति/सामाजिक सञ्जाल।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा संघीय सभापतिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा तीन वटै क्षेत्रमा मंगलबार निर्वाचन भएको थियो।

जसको बुधारबार दिउँसो अबरेमात्र सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मत परिणाम अनुसार संघीय सभापतिमा संस्थापन पक्षले दुई वटा र संस्थापनइतर पक्षले एउटा निर्वाचन क्षेत्रमा जित निकालेको छ।

संघीय सभापतिमा दाङ क्षेत्र नं. १ बाट संस्थापन पक्षका भेषराज पाण्डे विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई १ सय ६५ मतले पछि पार्दै सभापतिमा पाण्डे विजयी भएका हुन्।

कुल ६ सय ८५ मत खसेकोमा पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् भने डिसीले २ सय ५७ मत पाएका छन्। निर्वाचनमा पाण्डेयको प्यानल नै विजयी भएको छ।

सचिवमा भने ४ सय २१ मत ल्याउँदै खेमलाल चौधरी र ४०० मत ल्याउँदै हेमलाल शर्मा विजयी भएको निर्वाचन समतिले जनाएको छ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा संघीय सभापतिमा भीमप्रकाश खड्का विजयी भएका छन्। संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिस्पर्धी चित्रबहादुर डाँगी (निर्मल) लाई १०० मतले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार विजयी खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापनइतरका निर्मलले २ सय ६६ मत प्राप्त गरेका छन्।

यस्तै सचिवमा आर.के. सितल र हिमबहादुर डाँगी बिजयी भएका छन्। उनीहरुले समान ३२१/३२१ मत प्राप्त गरेका छन्। सचिवमा विजयी भएका सितल भने संस्थापनइतरका हुन्।

दाङ निर्वाचन क्षेत्र नं २ मा कुल ६ सय ५१ मतदाता मध्ये ६ सय ४२ मत खसेको थियो।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का विजयी भएका छन्। खड्का संस्थापनइतर पक्षका हुन्। उनले ४ सय ३८ मत प्राप्त गर्दै विजयी भएको हुन्।

यस निर्वाचन क्षेत्रमा सभापतिका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा खड्का प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३ सय ११ मत र किरण शाहले ६८ मतमात्रै प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा पनि जगतकै प्यानलबाट शोभाकर सापकोटाले ३ सय ६० र पूर्णबहादुर खत्रीले ४सय १६ मत प्राप्त गर्दै विजयी भएका छन्।

दाङको क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदातामध्ये ८सय ४४ मत खसेको थियो। नेपाली काँग्रेसको यो जिल्लाको सबभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र हो।

प्रकाशित मिति: : 2021-11-24 17:57:00

प्रतिकृया दिनुहोस्