भोजपुरी समाजमा महिला गर्भवती भएपछि बच्चा जन्मिने बेला प्रसूतिका–गृहको विशेष व्यवस्था गरिएको हुन्थ्यो। पुराना दिनहरुमा बच्चाहरुको जन्म प्रायः गृहस्थहरुको घरमा नै हुने गर्दथ्यो ।
घरमा जन्मिने बच्चाहरुको लागि विशेष कोठाको व्यवस्था हुने गर्दथ्यो जसलाई भोजपुरी भाषामा ‘सोइरी घर’ भन्ने गरिन्थ्यो। बच्चा जन्मिने बेला मानिसहरु राता–रात गएर ‘चमइन’ (सार्किनी) लाई बोलाएर ल्याउथ्ये।
‘चमइन’हरु बच्चा जन्माउने कामका लागि आफ्नो कूल परम्पराको अनुभव अनुसार दक्ष हुन्थे। ‘चमइन’ले गर्भवती महिलालाई हेरेर मात्रै पनि गर्भको अवस्था, प्रसव हुने दिन तथा कोही कोही पोख्त ‘चमइन’ले त गर्भवती स्त्रीको हिँडाइ देखेर भावी बच्चाको लिङ्ग पनि किटन गर्न सक्दथे।
आफ्नो यस प्रकारको कौशलका कारण ती चमइनहरु समाजमा विशेष आदरका पात्र हुन्थ्ये। भोजपुरी लोक गीतहरुमा ‘चमइन’ले आफ्नो सवारीकोलागि पालकी माग्ने कुराको उल्लेख रहेको पाइन्छ।
लोकगीतमा एक ठाउँमा चमइन भन्दछिन्–'जाहु राजा घर आपन, हम नाहि जाएम हे। भेजी रे देहु सुखपाल, हमहु चढी आएम हे..!' अर्थात्, 'म पैदल जान्न, तपाईं आफ्नो घर फर्की जानुस् र सवारीकोलागि सुखपाल (पालकी) पठाउनुस्। म त्यसमाथि चढेर मात्र आउने छु।' यसले के बुझिन्छ भने यस समाजका वर्ण व्यवस्थामा प्रत्येक वर्णको आफ्नो विशेष महत्व रहेको हुन्थ्यो र अझै पनि छ।
प्रसूतिका गृहमा बच्चाको जन्म भइसके पछि यी ‘चमइन’हरुले बच्चाको साल वा नाललाई कच्चा सूत (धागो) ले बाँधिदिन्छन्। त्यसलाई छुरी, हँसिया वा व्लेडले काटिदिन्छन्।
यसपछि आफ्नो शीरमा लगाएको तेलले ‘चमइन’ प्रसूति भएकी स्त्रीको पेट माड्दछन्। यसलाई भोजपुरी भाषामा ‘साइत’ गरेको भन्दछन्।
यसपछि त्यसको अँजुरीमा दुई वा पाँच पल्ट अन्न भरिन्छ। त्यसरी भरिएको अँजुरीले प्रत्येकपल्ट बच्चा र बच्चाको शीरवरिपिर घुमाइन्छ जसलाई भोजपुरी भाषामा ‘अइंछन’ भन्दछन्।
अनि बच्चालाई दुइटै हातमा लिएर माथि उफार्छन्। यो क्रिया छोरा र छोरीको जन्मको समयमा सामान्य रुपले गरिन्छ तर छोराको जन्मको अवसरमा पित्तल, काँसको थाली बजाइन्छ। छोरीको जन्मको अवसरमा थाली बजाइँदैन। छोरा र छोरीको जन्मको अवसरमा यति विभेद अवश्य गरेको पाइन्छ।
लोक विश्वासअनुसार, छोरीको जन्मको अवसरमा पृथ्वी सात हात भासिन्छिन् भने छोराको जन्मको अवशरमा पृथ्वी सात हाथ माथि अग्लिन्छिन। छोरा सुनको हुन्छ। वास्तवमा यस्ता कुरा छोरीको विवाहको समयमा दिइने अनिवार्य दाइजो रुपी धनको कारणले सोचिन्छ। छोराले कुलका पूर्खाहरुलाई मुक्ति दिलाउछ तर छोरी आफ्नो कुललाई छाडेर बिरानो कुलमा जानुपर्दछ।
'सोइरी घर' को बाहिर मकलमा तल नीमको काठ माथि गुइँठा तथा धानको भुस भरेर आगो बालिन्छ जसलाई भोजपुरी भाषामा ‘पसी जियावल’ भन्दछन्। यस मकलका साथै सिउडी काँढा, फलाम, मुसल तथा जुत्ता राखिएको हुन्छ।
