यस्तो छ ट्रम्पले बेच्न लागेको १२० वर्ष पुरानो होटेल भवन

File Photo
File Photo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन्। वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ।

योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ। हिल्टन ग्रुपले होटेल व्यवस्थापनको जिम्मा लिनेछ।गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो।

राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो। २६३  कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो। सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो। 

१२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसबाट केही माईल टाढा छ। एतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रुपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो।

त्यसको चार वर्षपछि त्यसलाई होटेलको रुपमा खोलिएको थियो, जतिबेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए।  

ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो। होटल विवादमा तानिएको थियो। होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरुले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए। 

कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेल १५ करोड फाइदा कमाएको भन्दै बढाइँचढाइँ गरेको हालै निस्कर्ष निकालेको थियो।होटेलले ७ करोड नोक्सानी गरेको सो समितिले जनाएको थियो। बरु होटेलले विदेशी सरकारहरुबाट ३७ लाख प्राप्त गरेको कागजपत्रमा देखिएको थियो। 

प्रकाशित मिति: : 2021-11-17 13:02:00

प्रतिकृया दिनुहोस्