लोकप्रिय बन्ने होडमा कतै अप्रिय भावना दबाउनु भएको त छैन !

तपाईं प्रायः जसो यस्ता मानिसहरूलाई साथी बनाउनुहुन्छ, जसले तपाईंका हरेक कुराहरूलाई समर्थन गर्छन्। तपाईंले सोच्ने, महसुस गर्ने र बुझ्ने तरिकाहरू साथै तपाईंका रुचि र अरुचिहरू। तपाईंले आफूलाई जस्तो बनाउनु भएको छ, तपाईंले त्यसैको समर्थनको लागि कोही खोजिरहनु भएको हुन्छ।

एकचोटि यस्तो भयो... जाडोयाममा एउटा सानो चराले अलि बढी नै मौसमको आनन्द उठायो, जसकारण दक्षिणतर्फ यात्रा ढिला आरम्भ गऱ्यो। उसले अत्यन्तै जाडोमा यात्रा शुरु गऱ्यो अनि उड्ने कोसिस गऱ्यो। तर, ऊ जाडोले कठ्याङ्ग्रिएर खस्यो। त्यही बाटोबाट एउटा गाई गइरहेको थियो, अनि बाटोमै उसले गोबर गऱ्यो। गोबर ठीक त्यही चरामाथि खस्यो अनि चरा पूरै ढाकियो। गोबरको न्यानोपनले कठ्याङ्ग्रिएको चरा बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कियो अनि ऊ राम्रो महसुस गर्दै खुसीले चिर्बिराउन थाल्यो।

त्यसैबेला, एउटा बिरालो त्यही बाटोबाट जाँदै थियो। उसले चिर्बिराहट सुन्यो, चारैतिर हेऱ्यो अनि गोबरभित्रबाट आवाज आइरहेको कुरा चाल पायो। उसले गोबर हटायो, चरालाई गोबरबाट निकाल्यो अनि खाइदियो। अतः जसले तपाईंमाथि रद्दी थोपर्छ, ऊ तपाईंको शत्रु नै हुन्छ भन्ने हुँदैन। अनि, जसले तपाईंलाई रद्दीबाट बाहिर निकाल्छ, ऊ तपाईंको मित्र नै हुन्छ भन्ने हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब तपाईं रद्दीले भरिनुहुन्छ, तब आफ्नो थुतुनो बन्द राख्न सिक्नुहोस् !

यदि तपाईं कसैको साथी हुनुहुन्छ भने, तपाईंले जतिबेला पनि उनको गल्तीहरू औँल्याउने, उनलाई निच देखाउन आवश्यक छैन। तर साथसाथै, तपाईंभित्र मानिसहरूबिच अलोकप्रिय वा खरो हुने साहस पनि हुनुपर्छ। अरूहरूमाझ लोकप्रिय बन्ने होडमा, आफ्नो सेरोफेरोमा सुखद माहोल बनाइ राख्ने प्रयासमा, हेर्नुस् त तपाईंले आफूभित्र कति अप्रिय भावना दबाएर राख्नुभएको छ !

यदि तपाईंले अप्रियतालाई दबाउनुभयो, यदि तपाईंले माटोमा अप्रियताको बिउ रोप्नुभयो भने, तपाईंले अप्रियताकै फल पाउनुहुनेछ। यदि कोही वास्तवमै तपाईंको मित्र हो भने, तपाईंभित्र उसको अगाडि अप्रिय हुने साहस हुनुपर्छ, अनि साथसाथै ऊ प्रति प्रेम र सद्‌भाव हुनुपर्छ। यतिखेर, तपाईंको मित्रता केवल सहमति, रुचि-अरुचिमा बनिरहेको छ। तर, चाहे तपाईंहरू स्याउ र सुन्तला जस्तै भिन्न–भिन्न भए तापनि, तपाईं असल साथी बन्न सक्नुहुन्छ। साँचो साथी ऊ हो, जसमा तपाईं कुन हदसम्म लन्ठू हो भनेर भनिदिने साहस हुन्छ, अनि त्यसबेला पनि तपाईंप्रति उसमा प्रेम र स्नेह रहिरहनेछ। यही सही अर्थमा मित्रता हो।

म एकजना चिकित्सकलाई जान्दथेँ, जो बियर पिउँथे। जब ऊसँग मेरो भेट भयो, उनी लगभग सत्तरी वर्षका थिए। ठूलो आँत भएका अग्ला व्यक्ति। केही समयअघि उनी प्राय: आफ्नो साथीलाई भेट्न जान्थे। जब उनी भेट्न जान्थे, अर्को साथीले बियर टक्रयाउँथे अनि दुवैजना सँगै बसेर पिउँथे। समय हुनेबित्तिकै, कहिले साथी यता आउँथे, त कहिले उनी उता जान्थे।

अचानक एकदिन साथीको कुनै गुरुसँग भेट भयो अनि उनले आध्यात्मिक अभ्यासहरू शुरु गरे, जसपश्चात उनले बियर पिउन छाडे। ती डाक्टरले मलाई यो कथा पूरै विस्तारमा सुनाए, अनि यो भने कि त्यही क्षण उनीहरूबिचको गहिरो मित्रताको अन्त्य थियो। त्यसपश्चात, यिनी कहिल्यै पनि ती साथीको घर जान चाहेनन्, किनकि साथीले बियर पिलाउन छाडेको थियो। थुप्रै मानिसहरूको मित्रता कुनै यस्तै कारणले समाप्त हुने गर्दछ। जबसम्म कुनै चिज चलिरहन्छ, त्यो कायम रहन्छ। त्यो नहनेबित्तिकै सबैथोक समाप्त हुन्छ।

यदि तपाईंको जीवनमा कोही सच्चा साथी छैनन् भने, तपाईंले केही अभाव महसुस गर्नुहुन्छ। आखिर, साथी भनेको के हो ? साथी भनेको तपाईं जस्तै अन्योलमा जेलिएको अर्को व्यक्ति न हो। साथी वा मित्र भनेको उत्तम वा पर्फेक्ट मानिस होइन। कुरा यत्ति हो कि जब दुईजना व्यक्तिहरू एकआपसमा यति सहज बन्छन् कि कम्तीमा पनि उनीहरू एक–अर्काप्रति साँचो रूपमा प्रस्तुत हुन्छन्, तबमात्र त्यहाँ मित्रता रहन्छ। तपाईंको साथी पनि तपाईं जत्तिकै अस्तव्यस्त र भ्रमित रहेको हुन्छ। तर, यदि दुईजनाले एक–अर्काबिच निष्ठा कायम गर्ने हो भने, उनीहरू सही अर्थमा साथी बन्दछन्। तपाईंसँग एकजना मात्रै नभई थुप्रै साँचो साथीहरू हुनुपर्छ। यदि तपाईंको जीवनमा एकजना पनि त्यस्तो साथी छैनन् भने, तपाईंले आफ्नो जीवनमा केही गर्नु उत्तम हुनेछ। किनकि, मित्रता भनेको एक–अर्काको फाइदाको लागि गरिने आदान–प्रदान वा लेनदेन होइन; मित्रता भनेको दुई जीवनहरूको विशेष मिलन हो।

–सदगुरुको प्रवचनमा आधारित

प्रकाशित मिति: : 2021-11-24 08:01:00

प्रतिकृया दिनुहोस्