आठ वर्षअघि दिपावली र छठको रौनकले उनको घर झिलिमिली हुन्थ्यो।
महोत्तरीको मैनपट्टीमा बस्दा बबिता राम पर्व सुरू हुनुभन्दा एक साताअघिदेखि घर सजावटमा लाग्थिन्। त्यसमाथि रंगीचंगी बत्तीले टोलै गुलजार हुन्थ्यो।
तर ऋणमा डुबेपछि उनको परिवारले घरघडेरी सबै बेच्नुपर्यो। बबिता परिवारसहित माइतीमा बस्न थालिन्।
केही समयपछि धनुषाको लक्ष्मनियाँ गाउँपालिकाको गमहरियास्थित ऐलानी जग्गामा बस्ती बस्न लागेको थाहा पाएर बबिता र उनका श्रीमान बेचु राम जग्गा हेर्न गए। त्यहाँ दुई-चारवटा घर बनिसकेका थिए। उनीहरूले त्यहीँ घर बनाउने निधो गरे। ऋण काढेर त्यहीँको एउटा टुक्रा जग्गामा घर बनाए।
त्यसयता उनीहरूले कहिल्यै धुमधामसँग दिपावली र छठ मनाउन पाएका छैनन्।
बिजुली नभएकाले दिपावली र छठमा उल्लास हुनुपर्ने बेला टोलै सुनसान हुन्छ। साँझ ढल्नेबित्तिकै चारैतिर अन्धकार छाउँछ। विपन्न आर्थिक अवस्थाका टोलवासीहरू थोरै मात्र मट्टीतेल खर्च होस् भनेर घरभित्रै टुकी बालेर बस्छन्।
'बिजुलीका लागि नेताहरूलाई भनेका भन्यै छौं तर हामी गरिबको कुरा कसले सुनदिने? नेताले त धनीमनीका कुरा मात्र सुन्छन्,' बबिताले भनिन्, 'अँध्यारोमै जिन्दगी बिताउनुपर्ने हाम्रो भाग्यमा लेखेको छ। दिपावलीमा पनि घरमा उज्यालो नहुँदा मन खिन्न हुन्छ।'
१५ घरपरिवारको बसोबास रहेको यो टोलका सबै जना विपन्न आर्थिक अवस्था भएका दलित समुदायका छन्। उनीहरू मजदुरी गरेर गुजारा गर्छन्। बिजुलीका लागि स्थानीय नेताका घर र विद्युत प्राधिकरणको कार्यालय धायेका धायै छन्। तर बिजुली आउने कुनै छाँट नदेखिएको स्थानीय मटरू रामले बताए।