सार्वजनिक संस्थाको नेतृत्व : को कसरी पुग्छ पदमा ?

अनलाइनखबर

बिनु सुवेदी

खिलराज रेग्मी नेतृत्वको सरकारलाई सघाउन बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रले ३ चैत २०६९ मा विवादित छविका पूर्व सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन सिफारिश गर्‍यो । कार्कीको नियुक्ति सिफारिश विरुद्ध सर्वाेच्च अदालतमा उतिखेरै रिट नपरेको होइन । तर २४ वैशाख २०७० मा अदालतले सफाइ दिएपछि कार्की प्रमुख आयुक्त भए ।

यद्यपि कार्कीले पूरै कार्यकाल अख्तियारमा बिताउन पाएनन्, किन भने उनको योग्यता र कार्यदक्षताका विषयमा प्रश्न उठाउँदै सर्वाेच्चमा रिट र संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । योभन्दा पनि मुख्य कुरा राजनीतिक दलका नेताहरूसँग उनको स्वार्थ बाझिएको थियो ।

दलका शीर्ष नेताहरू संलग्न भएका भनिएका भ्रष्टाचार मामिलाका फाइल खोल्ने बताइरहेका कार्कीले सार्वजनिक रूपमै माओवादी शिविरको घोटालालाई तुरुन्तै छानबीन गर्ने उद्घोष गरेका थिए । संविधानले नै तोेकेको योग्यता नपुगेका भनिएका कार्कीलाई शुरूमा नियुक्त गर्ने र पछि महाअभियोगसम्म लगाउने दलहरूको निर्णय नजानेर भएको ‘भूल’ थिएन, जानाजान गरिएको ‘गल्ती’ थियो ।

सरकारको सचिवबाट राजीनामा दिएको लगत्तै दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिश भए । उनको सिफारिशमा सत्तारुढ या विपक्षी दल भित्र कसैको पनि असहमति थिएन । उनले कार्यकाल नसकिंदै किन सचिवबाट राजीनामा दिए र भोलिपल्टै निर्वाचन आयोगमा किन पुर्‍याइए भन्ने प्रश्नको जवाफ त्यतिखेर मिल्यो, जब नेकपा विभाजनको पूर्वसन्ध्यामा निर्वाचन आयोगलाई तत्कालीन सत्ताले घुमाउन थाल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो नियुक्तिको गुन थपलियाले त्यही बखत तिरे ।

प्रकाशित मिति: : 2021-11-12 21:38:00

प्रतिकृया दिनुहोस्