नेपाली लोक–सङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याइरहेका मध्येमा एउटा नाम हो– विनोद बाजुरेली।
हिउँद होस् वा बर्खामास । भ्याइनभ्याइ छ, उनलाई। बजारमा सुनिन्छन् नयाँ–नयाँ गीतहरू। जुन गीतले श्रोताका मनमा आसन जमाउन बाँकी ठाउँ नै छैन जस्तो लाग्छ। रातारात सामाजिक सञ्जालबाट देश–विदेशमा बस्ने नेपालीहरूमाझ चर्चित बनेका ती लोकप्रिय गीतका 'एरेनञ्जर' को हुन् भनेरसम्म थाहा छैन, कैयौँलाई।
उसो त यो मुलुकमा परिचयबिहीन बनिदिन्छन्– सङ्गीतकार, गीतकार र 'एरेनञ्जर' हरू। पशुपति शर्माको 'लुट्न सके लुट कान्छा' बोलको गीत होस् वा पछिल्लो समय विष्णु माझीले गाएको 'चरी जेलैमा'जस्तै कैयौँ छन्, उनले सङ्गीत संयोजन ('एरेनञ्ज') गरेका चर्चित गीतहरू।
पर्दा पछाडिका हिरो अर्थात् उनै बाजुरेलीले बिएल नेपाली सेवासँग कुराकानीका क्रममा 'सङ्गीत संयोजन'बारे जिज्ञासा राख्दा निकै नै सरल र सहज ढंगले यसाे बताए, 'खास शब्दले मेलोडी जन्माउने हो। हामीले मेलोडी र शब्द दुबैको गाम्भीर्यतालाई मनन् गरेर 'एरेनञ्ज' गर्नु पर्ने हुन्छ। अन्य भाषा र संस्कृतिका श्रोतालाई झुम्ने बनाउने सोच्नुपर्ने हुन्छ। आकर्षित ताल र कडमा विशेष ध्यान पुर्याउनु पर्छ। म्युजिककै प्याटनको सम्पूर्ण डिजाइन नै 'एरेनञ्ज' अर्थात संगीत संयोजन हो।
सङ्गीतकारले सृजना गरेको लयलाई नबिगारी सजाउँछन्, 'एरेनञ्जर'ले। उनी अवचेतन मनमा घुमिरहेका गीतका शब्द र भाकाहरू सपनीमा गुन्गुनाउँछन् । र, निद्रा भङ्ग हुनेबित्तिकै कपिमा टिप्न सुरु गरिहाल्छन्।
लोकगीत 'एरेनञ्ज' गर्दा गाउँमै पुगेको हुन्छ रे उनको मन। उसो त गाउँबाट सिस्नो, फापर, रायोको साग,कोदोको पीठो मगाउँछन्। आमाले पठाइदिन्छिन् गाउँबाट। बेलाबखत गाउँको मायाले ओतप्रोत बनिदिन्छन्, उनी।
कुनै बेला बाजुराको जङ्गलमा खुब फुके– बाँसुरी। गाईगोरु चराउँदा धित मर्ने गरी बजाएजस्तो लाग्ने त्यो बाँसुरी बजाएर अघाएका छैनन् उनी। हिजोआज ऊर्जापूर्वक चलाइरहेका छन् जीवन तर पनि मान्दैन मन। त्यो मनले सुदूरपश्चिम खोजिरहेको हुन्छ।
बाजुराका डाँडाकाडाँ सम्झिरहेको हुन्छ, जहाँ उनले बाँसुरी फुक्न सिके त्यही ठाउँमा फर्केर केही गर्ने योजना बनाउँदैछन् उनी। धनगढी महेन्द्रनगरतिर साइनबोर्ड लेख्ने ब्यानर बनाउने व्यवसाय गर्ने सोचले आएका थिए कुनै समयमा बाजुरादेखि। सुन्दर अक्षर कोर्नसक्ने कला भएका उनले पाएनन् त्यो परिवेश।
उनको यात्रा मोडिया काठमाडौं पुग्ने हिसाबले। तर त्यतिबेला सकेनन् धेरै दिन काठमाडौंमा पनि टिक्न। पुनः फर्किए गृह जिल्लातिरै। अन्तमा बाजुराकै हर्क बोहरासँग पुगे पोखरा। जहाँ उनले दिनमा पिएन क्याम्पसमा अध्ययन गरे भने मध्यरातसम्म दोहरीमा बाँसुरी फुके।
त्यही पोखरामा रेकर्डिस्ट बने, त्यतै सिके सङ्गीत संयोजन गर्न समेत। अनि पोखराले नै जुराइदियो चर्चित सङ्गीतकार बी.बी. अनुरागीसँग परिचित हुने संयोग पनि। तत्पश्चात बोलाए बिबिले काठमाडौं। काठमाडौंमा बी.बी.सँगै काम गर्न पाउँदा झन माझिदै गएका उनका कथा–व्यथाहरू छुट्टै छन्।
मध्यरातमा पीएन क्याम्पसको हेस्टेलमा पुग्दाका कथादेखि जिन्दगीले सुम्पेका थुप्रै कथाहरू छन्, संघर्षका। एसएलसीमा जिल्लाभरमै तेस्रो बनेका उनले 'प्लस–टु'मा पढ्दापढ्दै बीचैमा पढाइ छोडेर पाण्डुसैनकी १४ वर्षे अनिशालाई जीवनसाथी बनाए र आफ्नो जिन्दगीको यात्रा तय गरे।
