काँग्रेस जुम्लाकाे निर्वाचन सुरु: फ्रन्टलाइनमा युवा पुस्ता 

साेमबार बिहान आठ बजेबाट नेपाली काँग्रेस जुम्लाको साताैं जिल्ला सम्मेलनबाट चयन हुने नयाँ नेतृत्वका लागि मतदान सुरु भएकाे छ।

निर्वाचन मर्यादित रुपमा सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त हसिना प्रधानले बताइन्। 'मतपत्र लामाे छ। एकजनाले ५८ जनालाई एकैपटक भाेट हाल्नुपर्ने भएकाे हुनाले थाेरै असहज छ,' उनले भनिन्, 'समय बढी लाग्ने भएकाे हुनाले १० वटा बुधमाे भाेट खसाल्ने व्यवस्था मिलाइएको छ।'

सभापतिकाे लागि दुई जना उम्मेदवारहरु निवर्तमान सभापति दिपबहादुर शाही र कर्णबहादुर शाही मैदानमा उत्रेका छन्। दिप बहादुर रामचन्द्र पक्षका हुन भने कर्णबहादुर देउवा पक्षाका हुन।

आम निर्वाचनकाे झल्काे दिने खालकाे काँग्रेस निर्वाचनमा रामचन्द्र र देउवा पक्षकाे कडा प्रतिष्पर्धा हुने कार्यकर्ताहरुले बताइरहेका छन्।

प्रतिस्पर्धा कडा हुन सक्ने काँग्रेस कार्यकर्ता विश्वराज काफ्लेले बताए। 'निकै कम मत अन्तरले हारजित हुने जस्ताे देखिन्छ,' उनले भने, 'हामी सबै आफ्नाे पक्षका नेतालाई जिताउन लागिपरेका छाैं।'

यसअघि वडा, पालिका र प्रदेश क्षेत्रकाे निर्वाचनमा रामचन्द्र पक्षकाे पकड बलियाे छ। जिल्लाका आठ वटा पालिका मध्ये छ वटा पालिका र दुवै प्रदेश क्षेत्रमा उसकाे पकड छ। यति हुँदा पनि पछिल्लो समय देउवा पक्षमा उत्साह बढेकाे देखिन्छ।

'धेरैले नयाँ नेतृत्व खाेजिरहेका छन्। त्यसैले नेतृत्वको रुपमा कार्यकर्ताले नयाँ अनुहारकाे खाेजी गरिरहेका छन्,' जुम्ला बहुमुखी क्याम्पसका एक उप-प्राध्यापकले नाम नबताउने सर्तमा भने, 'कर्णबहादुर शाही उपयुक्त पात्र मैले देखिरहेकाे छु।'

बजारमा हल्ला संस्थापन पक्षले जित्छ भनेर चलाइएकाे भएपनि निर्वाचनमा रामचन्द्र पाैडेल पक्ष नै बलियाे भएर आउने काँग्रेस नेता देवेन्द्र बहादुर शाहीले बताए।

'सिनारियाे हिजाेदेखि प्रष्ट छ। पचास साठी भाेट यताउता भएपनि परिणाम पाैडेल समूहकाे पक्षमा देखिनेछ,' उनले भने, 'सबै कुरा अबकाे निर्वाचन पछि नै बाहिर आउला।'

काँग्रेस जुम्लाकाे निर्वाचनमा युवा पुस्ता आक्रामक रुपमा अगाडि आइरहेको छ।

सचिवमा युवा पुस्ताका चार जनाकाे उम्मेदवारी परेकाे छ। संस्थापन पक्षबाट सचिवमा दानबहादुर बुढा र घनश्याम थापाले उम्मेदवारी दिएका छन् भने पाैडेल पक्षबाट लक्ष्मण शाही र अर्जुनसिंह कठायतले उम्मेदवारी दिएका छन्।

त्यसैगरी अन्य पदाधिकारी र सदस्य पदमा पनि युवा पुस्ताकाे उम्मेदवारी परेकाे छ।

कुल एक हजार १७ जना प्रतिनिधिले भाग लिने जिल्ला अधिवेशनमा एक जना प्रतिनिधिले ६२ जना उम्मेदवारलाई भाेट हाल्नुपर्ने हुन्छ। तर पाँच जनाकाे विकल्पमा उम्मेदवारी नपरेको हुनाले ५८ जनालाई मात्र हाल्नुपर्ने निर्वाचन आयाेगले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-22 11:30:00

प्रतिकृया दिनुहोस्