वन्यजन्तु पालन : संरक्षण कि विनाश ?

अनलाइनखबर

काठमाडौँ

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका आधारमा दिगो प्रयोगको वातावरण बनाउन नसक्दा वन्यजन्तु र वनस्पतिको दीर्घकालीन अस्तित्वमा असर परेको छ भने राष्ट्र र जनताले गर्न सक्ने आर्थिक लाभ समेत गुमेको छ ।

नेपालमा २१२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८८७ प्रजातिका पक्षी, १४९ प्रजातिका सरीसृप र ५६ प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये २० प्रजातिका स्तनधारी र चार प्रजातिका चराहरू संरक्षित वन्यजन्तुमा सूचीकृत गरी तिनीहरूको शिकार गर्न प्रतिबन्ध लगाएको ५० वर्ष पुगिसकेको छ ।नेपालमा लागू गरिएका विभिन्न संरक्षणका मोडलहरूले वन्यजन्तु र तिनीहरूको वासस्थान संरक्षणमा टेवा पुर्‍याए तापनि गैंडा र बाघको अवस्था बाहेक अन्य संरक्षित जनावरहरूको स्थितिको बारेमा वैज्ञानिक अध्ययन र अभिलेख अत्यन्त न्यून छन् । जसको कारण विदेशी दाताहरूको इच्छाशक्ति र चासोमा नेपालको संरक्षण निर्भर रहेको बढी आभास हुन्छ ।

गैडा, बाघ, बाह्रसिङ्गा बाहेक अन्य संरक्षित वन्यजन्तुहरूको मात्र पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा सूचीकृत भएको ४९ वर्ष नाघ्दा पनि दुर्लभ र संरक्षित वन्यजन्तुहरू हुन् भनेर सूची देखाउने बाहेक नेपालमा त्यस्ता वन्यजन्तुहरू कति संख्यामा छन् र तिनीहरूको स्थिति कस्तो छ भनेर थाहा नहुनुले पनि हाम्रा सम्बन्धित सरकारी निकायहरूको संरक्षणको काम–कारबाही अपर्याप्त रहेको देखिन्छ । त्यसमा पनि हिमाली भागमा पाइने संरक्षित वन्यजन्तुको संरक्षणमा चासो अत्यन्त कम रहेको पाइन्छ ।

कस्तूरी जस्ता जनावर जसको शिकार बहुमूल्य वस्तुको लागि हुन्छ त्यस्ता वन्यजन्तुको संरक्षण गर्न दुर्लभ र संरक्षित वन्यजन्तु सूचीमा सूचीकृत गरेर त्यसलार्ई आधार मानी वन्यजन्तु मारेमा १० देखि १५ वर्ष जेल हुन्छ भनेर मात्र संरक्षण दीर्घकालीन हुँदैन ।

प्रकाशित मिति: : 2021-11-10 11:11:00

प्रतिकृया दिनुहोस्