समूह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार

समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ। कैलाली घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेनिङ नामक कम्पनीका संयोजक मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्क विहीन बनेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्। 

तुलसीपुर उपमहानगरपालिका-६ डुम्रीगाउँमा रहेको कम्पनीको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घलेले मिलेर सर्वसाधारणलाई ठगी गरेको पीडितले बताएका छन्। 

कम्पनीबाट सामाजिक परिचालकहरू परिचालन गरी एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको ६ लाख ६५ हजार, कर्मचारीको बिमा बापतको नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको दंगीशरण गाउँपालिकाका सामाजिक परिचालक प्रदीप वलीले बताए। 

स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख छ। उनीहरूले दाङ सहित दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, डडेलधुरा, बर्दिया, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-13 19:00:00

प्रतिकृया दिनुहोस्