मनोरन्जन भनौं वा विडम्बना, तमासा रामशाहपथमा यति गजबका साथ चलिरहेको छ कि अब लाज–सरमको दृष्टान्त खोज्न अन्त जानै नपर्ने भो। सुरक्षा ढाटबाटै हजुर–बक्सियोस्–श्रीमान्का मृदुध्वनि श्रवण हुने न्यायालयभित्रको मर्यादासहिंता अहिले सारा जग हाँस्ने सडकमा घोप्टिएको छ।
जब भगवत् जपमा पित–च्यादर ओढेर कुशासनमा बसेका घरमूलि क्लेशले वशिभूत भइ लघुवस्त्र समेत मिर्काएर आँगनमा नाँगै निस्कन्छन्, तब केटाकेटीहरु विलखबन्द पर्छन्– के अनोहोनी भयो भनेर। अनि ती पनि स्वयम् नग्नताको प्राधिकारमा उद्वेलित भई नाँच्न थाल्छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तिनै मूली हुन्, न्यायाधीश र वकिल तिनै केटाकेटी हुन्। सर्वोच्च अदालतका आँगनमा चोलेन्द्रको लगौंटीरहित नाच चल्दैछ र अन्य लालाबाला तिनलाई पक्डन नाँगोपनबाट पनि बाहिर जाँदैछन्।
सबै पवित्र–अपवित्र कामका मर्यादा–सीमा हुन्छन्। सृष्टिकारी कार्यलाई मर्यादित बनाउन पूरै मानवज्ञान (खासगरी सामाजिक कानून निर्माणमै) प्रयोग नभएको भए आज यो जगत् कस्तो हुन्थ्यो होला? प्रधानमन्त्री कार्यालयको कमोड फेर्न लाखौं खर्च हुन्छ–ढोंग नै सही। त्यो खर्चमा कत्रो शान र मर्यादा जोडिन्छ! कति मिहीन छ यो व्यवस्थापन! यति बुझक्की मानव समाजले निर्माण गर्ने न्यायालयका लवज, व्यवहार र इज्जतका पाइपाइमा कति गहनता र संवदेनशीलता गाँसिएका–टाँसिएका छन्?
तर, नेपालको न्यायालयलाई आजको अवस्थाबाट हेर्दा न्यायप्रणाली विकासका सारा कहानीलाई धोवीखोला (हाललाई काठमाडौंको सबैभन्दा फोहोर र सर्वोच्च अदालतबाट सबैभन्दा नजिक पनि) मा बगाउनुपर्ने देखियो। नेपालको न्यायालय छुट्टै हो, यहाँ भ्याउनेले भेट्छ भन्ने नयाँ मत–सिद्धान्त आविष्कार गर्नुपर्ने भयो।