रक्सीको बोतल ल्याउन रोक्ने कर्मचारीलाई कुट्ने सीईओ रेग्मीको स्पष्टीकरणः रातभरि अनिँदो थिएँ, त्यसैले घटना भयो

पहिलोपोष्ट

काठमाडौं

तोकिएभन्दा बढी रक्सीको बोतल भन्सारबाट ल्याउन नदिएको निहुँमा त्रिभुवन विमानस्थलमा कार्यरत भन्सारका नायब सुब्बालाई कुटेका नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले गल्ती स्वीकार गरेका छन्।

घटना बाहिरिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सीईओ रेग्मीलाई तीन दिनको समय दिँदै स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो। सीईओ रेग्मीले बुझाएको स्पष्टीकरणमा अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी पनि मागेको उल्लेख गरिएको छ।

रेग्मी लन्डनमा भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए। त्यही क्रममा कार्तिक २० गते विमानस्थलमा उनले कर्मचारी कुटेका थिए। 

कर्मचारी कुटेपछि उनलाई काठमाडौं मेडिकल कलेज लगेर मापसे जाँच गराइएको थियो। उनले टन्नै मदिरा पिएको स्वास्थ्य परीक्षणका क्रममा पुष्टि भएको थियो। १० दिन अघि बेलायतबाट नेपाल अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त घटनापछि उनलाई मन्त्रालयले स्पष्टीकरण मागेको थियो।

प्रकाशित मिति: : 2021-11-15 20:01:00

प्रतिकृया दिनुहोस्