रामदेवको ‘नेपाली-लिला’मा सिङ्गो सत्ता

आयोमेल

गजेन्द्र बोहरा

प्रधानमन्त्री भएका बेला २०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत बाबा रामदेवको आश्रम हरिद्वारमा पुगेका थिए।

त्यो बेला रामदेवले आश्रम भ्रमण गराए। स्वागत् सम्मान गरे। अनि प्रचण्डको हात समाएर एउटा भन्डार कक्षमा लगे।

प्रचण्डकै भाषामा त्यो भण्डारकोठामा ‘जडिबुटीको विशाल पहाडै थियो।’

अनि रामदेवले प्रचण्डलाई भने ‘यो सबै नेपालबाटै आएको हो। नेपालमा पनि यस्तै उद्योग खोल्नुपर्छ।’

रामदेवसँग प्रचण्ड–साइनो अझ गहिरो छ। ‘पार्किन्सस’जस्तो दीर्घ रोगले थलिएकी प्रचण्डपत्नी सीतालाई उनले उपचारका लागि अमेरिकालगायत संसारका सबैजसो महंगा अस्पतालहरूमा पुर्‍याइसकेका छन्। तर, पनि केही उपाय लागेकाे छैन।

र, प्रचण्ड आखिर रामदेवकै आश्रममा पुगे। २०६७ साल पुसमा छोरी गंगा दाहाल र नेता मातृकाप्रसाद यादवले सीतालाई रामदेवको आश्रम पुर्‍याएका थिए।

बिहीबार नेपाल आइपुगेका भारतीय योग गुरू ‘बाबा’ रामदेव सरासर प्रचण्डनिवास पुगे। आफ्ना सहयोगी आचार्य बालकृष्णका साथ यहाँ आएका उनले थलिएकी सीतालाई पनि भेटे। अनि केहीबेर प्रचण्डसँग गफिए पनि।

शुक्रबार बिहान रामदेवको पतञ्जली पीठले काठमाडौंमै एउटा कार्यक्रम राखेको थियो। त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै राजनीतिक दलका नेताहरू पुगेका थिए।

त्यो कार्यक्रम खासगरी पतञ्जलीले नेपालबाटै सञ्चालन गर्न लागेको ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टेलिभिजन च्यानलको सुरूवातका लागि थियो।

 

प्रकाशित मिति: : 2021-11-19 21:39:00

प्रतिकृया दिनुहोस्