नेपाली जडिबुटीमा रामदेवका आँखा- प्रचण्डले बाटो खुलाए, उपेन्द्र महतोले नेपाल ल्याए, देउवाले सजिलो बनाइदिए

आयोमेल

गजेन्द्र बोहरा

भारतको हरिद्वारस्थित आफ्नो आश्रम डुलाएर तत्कालीन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न आयोजित एउटा समारोहमा बाबा रामदेवले भनेका थिए– अब नेपालमा पनि पतञ्जलीको विस्तार हुनेछ। र, भारतबाहिर यो सबैभन्दा ठूलो पतञ्जली उद्योग हुनेछ।

त्यसको करिब एक महिनापछि उनी नेपाल आए र राष्ट्रपति विद्या भन्डारीबाट बाराको प्रसौनीमा रहेको आफ्नो उद्योगको उद्घाटन गरे। प्रचण्ड प्रधानमन्त्री भएर २०७३ असोजमा भारत भ्रमण जानुअघि नै पतञ्जलीले नेपालमा उद्योग स्थापना थालिसकेको थियो।

हरिद्वारमा बाबा रामदेवको ‘मेजमानी’पछि प्रचण्डले भनेका थिए– धेरैजसो जडिबुटीहरू त नेपालबाटै आउँदो रहेछ। अब पतञ्जलीले उतै (नेपालमा) उद्योग खोलेपछि त्यसको झन् राम्रो सदुपयोग हुनेरहेछ।

रामदेवलाई नेपालमा लगानी गर्न उक्साउँदै उनले भनेका थिए – नेपालमा पतञ्जलीलाई उद्योगका लागि चाहिने सबै व्यवस्था हामीले गर्छौं। रामदेवको मुख्यालय हरिद्वारको विशाल फुड एण्ड हर्बल पार्क देखेर प्रचण्ड दंग थिए। रामदेवले नेपालमा पनि त्यस्तै पार्क खोल्ने इच्छा प्रचण्डसँग देखाएका थिए।

उपेन्द्र महतोको साथ

एउटा औपचारिक कार्यक्रममा त्यो बेला प्रचण्डलाई भनेपनि त्यसको तयारी पहिलादेखि नै नेपालमा गरिसकेका थिए रामदेवले।

उद्योग खोल्नका लागि नेपालमा उनका व्यावसायिक साझेदार भए उपेन्द्र महतो।
उच्च शिक्षा पढ्नका लागि रूस छिरेका महतो सिरहा जिल्लाका हुन्। पढ्न गएका उनले त्यहीँ व्यापार सुरू गरेर अहिले नेपालका धनाढ्यमध्येका एक हुन्। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष भएका उनले विश्वका धेरै ठाउँमा आफ्नो व्यापार विस्तार गरिसकेका छन्।

नेपालमै पनि विभिन्व व्यवसायमा हात हालेका उनले टेलिकम कम्पनी एनसेलमा पनि सुरूवाती चरणमा लगानी गरेका थिए। पछि उनले आफ्नो अर्बौंको शेयर बिक्री गरेपछि त्यसको कर विवादमा पनि उनी मुछिएका थिए।

आफ्नै क्षेत्रमा खुल्न थालेको रामदेवको पतञ्जली उद्योगमा पनि उनी शेयरधनी भए। तर, उनले आफ्नो नाममा नभइ आफ्नी श्रीमती समताप्रसाद महतोको नामा शेयर राखेका थिए।

प्रकाशित मिति: : 2021-11-21 21:57:00

प्रतिकृया दिनुहोस्