७ वर्षको उमेरमा बुवा गुमाएका उनको मनमा सानोमा चिलगाडी (हवाइजहाज) बनाउने इच्छा पलाउँथ्यो रे। बिज्ञान बिषय पढ्न खुब मन पथ्र्यो। आर्थिक अभाव यतिसम्म थियो कि घरमा खान लाउन समेत मुस्किल पथ्र्यो। अनि कसरी पढ्नु र विज्ञान विषय। कहिल्यै सोचेका थिएनन् उनले सांगीतिक यात्राको बारेमा, तथापि उनी बाँसुरीका भने सौखिन थिए।
विनोदका दाइ र काकाले बजाउँथे बाँसुरी। ८ वर्षकै उमेरमा चोरीछिनी, जानी–नजानी फुक्न थाले उनले पनि दाइ र काकाले बजाउने गरेका तिनै बाँसुरीलाई। १२–१३ वर्षको उमेरमा त उनी गाउँमा राम्रो बाँसुरी–बादकको रुपमा दर्ज भैसकेका थिए।
बाहिर जतिनै मुस्कापूर्ण चेहरामा देखापरे पनि अक्सर उनी भक्कानिन्छन् कहिले कुनै घटानाले त कहिले गीतका पंक्तिले अनि कहिले सङ्गीतको लयले। यही भावमा घोत्लिएर सिगार्छन् संगीतकारले दिएको डमीलाई।
गाउँमा छदा गाइबस्तु चराउन जादा खुब गाउँथे ठाडी भाका। ती भाकाहरूले भित्रैसम्म छुन्थ्यो उनलाई। डुबाउथ्यो एकान्तमा शब्दको गहिराइले। भक्कानो फुट्थ्यो छातीमा। आँसुको कुरा गर्दा भन्छन् उनी–म जतिको रुने मान्छे शायदै कमै होलान्। फिलिम हेर्दा समेत आँसु झर्न थालेपछि छोडिदिए फिलिम हेर्न पनि।‘
हरेक पल आउछ गाउँघरको सम्झना। फरक हुन्छन् भावना र यथार्थका पाटाहरू। अब चाहेरै पनि गाह्रो छ उनलाई गाउँ फर्किन। उनी भन्छन्– ‘कहिले नामको आश, कहिले दामको आश। कहिले सन्ततिको भविष्यको चिन्ता। संसारिक माया मोह। उकाली ओराली यस्तै त रैछ जिन्दगी। सुरुसुरुमा राती गीत एरेन्ज गर्न बस्दा थाहा हुँदैनथ्यो रात बितेको।
झ्यालबाट भित्र छिरसकेको हुन्थ्यो उज्यालो। उनी सम्झिन्छ घाउँघरको स्वतन्त्र जिन्दगी। यहाँ त तालिकामा चलिरहेछ जिन्दगी। हरेक दिनको तालिका बनाउनु पर्छ। तब न बाँच्न सकिन्छ सहरमा।
उनी राम्रो गायक, संगीतकार तथा संगीत संयोजक हुन्। तर आफुलाई संगीत संयोजक नै भन्न रुचाउछन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लिन भैरहने बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ८ हजार नाघिसक्यो।
डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन् भने २ सयको हाराहारीमा संगीत दिइका छन्। पाँचवटा म्यूजिक भिडियोको निर्देशनसमेत गरेका छन्।
पछिल्लो समय हिमाल डेन्टल अस्पतालको सहयोगमा गायक सङ्गीतकार दीपक संगम बिसीको संयोजनमा, भीम थापाको निर्देशनमा 'टेली–चलत्रित्र' तयार परी बजारमा ल्याउने तयारीमा छन्, उनी। बैनीलाई नरबली दिने हिसाबले झुक्याएर मारेको लोक कथामा आधारित उनकै स्क्रीप्टमा उक्त कार्य सम्पन्न भएको छ।
गीतसङ्गीतका बारेमा छलफल गर्न खोज्दा सहजै भनिदिन्छन् उनी– गीतसङ्गीतको मापदण्ड बनाइनु पथ्र्यो। राज्यले प्रज्ञाप्रतिष्ठानमा आफ्ना राजनीतिमा आस्थावानलाई लग्छ। गीतसङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याएकाले उपचार नै नपाई मर्नु पर्ने वाध्यता छ।
मध्य तथा सुदूरपश्चिमका वासिन्दाले विगतमा काठमाडौंलाई नैपाल भन्ने गर्थे। जुनसुकै व्यवस्था आएपनि नैपालले सर्वसाधारणलाई न्याय दिलाउन सकेन। आदर सम्मान गर्न जानेन्।
अब यो नैपालबाट टाढा सुदूरपश्चिमको सहर धनगढीमा गई केही गर्ने योजना छ उनको। धनगढीमा स्टुडियो बनाउने, अग्रज कलाकारको प्रोफाइल तयार गर्ने, तिनै अग्रजका नाममा प्रतिष्ठान खोल्ने देखि सुदूरपश्चिमको कलासंस्कृतिमा आधारित सट मुभि निर्माण निर्माण गर्नेसम्मका थुप्रै योजनहरू छन् उनका। मेहनती, मिलनसार अनि सुदूरपश्चिमको कलासंस्कृतिको बारेरमा सधै चिन्तनशील रहने बाजुरेलीलाई हार्दिक शुभकामना।