शङ्कर पोखरेलले गरे महासचिवमा उम्मेदवारी घोषणा, पछि हट्लान् त विष्णु पौडेल ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दशौं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने बताएका छन्। बाँकेको नेपालगञ्जमा बुधबार लुम्बिनी प्रदेशस्तरीय नेताहरूसँग छलफल गर्दै पोखरेलले महाधिवेशन नजिकिएसँगै महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सभास्थल पुग्नुअघि जम्मा भएका निकटस्थ केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेताहरूलाई आफू महासचिव पदको उम्मेदवार भएको स्पष्ट पारेका हुन्।

सभा सकिएलगतै लुम्बिनी र कर्णाली प्रदेशका नेताहरूकाे एक समूह अध्यक्ष ओलीलाई भेट्न समेत पुगेकाे थियाे। उनीहरूले महासचिव पदका लागि पाेखरेललाई नै सर्वसम्वत रूपमा अघि सार्न दबाब दिएर बुटवल फर्किएका छन्।

आफूप्रति अध्यक्ष ओलीसमेत सकारात्मक भएको संकेत गर्दै नेता पोखरेलले लुम्बिनी र कर्णाली प्रदेशबाट आफ्नो लागि एकमत भई दबाब बढाउन प्रदेशस्तरीय नेताहरूलाई सुझाएका छन्।

लुम्बिनी प्रदेशका एमाले केहीँ नेताहरूले पोखरेलको पक्षमा माहोल सिर्जना गर्न कतिपय नेताहरू गुटगत भेलामा लागिसकेका छन्। उनी समर्थक नेता–पत्रकारहरूले सामाजिक सञ्जालकाे प्रचार–प्रसारलाई समेत तीव्रता दिएका छन्। 

‘कमरेड शङ्कर पोखरेल स्वभाविक रूपमा एमालेको महासचिवका लागि योग्य हुनुहुन्छ। अन्य नेताहरूले सोही पदमा दाबी गरेपनि उहाँ नै सर्वसम्वत ढंगले निर्वाचित हुनुहुनेछ। महाधिवेशनमा चुनावी प्रक्रिया हुँदैन। हामीहरू ढुक्क छौँ,’ एमाले लुम्बिनी प्रदेशका एक सदस्य भन्छन्।

नेता पोखरेललाई पार्टीभित्र जनताको वहुदलीय जनवादका व्याख्याता, वैचारिक व्यक्तित्व, कुशल संगठकका रुपमा चर्चा गरिन्छ। अघिल्लो महाधिवेशनमा उनी उप–महासचिवमा पराजित भएका हुन्। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीकाे विश्वासपात्र हुन्।

‘दशौं महाधिवेशनको रौनक शुरू भइसकेको छ। यसअघिको महाधिवेशनमा उप–महासचिवमा प्रतिस्पर्धा गरेँ। मलाई लाग्छ– चुवान त हुँदैन होला, तर पनि कसैले कसैलाई छाड्नेवाला छैनन्,’ एमाले नेता पोखरेलले आफूनिकट नेताहरूसँग भने, ‘आकांक्षी कमरेडहरूको सूची लामै छ। जति सकिन्छ आ–आफ्नो ठाउँबाट लाग्नोस्।’

उनीनिकट कतिपय नेताहरूले नबौं महाधिवेशनमा पोखरेलले उपमहासचिव हार्नुको कारण साविकको लुम्बिनी अञ्चल सोहीक्षेत्रका प्रभावशाली नेता विष्णु पौडेलमाथि थुपार्ने गरेका छन्। त्यसैकारण पनि यसपल्ट पोखरेल महासचिव बन्नैपर्ने दबाब थपिएको छ।

एमाले स्रोतका अनुसार महासचिव पदका लागि सबैभन्दा बलियो आकांक्षी उनै विष्णु पौडेल रहेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’–ताका महासचिवसमेत चुनिएका थिए। उनीनिकट एक नेताका अनुसार पौडेल एमालेको दशौं महाधिवेशनमा महासचिवका स्वभाविक उम्मेदवार हुन्।

प्रकाशित मिति: : 2021-11-18 20:22:00

प्रतिकृया दिनुहोस्