सर्वोच्च अदालत किन भयो एकाएक तनावपूर्ण ?

अनलाइनखबर

काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा कोणसभा गर्न खोज्दा बिहीबार स्थिति तनावग्रस्त बन्यो।

प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा केही कानुन व्यवसायी सामान्य घाइते पनि भएका छन्। त्यसको विरोधमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध चर्को नाराबाजी गरे।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरेर घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत कानुन व्यवसायीले दुई हप्तायता सर्वोच्च अदालत परिसरको एक छेउमा धर्ना दिइरहेका थिए।

बारको कार्यालयबाट क्यान्टिन छेउको ढोका प्रयोग गरेर सर्वोच्च अदालत परिसरमा प्रवेश गरी कानुन व्यवसायीले एक घण्टा धर्ना दिन्थे र, त्यसपछि बारकै प्रांगणमा फर्किएर प्रदर्शन र कोणसभा गर्थे। पछिल्ला दिनहरुमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको संख्या समेत बढाइएको थियो।

कानून व्यवसायीहरुले सुरक्षाकर्मी बढाएकामा विरोध जनाउँदै बार परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका थिए। बिहीबार विहान पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिए । धर्ना सकिएपछि त्यहीँ कोणसभाको तयारी भयो । सर्वोच्च परिसरभित्र क्यान्टिन नजिक माइक अड्याउने पोडियम मिलाएर राखियो। माइक मिलाउन थालेपछि भने त्यहाँ खटिएका प्रहरी अधिकारीले माइक र पोडियम हटाउन आग्रह गरे।

कानून व्यवसायीले पोडियम हटाउन इन्कार गरे। कानुन व्यवसायी र प्रहरीबीच करिब १० मिनेट यही विषयमा गलफत्ती चल्यो। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेलले छेउमा कोणसभा गर्ने भन्दै सहयोग गर्न प्रहरीलाई आग्रह गरिरहेका थिए।

प्रकाशित मिति: : 2021-11-11 16:34:00

प्रतिकृया दिनुहोस्