बन्दुकको नालबाट सधैं गोली मात्र कहाँ निस्कन्छ र ? त्योसँगै विचार निस्कन्छ । र, भावनाहरू जन्मन्छ । दाङ घोराही-१४ झिगौंराका क्षितिज मगरको जीवनमा यस्तै भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वमा उनले बन्दुक मात्र चलाएनन्, कलम पनि सँगसँगै चलाए । १० वर्षको लामो माओवादी जनयुद्ध अवधिभर उनले एक हातमा बन्दुक बोके, अर्को हातमा कलम । सिरानीको एकपट्टि बन्दुक हुन्थ्यो भने अर्को छेउमा डायरी ।
मुलुक बदल्ने सपनाले कलिलै उमेरमा बन्दुक समाउन पुगेका उनले कालान्तरमा आएर बन्दुक बिसाए । तर कलम चलाउन छाडेनन् ।
युद्धका मैदानमा लेखिएका डायरी अहिले उनको दराजमा छन् । स्मृतिपटलमा विगतका यादहरू बिस्तारै धमिलो हुनसक्छन् तर, डायरीमा कोरिएका शब्दहरु उस्तै गाढा छन् जसले उनलाई विगततिर डोर्याइहाल्छ । ती डायरीहरू पल्टाउनु युद्धताका देखेका सपनाहरूलाई पुनः जागृत गराउनु हो । युद्धमा भोगेका घाउहरूलाई फेरि दोहोर्याएर महसुस गर्नु हो । किनभने उनको डायरीमा आँशु र पीडाहरू पोखिएका छन्, आक्रोश र विद्रोहले भरिएका छन् ।