'सोइरी घर' घरभित्र छिर्ने प्रत्येक महिलाले यस्ता वस्तुहरुलाई नाघेर मात्र छिर्न अनिवार्य हुन्छ किनकि यस्तो गरेमा प्रेतात्मा 'सोइरी घर'भित्र छिर्न पाउँदैन भन्ने लोक विश्वास रहेको पाइन्छ।
अझै यदि स्त्रीको पतिको पहिलो पत्नी मरिसकेकी रहिछन् भने तिनको आकृति कागजमा लेखेर 'सोइरी घर'को बाहिर भित्तामा झुण्ड्याइन्छ। त्यस स्त्रीको प्रेतले पनि सोइरीघरमा रहेको आफ्नो शिशुको रक्षा गर्दछ भन्ने लोक विश्वास रहेको पाइन्छ।
चमइन प्रतिदिन बिहान बेलुका आएर बच्चा र जच्चा दुवैलाई राइ (रायो) को तेल घसिदिन्छिन्। रातीको समयमा नातामा नन्द पर्ने केटी(बहिनी वा दिदी) सद्यःप्रसवा भाउजूसित सुत्दछन्।
बाह्रौँ दिन नन्दले सोइरी घर लिप्प–पोत गर्दछिन जसकोलागि बक्सिस दिन आवश्यक हुन्छ। सद्यः प्रसवा स्त्रीलाई राम्रो तथा पोषिलो खाना दिइन्छ। मड़ुवा (कोदो) को रोटी तथा हलुवा विशेष रुपमा दिइन्छ जसलाई ‘काँची’ भन्दछन्। दूधमा बेसार मिसाएर पिउनलाई दिन्छन्। बेसार मिसिएको दुधले हानीकारक किटाणु तथा दुखाइ मार्दछ भन्ने लोक विश्वास रहेको पाइन्छ।
ब्राह्मणसित शुभसाइत देखाएर प्रसूति स्त्री तथा बच्चालाई नुहाइदिइन्छ। स्त्री पूर्व वा पश्चिमतिर मुख फर्काएर नुहाउँदछिन्। स्नानपछि माटोको ढकनमा बलिरहेको आगो जसमा ज्वानो तथा रायोको दाना पोलिएको हुन्छलाई खुटाले कुल्चिएर फोर्दछन्। यस प्रकारको क्रियाले कसैको कुदृष्टि लाग्दैन भन्ने विश्वास रहेको हुन्छ।
त्यस दिन स्त्री पहेँलो वस्त्र धारण गर्नुका साथै सधवा श्रृंगार पनि गर्दछिन। त्यस दिन विशेष गरेर रसियाव तथा हलुवा बन्दछ जसलाई त्यहाँ उपस्थित रहेका अन्य महिलाहरुलाई ख्वाइन्छ। छ दिनपछि ‘छठियार’ तथा बाह्रौँ दिनका दिन ‘बरहिया’ मनाइन्छ जसमा भोजभतेर गरेर स्त्री र बच्चालाई विशेष उपहार दिने चलन रहेको पाइन्छ।
'बरहिया' पछि बच्चा 'सोइरी घर'बाहिर निस्किन थाल्छ। हुनत गाउँघरमा यस प्रकारको 'सोइरी घर'को व्यवस्था अब प्रायः हराउँदै गइरहेको पाइन्छ। गाँउ–गाँउमा स्वास्थ्यचौकीको स्थापना तथा प्रसूतिहरुको विशेष हेरचाह तथा स्याहार–सुसार सरकारी स्तरबाट हुन थाले पछि अबका दिनहरुमा धनी वा गरीब जो कोहीले पनि बच्चाको जन्मको समयमा पारम्परिक व्यवस्थाको सट्टा त्यस्तो स्वास्थ्य चौकी वा स्थानीय अस्पतालमा जान नै रुचाउँछन्।
यो राम्रो रुचिहो, किनकि यसमा पूर्ण सुरक्षा तथा कम जोखिम रहेको हुन्छ तर भोजपुरीभाषी प्रदेशको एउटा सांस्कृतिक परम्परा, वर्ण व्यवस्था तथा नाता–नामेसीको सौन्दर्य–सौरभ त गुमी नै सकेको हो, मासिई नै सकेको हो। कहिलेकाहीँ मेरो हृदय ठूलो अपशोच गर्दछ, चित्कार गर्दछ! तर के गर्नु ? समय परिवर्तनशील रहेको कुरा सर्वमान्य सत्य हो। यस्तो त भई नै रहने छ। हामीले धैर्य धारण गर्नुपर्दछ है!