काँग्रेस महाधिवेशन : सभापतिमा देउवा पक्ष बाँकी, सबैमा रामचन्द्र बलियाे

नेपाली काँग्रेस जुम्लाको ७औं जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन्।

उनले कुल नाै सय८१ मतमध्ये चार सय ७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले चार सय ६९ मत ल्याए।

पाँच मतको अन्तरले संस्थापन पक्षधर शाही विजयी भएका निर्वाचन अधिकृत हसिना प्रधानले बताइन्।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भएका छन्।

उपाध्यक्ष शाहीले पाँच सय १६ र बुढाले चार सय ८६ मत प्राप्त गरेका छन्। सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन्। कठायतले पाँच सय १८ र शाहीले चार सय ५७ मत प्राप्त गरेका छन्।

सहसचिवद्वयमा नन्दप्रसाद चौलागाईं ५०० र धनेन्द्र बोहोरा चार सय ४८ मत प्राप्त गरेर विजयी भएका निर्वाचन अधिकृत प्रधानले थपिन्।

प्रतिस्पर्धी संस्थापनपक्षीय उपाध्यक्ष नन्दराम बुढाले चार सय पाँच र मक्करबहादुर हमालले तीन सय ७८, सचिव दानबहादुर बुढाले तीन सय ७० र घनश्याम थापाले चार सय २९,  सहसचिव नवराज देवकोटाले तीन सय ८७ र धनबहादुर रावतले चार सय १८ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत प्रधानका अनुसार खसेको कुल नाै सय ८१ मतमा पाँचवटा मत बदर भएको छ। महाधिवेशन प्रतिनिधिहरूको मतगणना गर्न बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति: : 2021-11-24 15:57:00

प्रतिकृया दिनुहोस्